२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

बैंकहरूसँग अर्थमन्त्रीले भने : अर्थतन्त्रको आकार ७४ खर्ब पुर्‍याउन लगानी बढाउनुपर्छ

अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरू एकापसमा मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्। 

नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बैंक र सरकारबिच मतैक्यका साथ अगाडि बढ्नुपर्ने बताएका हुन्।

उनले बैंकका समस्या सुन्न, समाधानका लागि सरकारी पहलकदमी लिन र सरकारको आर्थिक वृद्धिको फराकिलो उद्देश्य प्राप्तिका लागि हातेमालो गर्न मन्त्रालयले छलफल आयोजना गरेको स्पष्ट पारे। बैंक र बैंकरहरूलाई आफ्नो क्षेत्रको समस्या निर्धक्क भएर भन्न आग्रह गर्दै उनले सरकारले इमानदारीपूर्वक समस्याको समाधान गर्ने पनि स्पष्ट पारेका थिए।

‘अर्थतन्त्रको विस्तारका लागि आर्थिक राजकाजको जहाज मोडेका छौँ,’ अर्थमन्त्री वाग्लेले बैंकरहरूलाई भने, ‘अर्थतन्त्रको आकार रु ७४ खर्बको बनाउने लक्ष्य छ। यसका लागि लगानी बढाउनुपर्छ। रोजगारी सिर्जना गर्नु छ। तपाईंहरूले कसरी सहयोग गर्न सक्नुहुन्छ, योगदान गर्नुहोस्। सरकारले पनि कहाँ-कहाँ के-के गर्नुपर्ने हो, भन्नुहोस्।’ उनले बैंकहरूले कर्जा विस्तार गर्न नसक्नुको कारण के हो भन्दै बैंकरहरूलाई प्रश्नसमेत गरेका छन्। 

‘बैंकहरूले कर्जा विस्तारमा के समस्या भइरहेको छ ? सरकारले केही गर्नुपर्ने अवस्था छ भने भन्नुहोस्। हामी सहजीकरण गर्छौं,’ अर्थमन्त्री वाग्लेले भने।बैंकले भोगिरहेका नीतिगत र व्यावहारिक कठिनाइलाई एकीकृत रूपमा मन्त्रालयमा पेस गर्न अनुरोध गर्दै त्यसैका आधारमा समाधान खोजिने स्पष्ट पारे।

छलफलमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले लगानीको वातावरण नभएको भन्ने बाहिरी हल्लामा सत्यता नरहेको प्रस्ट पारेका थिए। उनीहरूले बैंकिङ क्षेत्रलाई अहिले काही पुराना नियामकीय उपचारले स्वाभाविक रूपमा अप्ठ्यारो परिस्थितिमा पुर्‍याएको तर त्यो समाधान गर्न सकिने खालको रहेको बताए।

जलविद्युत् क्षेत्रमा लगानीका लागि बैंकहरूबिच प्रतिस्पर्धा चलिरहेको भन्दै बैंकरहरूले अन्य क्षेत्रमा पनि बिस्तारै माग बढ्ने संकेत देखिएको बताए।

केही सहजीकरणका कामहरू सरकारले र राष्ट्र बैंकले तत्काल गर्नुपर्ने खालका रहेका भन्दै उनीहरूले त्यसले अर्थतन्त्रलाई चलायमान बनाउने बताए। नेपाल बैंकर्स एसोसिएसनका अध्यक्षसमेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत् क्षेत्रमा बढेको लगानीको आकर्षणलाई थप सहजीकरण गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराए।

ठूला परियोजनालाई समयमै सक्ने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिँदै उनले साना-ठूला व्यवसायीलाई विश्वासमा लिएर सरकारले काम गर्नुपर्ने बताए। सिटिजन्स इन्टरनेसनल बैंकका कार्यकारी अधिकृत गणेश पोखरेलले बैंकिङ क्षेत्रको अहिलेको सुस्ततालाई नियमित र एउटा चक्रका रूपमा बुझ्नुपर्ने बताए।

‘जलविद्युत्मा लगानी खोज्न मारामार छ। बाहिर देखिएजस्तो कमजोर अवस्था पनि होइन। यो एउटा चक्र हो,’ सिटिजन्स इन्टरनेसनल बैंकका कार्यकारी अधिकृत गणेश पोखरेलले दोहोर्‍याए।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले बजारमा व्यवसायीको आत्मविश्वासमा आएको कमीलाई सम्बोधन गर्न आग्रह गरे।

