१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

नियामक आयोगलाई सुशासनको औजार बनाउन ऊर्जामन्त्रीको निर्देशन

विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्। सपथसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोगलाई सुशासन र नीतिगत सुधारको प्रभावकारी निकायका रूपमा स्थापित गर्न निर्देशन दिएका छन्।

ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक र जयराज भण्डारीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।

सपथपछि मन्त्री श्रेष्ठले अनुभवी टोली आयोगमा आएकाले नीतिगत तथा संरचनागत सुधारमा परिणाम देखिने विश्वास व्यक्त गरे। उनले मन्त्रालयअन्तर्गतका निकायहरूको नियामकीय निगरानी प्रभावकारी बनाउन आयोगले सक्रिय भूमिका खेल्नुपर्ने बताए।

उनले नेपाल विद्युत् प्राधिकरणको खरिद प्रक्रियासमेत कार्यतालिका बनाएर नियमन गर्न सुझाव दिँदै आयोगलाई ‘गुड गभर्नेन्सको इन्स्ट्रुमेन्ट’ का रूपमा अघि बढाउन चाहेको बताए। सामाजिक न्याय, नीतिगत खाडल (पोलिसी ग्याप) को सम्बोधन तथा कानुनी व्यवस्थालाई पूर्वानुमानयोग्य बनाउने दिशामा आयोगले काम गर्नुपर्ने उनको भनाइ थियो।

नवनियुक्त अध्यक्ष डा. धितालले सरकारको सुशासनसम्बन्धी मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्रालयको नीतिगत मार्गदर्शनमा नियामकीय भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने, विद्युत्को आन्तरिक खपत बढाउन सहजीकरण गर्ने तथा मन्त्रालयसँग निकट समन्वयमा काम गर्ने उनले बताए।

आयोगका सदस्यहरूले पनि दुई दशकभन्दा बढी समय ऊर्जा क्षेत्रमा काम गरेको अनुभवलाई नतिजामुखी रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाए।

मन्त्री श्रेष्ठले आयोगबाट ऊर्जा क्षेत्रसँग सम्बन्धित निकायहरूको शासकीय सुधारमा उल्लेखनीय योगदानको अपेक्षा रहेको पनि बताए।

प्रकाशित: ७ श्रावण २०८३ १९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App