१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

कांग्रेस कार्यकर्तामा छैन उत्साह

बारा–१: टिकटको विवादको असर कार्यकर्तासम्म

कांग्रेस उम्मेदवार बुढाथोकी र नेता उमाकान्त चौधरी ।

बाराको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत कोल्हबी नगरपालिका–११, बेल्वाका रघुबंश चौधरी घरमै भेटिए। अघिल्ला प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उमाकान्त चौधरी उम्मेदवार हुँदा उनी दिनरात मत माग्न खटिने कार्यकर्तामध्येका एक थिए।

रघुबंशका अनुसार यसअघि उमाकान्त चौधरी उम्मेदवार हुँदा चौधरी समुदाय उत्साहका साथ महिनौँ घरबाहिर निस्केर प्रचारमा लाग्थे। तर यसपटक उमाकान्त चौधरीलाई टिकट नदिइएपछि कांग्रेस समर्थित चौधरी समुदाय निराश बनेको उनले बताए। निराश कार्यकर्ताको मनोबल बढाउने ठोस गतिविधि अहिलेसम्म नभएको उनको भनाइ छ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान हुन करिब नौ दिन बाँकी रहँदा पनि ठूलो संख्यामा रहेका चौधरी समुदाय सक्रिय रूपमा प्रचारमा ननिस्किँदा कांग्रेसलाई जित निकाल्न कठिन हुन सक्ने बेल्वाकै अर्का समर्थक कपिलदेव ठाकुर बताउँछन्। उनका अनुसार धेरै मतदाता ‘के गर्ने, के नगर्ने’ अन्योलमा छन्।

बेल्वा गाउँ कांग्रेस नेता उमाकान्त चौधरीको गृहगाउँ हो। उनी बारा–१ बाट लगातार संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका थिए। तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीभित्रकै अन्तरघातका कारण एमालेका उम्मेदवार अच्युत मैनालीसँग पराजित भएका थिए।

१४ औँ महाधिवेशनबाट सह–महामन्त्री बनेका उमाकान्त चौधरीको टिकट विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापाको कार्यसमितिले काटेर निजगढ निवासी शम्भु बुढाथोकीलाई दिएको हो। बुढाथोकी पनि विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका नेता हुन्।

उमाकान्त चौधरीको तुलनामा बुढाथोकी कांग्रेसमा पछि प्रवेश गरेका र मतदातामाझ कम परिचित रहेको तर्क गर्दै स्थानीय कार्यकर्ताले चौधरी समुदायसहित अन्य समुदाय पनि खुलेर प्रचारमा ननिस्किएको बताएका छन्। बुढाथोकी एक पटक गाउँमा घरदैलो गरेर गएपछि दोस्रो पटक नआएको आरोप पनि लागेको छ।

कोल्हबी नगरपालिकाका कांग्रेसबाट निर्वाचित नगरप्रमुख रामप्रसाद चौधरीका अनुसार क्षेत्रका मतदाताले उमाकान्त चौधरीलाई नै उम्मेदवार बनाउन चाहेका थिए। “टिकट दिएको भए सजिलै जित्थे, अहिले जित्न धेरै मिहिनेत गर्नुपर्ने अवस्था छ,” उनले भने।

निर्वाचन क्षेत्र नम्बर १ मा चौधरी समुदायका मतदाता करिब ४० हजार रहेको बताइएको छ। शम्भु बुढाथोकीलाई टिकट दिलाउन नेपाली कांग्रेस बारा–१ का सभापति विजयशंकर यादव र मधेश प्रदेश उपसभापति चन्द्रशेखर यादव सक्रिय रहेको बताइन्छ। तर उनीहरूको प्रयास मात्र पर्याप्त नहुने असन्तुष्ट पक्षको धारणा छ।

कांग्रेस उम्मेदवार शम्भु बुढाथोकीले भने निराश बनेका नेता–कार्यकर्तालाई सक्रिय बनाउन आफू गाउँ–गाउँ पुगिरहेको बताए। घरदैलो कार्यक्रममार्फत मनोबल बढाउने काम भइरहेको उनको भनाइ छ। मंगलबारदेखि उमाकान्त चौधरी पनि बुढाथोकीसँगै घरदैलोमा देखिएका छन्।

उमाकान्त चौधरीले मतदाता अनुहारभन्दा पनि ‘रुख’ चुनाव चिह्न हेरेर मत दिने भएकाले कांग्रेस उम्मेदवार नै विजयी हुने दाबी गरेका छन्। कुनै पनि कार्यकर्ता निराश नभई आफ्नो स्थानबाट सक्रिय रहेको उनको भनाइ छ। गगन थापालाई प्रधानमन्त्री बनाउन रुख चिह्नबाट चुनाव लडेका उम्मेदवारलाई जिताउनुपर्ने उनले बताए।

मकवानपुर र सिन्धुलीको सीमादेखि भारतसँगको सीमासम्म फैलिएको बारा–१ मा निजगढ, कोल्हबी र सिम्रौनगढ नगरपालिका तथा आदर्श कोत्वाल र बारागढी गाउँपालिका पर्छन्। यीमध्ये निजगढमा एमाले, कोल्हबी र आदर्श कोत्वालमा कांग्रेस तथा बारागढी र सिम्रौनगढमा जसपाका प्रमुख–उपप्रमुख छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ९ सय ८५ मतदाता रहेका छन्। यस क्षेत्र मात्र होइन, बाराका अन्य चार निर्वाचन क्षेत्रमा पनि अघिल्ला चुनावजस्तो कांग्रेस कार्यकर्तामा उत्साह नदेखिएको टिप्पणी छ।

विशेष महाधिवेशनपछि बनेको नेतृत्वले टिकट वितरणमा एक पक्षलाई पाखा लगाएको भन्दै असन्तुष्ट समूहले गुनासो गर्दै आएका छन्। उम्मेदवारहरूले प्रचारका क्रममा स्थानीय तह र अन्य पदमा टिकट दिने आश्वासन दिने तथा निर्वाचनपछि पार्टी नेतृत्व परिवर्तनको चर्चा चलाउने जस्ता गतिविधिले पनि पार्टीलाई नोक्सान पुग्न सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित: १३ फाल्गुन २०८२ १७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App