जापानमा आयोजना हुने २०औं एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ वटा खेलमा सहभागिता जनाउने निश्चित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताका लागि नेपालको प्रारम्भिक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
विश्व खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको ‘नेपाल इन एसियन गेम्स’ अन्तरक्रिया कार्यक्रममा राखेपका सदस्य सचिव रामचरित्र मेहताले नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय भइसकेको जानकारी दिए।
उनका अनुसार खेलको संख्या टुंगो लागिसकेको भए पनि अन्तिम खेलाडी छनोट प्रक्रिया भने अझै बाँकी छ। उनले करिब १४१ खेलाडी एसियाडमा सहभागी हुन सक्ने सम्भावना रहेको बताए।
राखेपले यसअघि नै २३ खेलबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी कुल १९४ सदस्यीय टोली सहभागिताका लागि सहमति जनाएको थियो।
यसपटक नेपालबाट कराते, महिला कबड्डी, कुस्ती, उसु, पुरुष क्रिकेट, एथलेटिक्स, जुडो, महिला भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स, साइक्लिङ, ई–स्पोर्ट्स, गल्फ, राफ्टिङ एन्ड क्यानोइङ, पौडी, स्क्वास, सफ्ट टेनिस, स्केट एन्ड स्केटबोर्डिङ, टेबल टेनिस, आर्चरी, बक्सिङ र टेनिसमा प्रतिस्पर्धा हुने तय भएको छ।
अघिल्लो संस्करणमा नेपालले २६ खेलमा सहभागिता जनाएको थियो। तर यसपटक फुटबल, भारोत्तोलन तथा क्लाइम्बिङ स्पोर्ट्सलाई टोलीबाट हटाइएको बुझिएको छ।
गत एसियाडमा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। करातेकी एरिका गुरुङले रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टोलीले कास्य पदक जित्दै नेपालको नाम उचो बनाएको थियो।
सदस्य सचिव मेहताले एसियाड तयारीका लागि सरकारले २ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। त्यस्तै प्रतियोगितामा सहभागिताका लागि थप ११ करोड २० लाख रुपैयाँ छुट्याइएको उनले बताए।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको पनि उपस्थिति रहेको थियो। लामो समयपछि राखेप र एनओसी नेतृत्व एउटै औपचारिक कार्यक्रममा सँगै देखिएका हुन्।
प्रकाशित: १८ असार २०८३ १५:१७ बिहीबार



-600x400.jpg)

