२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

दसैंमा उपत्यकाबाट बाहिरिने घटे

यस वर्ष दसैंको बेला काठमाडौं छाड्ने यात्रु अघिल्लो वर्षको तुलनामा करिब १५ प्रतिशतले घटेको हिसाब यातायात व्यवसायीहरूले निकालेका छन्।

यातायात व्यवसायीहरूका अनुसार जेनजी आन्दोलन, ठाउँठाउँमा हुने गरेको सडक अवरोध तथा मौसमको कारण यस वर्ष काठमाडौंं छाड्ने यात्रुहरू पोहरको तुलनामा घटेका हुन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालका अनुसार पोहर साल दसैंको बेला करिब २० लाख यात्रुले विभिन्न माध्यमबाट काठमाडौं उपत्यका छाडेका थिए। यस वर्ष त्यो संख्यमा करिब १५ प्रतिशतले गिरावट आएको छ। ‘यस वर्ष १६ देखि १७ लाखको हाराहारीमा दसैं मनाउन काठमाडौं छाड्ने हाम्रो अनुमान छ’, नेपालले भने, ‘यस वर्ष दसैंका बेला पनि पानी परिरहेको छ। ठाउँठाउँमा बाटो अबरुद्ध भएको छ। मुग्लिनमा  तीन दिनसम्म यात्रु अलपत्र परे। यसबाट यात्रुहरू काठमाडौं छाड्न डराए’, नेपालले भने, ‘यसबाहेक जेनजी आन्दोलनको प्रभावको कारण पनि यात्रुहरू पोहर सालको तुलनामा काठमाडौं छाड्न मन गरेनन्।’ 

उनका अनुसार यस वर्ष सबैभन्दा बढी यात्रु बिपी राजमार्गबाट काठमाडौं बाहिरिएका छन्। अहिलेसम्म बिपी राजमार्गबाट ६ लाखभन्दा बढी यात्रुले काठमाडौं छाडिसेका छन्। उनका अनुसार शनिबार साझसम्म विभिन्न नाका र विभिन्न माध्यमबाट १० लाखभन्दा बढी यात्रुहरूले काठमाडौं छाडिसेका छन्।

यस वर्ष दसैंदेखि यातायत व्यवसायीहरूले बनेपा–धनगढीका लागि बसको व्यवस्था गरेका छन्। यसअघि बनेपाबाट धनगढी जानुपर्दा नयाँ बस पार्कमा आएर अर्को बस फेर्नुपर्थ्याे। अब त्यो झन्झट हटाइएको यातायत व्यवसायीहरूले जनाएका छन्।

यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायत काठमाडौं छाड्ने मुख्य नाकाहरूमा यात्रुहरूको भिड र चहलपहल अत्यधिक बढेको छ।

मुग्लिन–नारायणघाट खण्ड अबरुद्ध हुँदा मंगलबार, बुधबार र बिहीबार तीन दिन त्यस खण्डमा यात्रा गर्ने यात्रुहरू रोकिएका थिए। त्यतिबेला  मुग्लिन– पोखरा तथा काठमाडौंबाट हेटौडा जाने रुट अत्यधिक व्यस्त भएका थिए।

मुलुकको विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैं मनाउन घर जाने गरेका छन्। दसैं तिहारको बेला स्कुल तथा कलेज लामो समयसम्म बिदा हुने गर्छ। त्यसैले धेरैजसो  विद्यार्थीले घटस्थापनाको वरिपरि नै काठमाडौं  छाड्ने गरेका छन्।

काठमाडौं छाड्ने यात्रुहरू  थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाका, कोटेश्वर नाकाबाट गन्तव्यस्थलमा जाने गरेका छन्। बिपी राजमार्गबाट यात्रा गर्नेहरू कोटेश्वर बाट र मुग्लिनको बाटोबाट यात्रा गर्नेहरू कलंकी तथा नयाँ बसपार्कबाट यात्रा गर्ने गरेका छन्।

उपत्यकाबाट काठमाडौं बाहिर जान चाहने यात्रुका लागि टिकटको समस्या नभएको यातायात व्यवसायीले जनाएका छन्। आवश्यकता भए थप थप गाडीको व्यवस्था गर्न सकिने उनीहरूको भनाइ छ।

नयाँ बसपार्कबाट हाल  दैनिक पाँच सय  बस बाहिरिने गरेका छन्। यसअघि अन्य समयमा  दैनिक औसतमा दुई सय ५० बस बाहिरिने गरेका थिए। दसैंमा घर जाने यात्रुहरूको सहजताको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न काम गरिरहेको छ। उक्त प्रहरी कार्यालयले विभिन्न संघ संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

दसैंको बेला यात्रुहरूका चहलपहल र आवातजावात बढ्दा यातायात व्यवसायीहरू खुसी भएका छन्। वर्षभरि भएको घाटा यसैबेला उठाउने उनीहरूको योजना छ। महासचिव नेपालका अनुसार लामो दूरीमा गुडने ठूलो बसले दैनिक २० हजार रुपैयाँसम्म आम्दान गर्ने गरेका छन।

यसैगरी सानो दूरीमा चढ्ने माइक्रो बसले दैनिक तीन हजारदेखि तीन हजार पाँचसयम्म आम्दानी गरेका छन्। नेपालका अनुसार पेट्रोल डिजेलको गाडीको तुलनामा  विद्युतीय गाडीले बढी आम्दानी गर्ने गरेका छन्।

दसैं प्रारम्भ हुने बित्तिकै देशभरि प्रायः सबै ठाउँमा मुख्यमुख्य सडक प्रभावित भए। त्यसैगरी ठाउँठाउँमा पहिरो गयो। यसबाट यात्रुहरू मर्कामा परे।  

प्रकाशित: १२ आश्विन २०८२ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App