१८ असार २०८३ बिहीबार
image/svg+xml
अर्थ

हवाई इन्धन ट्यांकरमा ‘डिजिटल लकिङ’ प्रणाली

हवाई इन्धन ढुवानीलाई थप सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल आयल निगमले डिजिटल लकिङ प्रणाली कार्यान्वयनमा ल्याएको छ। निगमले ट्यांकरमार्फत ढुवानी हुने हवाई इन्धनको सुरक्षा सुनिश्चित गर्दै चुहावट, चोरी तथा अनधिकृत रूपमा ट्यांकर खोल्ने कार्य नियन्त्रण गर्ने उद्देश्यले उक्त प्रणाली सुरु गरेको हो।

निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी डिपोबाट ल्याइएको हवाई इन्धन (एटिएफ) ढुवानीमा डिजिटल लकिङ गरिएको ट्यांकरमार्फत ढुवानी गरी सफल परीक्षणसमेत गरेको छ। हवाई इन्धन ढुवानी गर्ने ट्यांकरमा आधुनिक प्रविधिको डिजिटल लकिङ सुरु गरिएको नेपाल आयल निगम हवाई इन्धन डिपो, सिनामंगलका प्रमुख प्रदीप यादवले बताए।

‘आइओसीले परीक्षणका रूपमा डिजिटल लकिङ गरेर ट्यांकर पठाएको थियो। परीक्षण सफल भएको छ’, यादवले भने, ‘यो अत्याधुनिक प्रविधि भएकाले चुहावट रोकिन्छ।’

यादवका अनुसार आइओसीको डिपोभित्र लक गरेर पठाइएका ट्यांकर नेपाल आयल निगमको हवाई इन्धन डिपोमा पुगेपछि मात्र खोलिन्छन्। नयाँ प्रणालीअन्तर्गत इन्धन बोकेको ट्यांकरमा डिजिटल स्मार्ट लक जडान गरिन्छ। इन्धन लोड गरेपछि लक डिजिटल रूपमा बन्द हुन्छ र तोकिएको गन्तव्यमा पुगेपछि मात्र अधिकारप्राप्त व्यक्तिको प्रमाणीकरणबाट खुल्ने व्यवस्था गरिएको छ। यात्राका क्रममा कसैले जबर्जस्ती लक खोल्ने प्रयास गरेमा प्रणालीले त्यसको अभिलेख राख्नुका साथै सम्बन्धित निकायलाई तत्काल सूचना दिन सक्छ।

यस व्यवस्थाले ढुवानी प्रक्रियामा चालकको अनधिकृत हस्तक्षेप न्यून गर्ने, इन्धनको सुरक्षा बढाउने तथा सम्पूर्ण ढुवानीलाई डिजिटल निगरानीमा ल्याउन सघाउने निगमको विश्वास छ। यो प्रणालीमा कोडमार्फत लक सञ्चालन हुन्छ भने कम्प्युटरबाट ट्यांकरको लोकेसन ट्र्याकिङ गरिन्छ। ‘मोबाइलको पासकोडजस्तै ट्यांकरमा पनि कोड राखिन्छ’, डिपो प्रमुख यादवले भने, ‘तोकिएको लोकेसनभन्दा बाहिर गएर लक खोल्ने प्रयास भए सिधै कम्प्युटर प्रणालीमा सूचना प्राप्त हुन्छ।’

यो प्रणालीले हवाई इन्धन चुहावटका समस्या नियन्त्रण हुने निगमको दाबी छ। हालसम्म परम्परागत सिल वा म्यानुअल लक प्रयोग हुँदाबिच बाटोमा सिल काट्ने, अर्को सिल लगाउने वा इन्धन निकाल्ने जोखिम रहने गरेको थियो। बेलाबेला चालकले इन्धन चोरी गर्ने गरेको आरोपसमेत लाग्दै आएको थियो। डिजिटल लकिङ प्रणाली लागु भएपछि यस्ता गतिविधि गर्न निकै कठिन हुने विश्वास गरिएको छ।

नेपाल आयल निगमले सबै हवाई इन्धन ढुवानी गर्ने ट्यांकरमा यो प्रणाली प्रयोगमा ल्याउने तयारी गरिरहेको एलपी ग्यास तथा एभिएसन विभागका प्रमुख विनीतमणि उपाध्यायले बताए। ‘अहिलेको मेकानिकल प्रणालीभन्दा यो उच्चस्तरको प्रविधि हो’, उपाध्यायले भने। उनका अनुसार प्रणाली कार्यान्वयनमा लाग्ने सम्पूर्ण खर्च आइओसीले व्यहोर्ने गरी प्रस्ताव गरिएको छ।

