मेयर हर्कराज राई(साम्पाङ) र अन्य जनप्रतिनिधिबिचको विवादले असारमा आउन नसकेको धरान उपमहानगरपालिकाको बजेट भदौ २६ गते ल्याउने सहमति जुटेको छ। मेयर साम्पाङ नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिका माग सम्बोधन गर्न तयार भएपछि बजेटको वातावरण बनेको हो।
संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको बजेट असार १० गतेभित्र ल्याइसक्नुपर्ने हुन्छ। तर, साम्पाङको अटेरी र अन्य जनप्रतिनिधि लचक नबन्दा त्यो बेला बजेटको वातावरण नै बनेको थिएन। अहिले वातावरण बनेपछि आर्थिक वर्ष सुरु भएको दुई महिनापछि बजेट आउन लागेको हो। यसरी निर्धारित समयभन्दा तीन महिना पछि धरानमा बजेट आउन लागेको छ।
अहिलेको सहमतिअनुसार अब एक अर्ब ९८ करोड रुपैयाँ बराबरको बजेट आउने बताइएको छ। यसअघि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ तोकेपछि एमाले जनप्रतिनिधिहरूले विरोध सुरु गरेका थिए।
प्रकाशित: २१ भाद्र २०८२ १९:१७ शनिबार