उनले बैंकको ऋण दिने क्षमता वृद्धि गर्न राष्ट्र बैंकले नीतिगत सहजीकरण गर्नुपर्ने बताए। सरकारले स्थापना गर्ने भनेको गैरबैंकिङ सम्पत्ति व्यवस्थापन कम्पनी छिट्टै खुल्नेमा उनले विश्वास व्यक्त गरे।

एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कर्जा विस्तार ग्रामीण तथा विपन्न वर्गसम्म लैजानुपर्नेमा जोड दिए। सरकारले पुँजीगत खर्च बढाउनुपर्ने भन्दै उनले अर्थतन्त्र चलायमान गराउने सरकारी कार्यालयको क्षमता अभिवृद्धिमा जोड दिए।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उद्योगी-व्यवसायी नयाँ आर्थिक वर्षमा लगानीका लागि उत्सुक रहेको बताए।

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले कोभिड-१९ को समयमा साना व्यवसायीलाई प्रदान गरिएको कर्जामा देखिएको समस्या समाधानका लागि नीतिगत व्यवस्था आवश्यक रहेको बताए।

उनले ऋणीलाई कालोसूचीमा राख्ने र ऋणको प्रोभिजनिङ गर्ने व्यवस्थामा छिमेकी देशको राम्रो अभ्यास हेरेर परिमार्जनको आवश्यकता रहेको बताए। ‘एक वर्षमै शत प्रतिशत प्रोभिजनिङ त घाँटी अँठ्याउने काम हो,’ उनले थपे।

स्ट्यान्डर्ड चार्टर्ड बैंकका गोरखशमशेर राणाले चालु पुँजी कर्जाको सीमा पुनरावलोकनयोग्य रहेको बताए।

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्यालले बाह्य र आन्तरिक कारणहरूबाट अर्थतन्त्रमा सङ्कुचन आएको र त्यसको असर कर्जाको गुणस्तरमा परेको बताए। उनले पनि एक वर्षमै कर्जाको शत्प्रतिशत प्रोभिजनको व्यवस्थामाथि पुनरावलोकन गर्न आग्रह गरे।

नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले नेपाल र भारतको अर्थतन्त्रको तुलना गर्दै आर्थिक विकास र विस्तारका लागि सरकारले ठूला पूर्वाधारमा लगानी गर्नुपर्ने सुझाए।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ज्योतिप्रकाश पाण्डेले जलविद्युत्जस्तै खाद्यान्न र निर्माण क्षेत्रमा पनि छिट्टै माग बढ्ने अवस्था देखिएको बताए।

जबर्जस्ती मर्जरको मारमा परेका बैंकहरूलाई अहिले लगानी विस्तारमा समस्या भएको पनि उनले औँल्याए। कर्जा नतिर्ने समस्याबाट बैंकहरू पीडित भएको भन्दै उनले त्यसका लागि सरकारबाट सहयोग अपेक्षित रहेको बताए।

लक्ष्मी बैंकका सिइओ अजय शाहले साना तथा मझौला उद्यममा लगानी बढाउनुपर्ने बताए। उनले बैंक तथा व्यवसायीहरूलाई त्रसित नपार्न र विश्वासमा लिएर काम गर्न पनि सरकारको ध्यानाकर्षण गराए। यस्तै, रियल स्टेटमा लगानी फसेका कारण अर्थतन्त्र सुस्त भएको पनि उनको भनाइ छ।

प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले बैंक र व्यावसायिक क्षेत्रमा पछिल्लो समय बढेको धरपकडले मनोबल गिरेको बताए। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले खराब ऋणमाथिको प्रोभिजनको नीति परिवर्तन गर्नुपर्ने बताए। उनले कालोसूचीमा चेक अनादर र ऋण दुवैथरीका मानिस अत्यधिक रहेको भन्दै यो समस्याको उचित समाधान नभएको स्पष्ट पारे।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डेले बैंकहरू गैरबैंकिङ सम्पत्तिले थिचिएको भन्दै यसको निकासका लागि प्रभावकारी उपाय जरुरी भएको बताए। उनीहरूले समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैंकले थप सक्रियता देखाउनुपर्नेमा जोड दिएका थिए। रासस

प्रकाशित: २० श्रावण २०८३ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App