यही फागुन २१ गते हुने प्रतिनधिसभाको निर्वाचनका लागि करिब आठ लाख सर्वसाधारणले मंगलबार रातीसम्म काठमाडौं उपत्यका छाडेका छन्।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालका अनुसार बुधबारसाँझसम्म १० देखि १२ लाख नागरिकले उपत्यका छाड्ने अनुमान गरिएको छ। ‘बुधबार करिब चार हजार सार्वजनिक गाडी काठमाडौंबाट बाहिरिने हाम्रो अनुमान छ । मंगलबार तीन हजार सार्वजनिक गाडीले उपत्यकाबाट बाहिरिएका छन्’ उनले भने।
नेपालका अनुसार काठमाडौं बाहिर विभिन्न जिल्लाका मतदान केन्द्रमा मतदाता नामावलीमा नाम रहेको नेपाली नागरिक मतदान गर्न विगत ६÷७ दिनदेखि नै काठमाडौं छाड्न थालेका छन्। ‘विशेष गरी सोमबार, मंगलबार र बुधबार काठमाडौं छाड्ने क्रम झन् बढी छ’, उनले भने।
उनका अनुसार दसैं तिहार जस्ता ठूलो चाडपर्वमा झैं यसपटक निर्वाचनमा देखिएको छ । दसैंमा काठमाडौंमा बसोबास गर्दै आएका सर्वसाधारणले चाडपर्व मनाउन काठमाडौं छाडेका थिए। यसपालि निर्वाचनमा काठमाडौंमा अस्थायी बसोबास गर्दै आएका तथा मतदाता सूचीमा काठमाडौंमा नाम नभएका नागरिकले काठमाडौ छाड्न लागेका हुन्। नेपालका अनुसार गत दसैंमा करिब १५ लाख नागरिकले दसैंको बेला काठमाडौं छाडेका थिए।
यसपटक निर्वाचनको मुखमै होली पर्व भएकाले पनि काठमाडौं छाड्ने क्रम बढेको नेपालको अनुमान छ। काठमाडौ छाड्ने अधिकांश सर्वसाधारण निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिएका हुन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्न देशभर १० हजार नौ ६७ मतदानस्थल र २३ हजार एक सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ । यो निर्वाचनमा २०७९ सालको कुल मतदानस्थलको संख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ।
काठमाडौं छाडेका यात्रुहरू आआफ्नो मतदान केन्द्रमा पुग्न थालिसकेका छन्। यात्रुको चाप बढेसँगै गत आइतबारदेखि नै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको छ।
ट्राफिक प्रहरीका अनुसार यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउने जनशक्ति बढाइएको छ। प्रहरीका अनुसार सवारीसाधनको चाप बढी हुने क्षेत्रमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार सवारीसाधनको चाप व्यवस्थापनका लागि नजिकका प्रहरी एकाइसँग समन्वय गरिएको छ।
प्रहरीका अनुसार निर्वाचन सुरक्षामा खटिएको प्रहरी टोलीलेसमेत यातायात व्यवस्थापनमा प्रयोग गरिएको छ। प्रहरीका सोमबार दिउँसोसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेको छन्। यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी बढाइएको प्रहरीको भनाइ छ। ट्राफिक प्रहरीले सर्वसाधारणलाई सुरक्षित र संयमित यात्रा गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ। साथै, लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था जाँच गर्न र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले सुझाव दिएको छ।
यता महासंघका महासचिव नेपालका अनुसार काठमाडौं छाडेका सार्वजनिक यातायातहरूको सुुरक्षाका लगि तथा दुर्घटना शून्य होस् भन्ने उद्देश्यबाट चालक, सहचालक तथा यातायात कर्मचारीहरूलाई विभिन्न निर्देशन दिइएको छ। जस्तो कि लामो दूरीको यात्राको लागि दुई जना चालक अनिवार्य रूपमा राख्नुपर्ने, छिटो पुग्ने नामममा प्रतिष्पर्धा गर्न नहुने, चालकहरूले मोबाइल फोन प्रयोग गर्न नहुने निर्देशन गरिएको छ।
साथै गाडी गुडाइरहेको बेला सवारी चालकहरूले आपसमा प्रतिष्पर्धा गर्न नहुने, यात्रुहरूले दबाब दिए पनि ढिलो यात्रा गर्नुपर्ने, ठाउँठाउँमा गाडी रोक्नुपर्ने सुझव दिएको छ। बेलाबेलामा गाडी रोकेर चालकले आराम गर्नुपर्ने लगायतका निर्देशन अनिवार्य पालना गर्न परिपत्र गरिएको नेपालले बताए।
उनले भने, ‘हाम्रो उद्देश्य दुर्घटना शून्य नै होस् भन्ने हो। खासगरी यस्तो बेला गाडी दुर्घटना जोखिम कम गर्न हामीले यस्तो निर्देशन दिएका हौं।’
प्रकाशित: २० फाल्गुन २०८२ ०९:५२ बुधबार





