२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

दिक्तेल बजारमा दसैँको रौनक, दैनिक लाखौँको कारोबार

दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सर्वसाधारणको चहलपहल बढेको छ। दैनिक उपभोग्य सामग्री किनमेल गर्ने तथा सहरबाट जिल्ला भित्रिने सर्वसाधारणको बिहानदेखि राति अबेरसम्म चहलपहल बढेको हो।

चाडपर्व नजिकिएसँगै जिल्लामा दैनिक रु ५० देखि रु ६० लाखसम्मको आर्थिक कारोबार हुने गरेको उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिए। ‘सबै व्यापारीलाई तोकिएको दरमा सामान बिक्री गर्न र ग्राहकलाई सकेसम्म छुट दिन आग्रह गरेका छौं। व्यापारीले पनि धेरै नाफा कमाउनेभन्दा सुपथ मूल्यमा सामान बिक्री गरिरहेका छन्,’ उनले भने, ‘केही दिनअघिसम्म सुनसान रहेको दिक्तेल बजार पछिल्ला दुई दिनदेखि ग्राहकको भीड निकै बढेको छ। यसले व्यवसायीको कारोबार राम्रो भइरहेको छ।’

जिल्लामा कुखुराको अण्डा उत्पादन कम भएकाले तराईबाट ल्याउनुपर्दा मूल्यमा केही वृद्धि भएको व्यापारीले बताएका छन्। यस्तै खानेतेलको मूल्य पनि केही बढेको र अन्य उपभोग्य वस्तु भने सुपथ मूल्यमै बिक्री भइरहेको वाणिज्य संघले जनाएको छ।

गत वर्षको तुलनामा यस वर्ष व्यापार/व्यवसायमा धेरै सुधार भएको व्यापारीहरू बताउँछन्। चाडपर्वमा खपत हुने सामानको बिक्री बढी भएको र ग्रामीण क्षेत्रबाट समेत उपभोक्ता आएकाले कारोबार बढेको उनीहरूको भनाइ छ। स्थानीय उपभोक्ताले पनि दसैँ नजिकिँदै गर्दा बजारमा सामानको विविधता र आपूर्ति सहज भएको अनुभव गरेका छन्। तर, कतिपयले भने अन्डा र तेलजस्ता केही सामानको भाउ बढेको गुनासो गरेका छन्।

जिल्लास्थित सरोकारवाला निकायले चाडपर्वका बेला बजार व्यवस्थापन, मूल्य नियन्त्रण र उपभोक्ताको सुरक्षामा अझ ध्यान दिनुपर्ने बताएका छन्। ग्रामीण भेगमा सञ्चालित पसलमा म्याद नाघेका अखाद्य वस्तु बिक्री भइरहेकाले त्यसतर्फ ध्यान दिन सरोकारवाला निकायले आग्रह गरेका छन्।

चाडपर्वका अवसरमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न अनुगमन तथा सुरक्षाको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लाका दशवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा सञ्चालित हाटबजार तथा पसल अनुगमन गरिरहेका छन्।

चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जिल्लाका तीन स्थानमा सुपथ मूल्यको पसलसमेत सञ्चालनमा ल्याएको छ। दसैँ, तिहार, नेपाल संवत् तथा छठजस्ता चाडपर्वलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिक्तेल बजारसहित ऐसेलुखर्क र खोटेहाङ गाउँपालिकामा चामलको सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो।

जिल्लामा खोलिएका सुपथ मूल्यको पसल आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सुजनबाबु आचार्यले जानकारी दिए। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीकै कार्यालय र गोदाम, ऐसेलुखर्कमा डिपो कार्यालय र खोटेहाङ गाउँपालिकामा डिपो कार्यालयबाट सस्तो मूल्यमा चामल बिक्री सुरु गरिएको हो। रासस

प्रकाशित: १० आश्विन २०८२ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App