१८ श्रावण २०८३ सोमबार
image/svg+xml
अर्थ

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो।

भन्सार कार्यालयको तथ्याङ्क अनुसार आव २०८२/०८३ मा रु तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो भने आव २०८१/०८२ मा रु चार अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो।

परिमाण घटेसँगै निर्यातबाट हुने आम्दानीबाट रु ६३ करोड ९६ लाख ८९ हजारको गिरावट आएको छ। प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार यस नाका हुँदै निर्यात हुने वस्तुमा अलैँचीपछि चिया दोस्रो स्थानमा पर्ने गरेको छ।  

नेपाली चियाको मुख्य बजार भारत रहेकाले भारतीय बजारमा आउने मूल्य उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैर–भन्सार अवरोध र अन्तर्राष्ट्रिय बजारको माग अनुसार उत्पादन तथा मूल्य निर्धारणमा आउने परिवर्तनका कारण निर्यात प्रभावित भएको उनले बताए।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको ठूलो हिस्सा पूर्वी नाका काँकडभिट्टा हुँदै भारतीय बजारमा पुग्ने गर्दछ। निर्यातमा आएको यो गिरावटले चिया उत्पादक किसान, उद्योगी र समग्र वैदेशिक व्यापार घाटामा समेत असर पार्ने देखिन्छ।

प्रकाशित: १८ श्रावण २०८३ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App