हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको छ। ‘बदामखेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नाराका साथ बदामखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको यो नगरपालिकाले किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको हो।
न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई रु दुई हजार ५०० तथा त्योभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम प्रदान गर्ने गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिए। ‘हाम्रो नगरपालिकामा यो वर्ष तीन हजार १२८ मुरी बदाम उत्पादन भएको छ । बदामखेतीलाई प्रवद्र्धन गर्न किसानलाई प्रोत्साहन रकम वितरण गरिएको हो’, उनले भने, ‘प्रोत्साहन रकम पाउनका लागि किसानले निवेदन दिनुपर्ने हुन्छ। निवेदनका आधारमा कृषि शाखाका कर्मचारी गएर मूल्याङ्कन गरेपछि पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम दिने गरेका हौँ।’
पहिलो चरणमा वडा नं ५ दुर्छिम, वडा नं ७ वहादेवस्थान र वडा नं ८ धितुङका किसानलाई नगरपालिकाको कार्यालयमा बोलाएर प्रोत्साहन रकम वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसर पारेर आइतबार दुर्छिमका १३ किसानलाई रु ६२ हजार २००, महादेवस्थानका ४३ किसानलाई रु दुई लाख ३२ हजार ३०० र धितुङका १५८ जना किसानलाई रु सात लाख १० हजार ६०० प्रोत्साहन रकम वितरण गरिएको कृषि शाखा प्रमुख रविन भट्टराईले बताए।
नगरपालिकाको कार्यालय टाढा पर्ने वडा नं २ डिकुवा र वडा नं ११ राजापानीका किसानलाई वडा कार्यालयमार्फत वितरण गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ। वडा नं २ डिकुवाका २४ किसानले २६० मुरी तथा वडा नं ११ राजापानीका २४ किसानले २३१ मुरी बदाम उत्पादन गरेको जनाइएको छ।
कृषि शाखाले दिएको जानकारीअनुसार डिकुवाकाका किसानले रु एक लाख दुई हजार तथा राजापानीका किसानले रु ९३ हजार ३०० प्राप्त गर्नेछन्। सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामा मात्र उत्पादन हुने बदामखेती प्रवद्र्धनका लागि नगरपालिकाले गत वर्षबाट प्रोत्साहन रकम वितरण कार्यक्रम ल्याएको हो।
परम्परागत (रैथाने) बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत बदामखेती गर्ने किसानलाई मूल्याङ्कनका आधारमा प्रोत्साहन रकम वितरण गर्दै आएको यो नगरपालिकामा यस वर्ष सबैभन्दा बढी धितुङका गोपाल बुढाथोकीले ४१ मुरी उत्पादन गर्नुभएको जनाइएको छ। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष ४६ दशमलव ३५ प्रतिशतले बदाम उत्पादनमा वृद्धि भएको हो।
नगरपालिकाको अधिकांश भूभागमा उत्पादन हुने बदामखेतीलाई प्रवद्र्धन गर्दै ब्रान्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिइन्। ‘बदाम बिक्रीबाट नगरपालिकाका किसानले राम्रो आम्दानी गरिरहेका छन्। किसानले उत्पादन गरेका बदाम व्यवसायीले ठगेर अन्यत्र लैजाने गरेका छन्। त्यसलाई रोकेर किसानलाई प्रोत्साहन गर्दै ब्रान्डिङ गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ। रैथाने बालीका रूपमा उत्पादित बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौँ।’
हलेसी तुवाचुङ नगरपालिकाका किसानले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघेसङ्क्रान्ति मेला, बराहपोखरी मेला, दिक्तेल बजार, छिमेकी जिल्ला ओखलढुङ्गामा बिक्री गर्न लैजाने गरेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये यो नगरपालिकामा मात्र बदामखेती हुँदै आएको छ।
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रूपमा पनि प्रयोग हुने गरेको छ। हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीका रूपमा यहाँ उत्पादित बदाम लैजाने गरेको व्यवसायीहरूले बताएका छन्।
नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवद्र्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्रसमेत सञ्चालन गरिएको छ। आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवद्र्धन गर्ने उद्देश्यले लगानीमा कृषि सङ्कलन केन्द्र स्थापना गरेर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। रासस
प्रकाशित: २९ मंसिर २०८२ ०९:२३ सोमबार





