सहरलाई चुनावी रन्कोले छपक्कै छोएको छ। बजारका चियापसलदेखि चौतारोसम्म चुनावी चर्चा सर्वत्र सुन्न पाइन्छ। व्यावासायिक क्षेत्रदेखि विद्यालयका कोठासम्म पनि चुनावी चर्चा हुने गरेका छन।
सहरको जस्तै चुनावी रन्को गाउँमा पनि छ। किसानले खेतीपातीको काम रोकेर पनि चुनावी माहोलबारे बहस गरेको भेटिन्छ। मतदाताबीचको बहसमा कसले जित्ने र कसले हार्ने भनेर आफ्नै तरिकाले आँकलन गर्ने गरेको सर्वत्र सुन्न पाइन्छ।
तर, कतिपय त्यस्ता ठाउँ छन, जहाँ चुनावी चर्चाले खासै छोएको छैन। चुनावी चर्चा भन्दा ती क्षेत्र धेरै नै टाढा छन। अहिलेसम्मको अभ्यासमा कुनैपनि दलहरु मत माग्न ती ठाउँका मतदातासम्म पुगेको सम्झना पनि स्थानीयलाई छैन। उच्च हिमाली भेगका पर्यटकीय गन्तव्य अहिलेसम्म चुनावी चर्चाबाट धेरै पर छन। यतिसम्मकी उम्मेदवारहरु पनि भोट माग्न त्यहाँसम्म उक्लेका छैनन। कुनै दलका नेताले भोट माग्नका लागि फोन पनि गरेका छैनन।
मतदाताहरु मताधिकार उपयोग गर्न आफ्नै तरिकाले मतदानका दिन मतदान केन्द्र आएर भोट खसाल्ने गरेका छन। तर, उनीहरुलाई चुनावी हल्लाले छुँदैन। अन्नपूर्ण गाउँपालिका–११ को अन्नपूर्ण आधारशिवर (एबिसी) क्षेत्रमा यतिबेलासम्म चुनावी चर्चा छैन। व्यावसायीहरु आफ्नै तरिकाले व्यावसाय गरिरहेका छन। आएका पाहुनालाई आतिथ्यता दिएका छन। चुनावको रन्कोबारे मोवाइलबाटै देखेको भएपनि उम्मेदवारसँग अहिलेसम्म प्रत्यक्ष संवाद समेत उनीहरुले गर्न पाएका छैनन।
‘हामीलाई त चुनावी रन्कोले खासै छोएको पनि चैन। बजारको चुनावी चर्चालाई हामीले मोवाइलको स्क्रिनमा नियालेर बसेका छौ। बजारको चुनावी रमझमले हिमाली क्षेत्रलाई छुन सकेको छैन,’ आधारशिविरका पर्यटन व्याववसायी जगनबहादुर गुरुङ भन्छन, ‘हामीलाई त पाहुनालाई सेवा गर्दै फुर्सद पनि छैन, अरु कुरामा वास्ता गर्नुपर्ने जरुरी पनि भएन।’
उनका अनुसार उक्त क्षेत्रका मतदाता मत हाल्नका लागि छोमरोङ झर्नुपर्छ। ‘छोमरोङसम्म मात्र चुनावी चर्चा छ। पदयात्रा क्षेत्रलाई चुनावले छोएको छैन। अहिलेसम्म प्रचारका लागि कोही आएका छैनन र फोन पनि गरेका छैनन,’ उनले भने, ‘स्थायी बसोबासको गाउँ भन्दा पनि व्यावसायिक क्षेत्र मात्र भएकोले पनि होला। तर, फोन गरेर मत माग्न त सकिन्थ्यो। त्यो पनि कुनै दलले गरेनन।’ उनी आफै पनि मतदाता हुन।

‘आफ्नो मतका लागि त म तल झर्ने हो। तर, राजनीतिको छायाँबाट हामी जहिल्यै टाढा छौं,’ उनले भने, ‘राजनीतिको प्रभाव पर्यटनमा भने पर्छ। तर, हामीलाई राजनीतिक दलले समेट्ने प्रयास गर्दैनन।’ उनका अनुसार मौसम राम्रो भएकोले अहिले आधारशिविर क्षेत्रमा पाहुना आगमन राम्रो छ। योपटक उत्तिसारो हिउँ नपरेकोले हिमपहिरोको जोखिम पनि नभएको उनले बताए।
