१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
अर्थ

स्थापनाको ४८ वर्षपछि चिनीको बिक्री सुरु गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

चामल मात्र बिक्री गर्दै आइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले बुधबारदेखि चिनीको समेत बिक्री गर्ने भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका कार्यालय प्रमुख प्रकाश तिम्सिनाले मंगलबार अपराह्न खाद्यमा चिनी आइपुगेको र बुधबारदेखि त्यसको बिक्री गर्ने योजना बनाएको जानकारी दिए।

तिम्सिनाका अनुसार पहिलो चरणमा १८ हजार किलोग्राम चिनी आइपुगेको छ। खाद्यले प्रतिकिलो १ सय १० रुपैयाँका दरले चिनी बिक्री गर्ने कार्यालय प्रमुख तिम्सिनाले जानकारी दिए। यो बजार मूल्यभन्दा निकै सस्तो दर हो।

तिम्सिनाका अनुसार एक जनालाई बढीमा ६ किलोग्रामका दरले चिनी बिक्री गरिनेछ।

खाद्यबाट खरिद गरेर लगिएको चिनी र चामलसहितका उपभोग्य वस्तु व्यक्तिगत उपभोगका लागि मात्र भएकाले खरिद गरेका व्यक्तिले बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही हुने यसअघि नै खाद्यले चेतावनी दिइसकेको छ।

तिम्सिना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाको प्रबन्धक भएर आएपछि बिदाका दिनमा समेत चामलको बिक्री गर्ने प्रणाली सुरु गरेका थिए। यसले खाद्यको चामलको बिक्री बढाएको थियो।

तिम्सिनाले चामल बाहेक चिनी र तेलको बिक्रीसमेत सुरु गर्ने गरी पहल अघि बढाएका थिए। सोही प्रक्रियाअन्तर्गत ताप्लेजुङमा खाद्यले पहिलोपटक चामल बाहेक चिनीको समेत बिक्री सुरु गर्न लागेको हो।

२०३५ सालमा ताप्लेजुङमा स्थापना भएको खाद्यले स्थापनाको ४८ वर्षपछि चामल बाहेक चिनीको समेत बिक्री सुरु गर्न लागेको हो। तेलसमेत बिक्रीका लागि आफूले पहल गरिरहेको र प्राप्त भएमा चामल, चिनी र तेलको बिक्री गर्ने योजना रहेको तिम्सिनाले सुनाए।

प्रकाशित: १३ आश्विन २०८३ १८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App