२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

तरकारीले मूल्य पाएपछि किसान खुसी

फाइल तस्बिर

चितवन जिल्लामा लगाइएको तरकारीले बजार मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन्। गत वर्षको तुलनामा यसवर्ष तरकारीले मूल्य पाएको पूर्वी चितवनको राप्ती नगरपालिका–१ का प्रेमबहादुर खुलालले बताए। 

उनले लगाएको गोलभेँडा, घिउ सिमी, काँक्रो लगायतले अहिले बजार मूल्य राम्रो पाएको छ। उनले भने, ‘खेतबाटै बिक्री गर्दा घिउ सिमी र गोलभेँडाको मूल्य राम्रो पाएको छ।’ खेतबाटै बिक्री गर्दा घिउ सिमी रु १२० देखि १३० र गोलभेँडा प्रति क्रेटको रु एक हजार ६०० देखि दुई हजार ६०० सम्ममा बिक्री भएको उनले बताए। 

उनले अहिले तीन बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन्। विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका उनले विगतका वर्षको तुलनामा यो वर्ष तरकारीले राम्रो मूल्य पाएको बताए। तरकारी खेतीमा ग्रेडिङ गरेर बिक्री गर्न सके मूल्य राम्रो पाउने उनले बताए।

भरतपुर महानगरपालिका–२१ का शिवराज बराल पनि आफूले लगाएको तरकारीले मूल्य पाएपछि निकै खुसी भएका छन्। विगत सात वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका उनले एक बिघा १० कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन्। उनले भने, ‘विगतका वर्षको तुलनामा अहिले तरकारीले मूल्य राम्रो पाएको छ।’ अहिले लौका, काँक्रो, गोलभेँडा लगायतले राम्रो मूल्य पाएको जानकारी दिए।

घिरौला, करेला समेत बिक्रीका लागि बजार खोज्न जानुपर्ने अवस्था नरहेको उनले बताए। केरुङ्गा कृषि सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीले गएको तीन महिनायता किसानले तरकारीको मूल्य राम्रो पाएको बताए। उनले भने, ‘तीन महिनाअघि राम्रो थिएन। अहिले राम्रो छ।’ बजारको अवस्था हेर्दा फेरि मूल्य ओरालो लाग्ने सङ्केत देखिएको उनले बताए। 

वर्षमा तीन खेती तरकारी लगाउँदा कुनै न कुनै खेतीमा मूल्य नपाउँदा मर्का पर्ने गरेको उनले बताए। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले स्थानीय उत्पादनले बजार पाइएन भन्ने गुनासो हुने गरेको भए पनि गुणस्तरीय उत्पादन गर्न सकेमा मूल्य र बजार पाउन कठिन नहुने बताए। 

जिल्लामा हाल सात हजार ७७ दशमलव ९ हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिँदै आएको छ। असोजमा परेको पानीका कारण अहिले तरकारी उत्पादन कम भएकाले पनि बजार मूल्य पाएको उनले बताए। यहाँको तरकारी विदेशी बजारमा समेत माग हुन थालेको उनले जानकारी दिए। उनले भने, ‘यहाँको उत्पादन दुबईमा समेत जान थालेको छ।’ कार्यालयले व्यावसायिक तरकारी खेतीमा मागका आधारमा लगानी गर्दै आएको बताए। रासस

प्रकाशित: १४ पुस २०८२ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App