प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटक बोक्ने सवारीसाधनले अनुमति लिनुपर्ने भएको छ।
यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन पर्यटकलाई असहज नहोस् भन्नका लागि कम्तीमा दुई दिनअघि अनुमति लिनुपर्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ मा निर्वाचनका दिन कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय हवाइ उडान नरोकिने भएकाले पर्यटकका सवारी साधन सञ्चालनका लागि अनुमतिको व्यवस्था गरिएको हो।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र काठमाडौंमा आयोगबाट कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार राजमार्गमा चल्नुपर्ने सवारीसाधनको आवागमनलाई पनि व्यवस्थित बनाउन कार्यविधिमा उल्लेख गरिएको छ।
मतदानको दिन अत्यावश्यक सेवा, कूटनीतिक नियोग, मानव अधिकार आयोगबाहेक अन्य कुनै प्रकारका सवारीसाधन अनुमित लिएर प्रयोग गर्न सकिने व्यवस्था कार्यविधिले गरेको छ।
प्रकाशित: १३ फाल्गुन २०८२ १७:४६ बुधबार