‘सिजनको सुरुवाती चरणमा छौ। तर, पाहुना कम भएपनि व्यावसाय चलिरहेको छ। हिजोआज चिनियाँ, मलेसियन, भारतीय र नेपाली पाहुना छन’ उनले भने। ‘दिनमा अहिले पनि ५० को हाराहारीमा पाहुना उक्लिरहेका छन।’ उनका अनुसार छोमरोङ भन्दा माथिका बम्बु, दोभान, हिमालयन, देउराली, एमबिसी र एबिसीमा होटल छन। त्यहाँका होटलका संचालक मतदाता भएपनि ती क्षेत्र पनि अहिले चुनावी गतिविधि भन्दा बाहिर रहेको उनले बताए।
कास्कीकै अर्काे हिमाली क्षेत्र मर्दी हिमाल क्षेत्रमा पनि अहिले चुनावी रन्को छैन। कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा पर्ने मर्दी हिमाली क्षेत्रमा पनि अहिलेसम्म चुनावी प्रचारका लागि कुनै दलका उम्मेद्वार र कार्यकर्ता पुगेका छैनन। स्थानीय व्यावसायीहरु व्यवासायमा व्यस्त छन। स्थानीय व्यावसायी चीमनारायाण गौतम भन्छन, ‘चुनाव सहर र केही हदसम्म गाउँमा लागेको छ। हामी हिमाली क्षेत्रमा त सुनसान छ। हामीलाई चुनावी चर्चाले छोएको छैन।’
गौतमका अनुसार मर्दी क्षेत्रका पर्यटकीय गन्तव्यमा प्रचारप्रसारका लागि राजनीतिक दलहरु कहिल्यै पुगेका छैनन। ‘भोट खसाल्न तल झर्ने हो। तर हामीसँग भोट माग्न कोही आएका छैनन, कसैले मत पनि मागेका छैनन, भोट मागेर फोन पनि गरेका छैनन,’ उनले भने। उनी भोट खसाल्न माछापुच्छ्रे गाउँपालिकाको ९ सैदीघट्टा झर्नेछन। हिमाली क्षेत्र आफ्नै गतिमा अघि बढेकोले चुनाव लागे नलागेको केही थाहा नभएजस्तो भएको उनले बताए।
‘यहाँ त सुनसान छ। मोवाइलमा हेरेर बजारको चुनावी माहोल थाहा पाएका छौ। भोट खसाल्न झर्ने हो। दलले बेवास्ता गरे भन्दैमा हामीले मताधिकार बिर्सनु भएन,’ गौतमले भने, ‘अहिले मात्र होईन, अरुबेला पनि भोट माग्न कहिल्यै आएका छैनन।’
गौतमका अनुसार सिदिङ भन्दा माथिका व्यावासायिक क्षेत्रमा कहिल्यै भोट माग्न राजनीतिक दल नआएको उनले बताए। सिदिङबाट माथि लोक्याम्प, बादलडाँडा, हाइक्याम्पका पर्यटकीय बस्ती छन। जहाँका होटलम पाहुना बसेपनि होटल संचालक स्थानीय मतदाता हुन। तर, दलहरुको सधैंको बेवास्तामा ती क्षेत्र पर्दै आएको उनले सुनाए। ‘हाम्रा पनि समस्या होलान, ती समस्या बुझ्ने प्रयास कतैबाट कहिल्यै हुँदैन,’ उनले भने।
मर्दी हिमाल क्षेत्रमा अहिले दिनमा ९० जनाको हाराहारीमा पाहुना पुग्ने गरेको उनले सुनाए। ‘हामीलाई त पाहुनालाई स्वागत गर्दै ठिक्क छ। ‘सिजन भर्खर सुरु हुँदैछ। अहिले त खासै पाहुना छैनन। अहिले भएका पाहुना मध्ये अधिकांश विदेशी हुन। आधाजति कोठामा पाहुना छन,’ उनले भने।
प्रकाशित: १३ फाल्गुन २०८२ १६:३२ बुधबार





