आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारीमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दशकौंदेखि चल्दै आएको ‘बजेट ब्रिफकेस’ बोक्ने परम्परालाई तोडेका छन्।
विगतमा अर्थमन्त्रीहरूले छालाको ब्रिफकेसमा बजेटका दस्ताबेज राखेर संसद् लैजाने गरेकामा डा. वाग्लेले यसपटक नेपाली कागजमा बेरिएको बजेटको मस्यौदा सार्वजनिक गरेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित बैठकमा अर्थमन्त्री डा. वाग्लेले नेपाली कागजले बेरिएको बजेटको प्रति प्रस्तुत गरेका थिए।
यसअघि पूर्वअर्थमन्त्री वर्षमान पुनले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न अल्लोको धागोबाट बनेको ब्याग प्रयोग गरेका थिए भने डा. वाग्लेले मौलिक नेपाली कागजलाई रोजेर नयाँपन दिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको यो बजेटलाई पारित गरिसकेको छ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अर्थमन्त्री डा. वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: १५ जेष्ठ २०८३ १६:०५ शुक्रबार