ढुवानीका क्रममा अनधिकृत रूपमा ट्यांकर खोल्न नसकिने भएकाले इन्धनमा मिसावट हुने जोखिम पनि उल्लेखनीय रूपमा घट्नेछ। हवाई इन्धन अत्यन्त संवेदनशील भएकाले यसको गुणस्तरमा सामान्य परिवर्तन हुँदा पनि उडान सुरक्षामा असर पर्न सक्छ। त्यसैले ढुवानी सुरक्षामा गरिएको यो प्रविधिगत सुधारलाई सकारात्मक कदमका रूपमा हेरिएको छ)। यस प्रणालीले ढुवानी प्रक्रियाको जवाफदेही पनि बढाउँछ। कुन समयमा लक लगाइयो, यात्राका क्रममा कुनै छेडछाड भयो वा भएन, कहिले र कसले लक खोल्यो भन्ने सम्पूर्ण विवरण डिजिटल अभिलेखमा सुरक्षित रहने भएकाले विवाद वा अनुसन्धानका क्रममा प्रमाण जुटाउन सहज हुनेछ। यसले ढुवानी प्रक्रियामा पारदर्शिता बढाउनुका साथै कर्मचारी र ढुवानी व्यवसायी दुवैलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

डिजिटल लकिङ प्रणालीलाई जिपिएस ट्र्याकिङ, इन्धन परिमाण मापन प्रणाली, वास्तविक समयको निगरानी (रियल टाइम मोनिटरिङ) तथा केन्द्रीय नियन्त्रण कक्षसँग एकीकृत गर्न सके यसको प्रभावकारिता अझ बढ्नेछ। यसबाट ट्यांकरको स्थान, यात्रा अवधि, मार्ग परिवर्तन तथा ढुवानीको सम्पूर्ण अवस्था एउटै प्रणालीबाट निगरानी गर्न सकिनेछ। यो प्रणाली पूर्ण रूपमा प्रभावकारी बनाउन डिजिटल उपकरणको नियमित मर्मतसम्भार, सञ्चार सञ्जालको उपलब्धता, उपकरण बिग्रिएमा तत्काल प्राविधिक सहयोग तथा सम्बन्धित कर्मचारीलाई पर्याप्त तालिम आवश्यक पर्ने विज्ञहरू बताउँछन्।

निगमले हवाई इन्धन ढुवानीबाट सुरु गरिएको यो प्रविधिलाई भविष्यमा पेट्रोल, डिजेल र मट्टितेललगायत अन्य पेट्रोलियम पदार्थको ढुवानीमा समेत विस्तार गर्ने तयारी गरेको छ। नेपाल आयल निगमले काठमाडौं, विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढीलगायत विमानस्थलमा हवाई इन्धन बिक्री गर्दै आएको छ। सबैभन्दा बढी इन्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिक्री हुने गरेको छ। यहाँ दैनिक करिब ५०० किलोलिटर हवाई इन्धन बिक्री हुने गरेको निगमले जनाएको छ।

इन्धन सस्तिएसँगै यात्रुलाई राहत

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ। सार्वजनिक यातायातको भाडा पनि घटाउने तयारी गरिएको छ।

निगमले बुधबारदेखि लागु हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि वायुसेवा कम्पनीहरूले तत्काल हवाई भाडा समायोजन गरेका छन्। डिजेल र पेट्रोलको मूल्य घटेपछि यातायात व्यवस्था विभागले पनि बिहीबारदेखि देशभर सञ्चालन हुने अन्तरप्रदेश सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागु गर्ने तयारी गरेको छ। इन्धन सस्तो भएपछि हवाई तथा सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुलाई राहत पुगेको छ।

हवाई क्षेत्रमा गरिएको मूल्य समायोजनअनुसार यात्रुले विभिन्न गन्तव्यमा ३६० रुपैयाँदेखि अधिकतम एक हजार ७६५ रुपैयाँसम्म राहत पाउने भएका छन्। सबैभन्दा बढी राहत काठमाडौं–धनगढी उडानका यात्रुलाई हुनेछ, जहाँ इन्धन शुल्क एक हजार ७६५ रुपैयाँले घटाइएको छ।

त्यसैगरी पर्वतीय उडानमा एक हजार ३७५ रुपैयाँ, सुर्खेतमा एक हजार ३८० रुपैयाँ, नेपालगन्जमा एक हजार ३०५ रुपैयाँ, भद्रपुरमा एक हजार २०५ रुपैयाँ, विराटनगरमा ९६० रुपैयाँ, भैरहवामा ८२५ रुपैयाँ, राजविराजमा ८१५ रुपैयाँ, तुम्लिङटारमा ७३५ रुपैयाँ, पोखरामा ६३५ रुपैयाँ, जनकपुरमा ५१५ रुपैयाँ, भरतपुरमा ४३० रुपैयाँ तथा सिमरामा ३६० रुपैयाँले इन्धन शुल्क घटेको छ। काठमाडौंबाहिरका विमानस्थलबाट सञ्चालन हुने उडानमा पनि नयाँ शुल्क लागु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

उता, यातायात व्यवस्था विभागले पनि इन्धनको मूल्य घटेसँगै लामो दूरीका सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्ने प्रक्रिया अघि बढाएको छ। विभागका निर्देशक मणि भुसालका अनुसार वैज्ञानिक मापदण्डका आधारमा नयाँ भाडादर निर्धारण गरी लागु गरिनेछ। उनका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको अनुपातमा अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा घटाइने भए पनि अन्तिम प्रतिशत भने गणनापछि सार्वजनिक गरिनेछ।

प्रकाशित: १८ असार २०८३ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App