हरेक वर्ष आयात र निर्यात व्यपारमा अन्तर बढ्दै गएको छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आव २०८२/८३ को फागुन मसान्तसम्म आयात र निर्यात दुवै बढेको पाइएको छ। सोही अनुसार व्यापार घाटा पनि बढ्दै गएको देखिन्छ।
सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भई एक खर्ब ९१ अर्ब ११ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ५७.२ प्रतिशतले वृद्धि भई एक खर्ब ५८ अर्ब १७ करोड पुगेको थियो। चालु आर्थिक वर्षको फागुनसम्म भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २५.३ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५३.७ प्रतिशतले कमी आएको सर्वेक्षणमा जनाइएको छ।
यसैगरी चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु व्यापारमा निर्यातको अंश १२.९ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको फागुनसम्म यस्तो अंश १२.१ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षको फागुनसम्म भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामानलगायतका वस्तुको निर्यात घटेको बताइएको छ।
सर्वेक्षणमा उल्लेख गरे अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु आयात १२.५ प्रतिशतले वृद्धि भई १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ११.२ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षको फागुनसम्म भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.१ प्रतिशत, २१.२ प्रतिशत र २६.० प्रतिशतले बढेको जनाइएको छ।
चालु आवको फागुन मसान्तसम्म चालु आवको फागुनसम्म भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने खाने तेल, हट रोल्ड सिट इन क्वाइल, लसुन, दाल, एमएस विलेट लगायतका वस्तुको आयात घटेको उल्लेख गरिएको छ।
सर्वेक्षणमा जनाइए अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कुल वैदेशिक व्यापार १३.५ प्रतिशतले बढेर १४ खर्ब ८० अर्ब ३६ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार १५.३ प्रतिशतले बढेर १३ खर्ब तीन अर्ब ७४ करोड रहेको थियो।
सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले बढेको थियो। यस अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो। सर्वेक्षणमा उल्लेख गरे अनुसार चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत तीन खर्ब १० अर्ब ३७ करोड रहेको सर्वेक्षणमा जनाइएको छ। सर्वेक्षण अनुसार अमेरिकी डलरमा गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको फागुनसम्म चार अर्ब ६१ करोडले बचतमा रहेको छ।
सर्वेक्षण अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भई २०८२ फागुन मसान्तमा ३४ खर्ब तीन अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलरमा रहेकोमा २०८२ फागुन मसान्तमा १८.३ प्रतिशतले वृद्धि भई २३ अर्ब आठ करोड अमेरिकी डलर पुगेको सर्वेक्षणमा उल्लेख छ।
विदेशी विनिमय सञ्चिति २१.४ महिनासम्म धान्ने
चालु आर्थिक वर्षको फागुनसम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
२०८२ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चितिको अंश ८८.९ प्रतिशत रहेको छ। यसैगरी कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ फागुन मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई ३० खर्ब ३५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ
कति पुग्यो वैदेशिक लगानी?
चालु आर्थिक वर्षको फागुनसम्म कुल प्रत्यक्ष वैदेशिक लगानी २७.९ प्रतिशतले वृद्धि भई १० अर्ब ८४ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी आठ अर्ब ४७ करोड रहेको थियो।
चालु आर्थिक वर्षको फागुनसम्म विदेशी लगानीकर्ताले लगानी/ लाभांश बापत पाँच अर्ब ७२ करोड फिर्ता लगेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम दुई अर्ब ९८ करोड रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षको फागुनसम्म खुद वैदेशिक लगानी ६.९ प्रतिशतले घटेर पाँच अर्ब ११ करोड रुपैयाँ कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब ४९ करोड रुपैयाँ रहेको थियो।
प्रकाशित: १४ जेष्ठ २०८३ १२:५७ बिहीबार





