१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

डेरी उद्योगले किसानको दुध उठाउन थाले

चितवनको रत्ननगर नगरपालिका १६ का युवराज थापा दुग्ध किसान हुन्। केही दिनयता आन्दोलनका कारण बिहान–बेलुकी दुहुने दुध बजारसम्म नपुग्दा थापाको मन भारी थियो। अहिले डेरी उद्योगहरूले दुध संकलन गर्न सुरु गरेपछि उनको दैनिक जीवन सहज बन्दै गएको छ।

‘नजिकैको भद्रकाली दुग्ध सहकारीमा दैनिक ७० लिटर दुध बिक्री गर्दछु। जेएन–जी आन्दोलनका कारण एक दुई दिन संकलन नै हुन सकेन’, अन्योलताबाट गुज्रिएका थापाले भने ‘शनिबारबाट भने ‘सहकारीले दुध संकलन गर्न थालेको छ।’

सहकारीमा दुई दिन अगाडि संकलन भएको दुध डेरी उद्योगले शनिबार बिहानबाट उठाएर लान थालेको उनले बताए। सहकारीका अध्यक्ष समेत रहेका थापाका अनुसार यस सहकारीमा दैनिक तीन हजार लिटर दुध संकलन हुन्छ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर बगाले देशभर भएको जेएन–जी आन्दोलनका प्रभावित भएको दुग्ध व्यवसाय विस्तारै लयमा फर्किन थालेको बताए।

‘आन्दोलनको असर बजारमा अझै छ । पूर्ण रूपमा दुःध बिक्री त हुन सकेको छैन’, उनले भने ‘शनिबारदेखि केही डेरी उद्योगले दुध लैजान थालेका छन्।’ उनका अनुसार चितवनमा डेरी उद्योगले भदौ २४ गतेदेखि दुध उठाएका थिएनन्।

बजार नखुलेको बहाना बनाएर डेरी उद्योगले किसानको दुध खरिद नगरेको उनको आरोप छ। ‘आन्दोलनका कारण असर पर्नु त स्वभाविक हो। चितवनका अधिकांश सहकारीले किसानबाट नै तीन छाक दुध खरिद गरेनन्’, उनले भने ‘सहकारीलाई दुध फाल्नुपर्ने अवस्थामा चाँही रहेन।’

सहज रूपमा दुधले बजार नपाउँदा अझै समस्या भने रहेको उनको भनाइ छ। उनका अनुसार दुध नउठ्दा चितवनका किसानलाई दैनिक एक करोड ५० लाख रुपैयाँ घाटा लाग्छ।

चितवनका किसानले सरदर प्रतिलिटर ६५ रुपैयाँमा डेरी उद्योगलाई दुध बिक्री गर्ने गर्दछन्। बजारमा भने प्रतिलिटर सय रुपैयाँ हाराहारीमा बिक्री हुँदै आएको छ। दुध बिक्री भए पनि चितवनका किसानले फागुन महिना यता दुधको मुल्य पाएका छैनन्। बगालेका अनुसार दुग्ध विकास संस्थानले फागुन महिनादेखि दुधको पैसा दिएको छैन भने निजी डेरीको असार महिनादेखिको बाँकी छ। उनका अनुसार चितवनका किसानको दुधको रकम डेरी उद्योगले ४२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

चितवनबाट दैनिक एक लाख ७४ हजार आठ सय लिटर दुध निर्यात हुने गरेको छ। पशु सेवा कार्यालय चितवनका अनुसार, जिल्लामा उत्पादित दुधको ५५ प्रतिशत बाहिरी जिल्ला जाने गरेको छ।

जिल्लामा तीन लाख १७ हजार ८२३ लिटर दुध दैनिक उत्पादन हुने गरेको छ। यहाँबाट काठमाडौं, बुटवल, पोखरा, हेटौंडा लगायतका ठाउँमा दुध जाने गरेको छ। चितवनलाई तीन वर्षअघि दुधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो।

वार्षिक प्रतिव्यक्ति ९१ लिटर दुध आवश्यक पर्ने भए पनि जिल्लामा प्रति व्यक्ति १७६ लिटर उपलब्ध रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। जिल्लामा गाई र भैंसी गरी एक लाख ६५ हजार आठ सय ३० वटा रहेका छन्। ९२ हजार नौ सय ९७ गाई र ७२ हजार आठ सय ३३  भैंसी रहेका छन्। चितवन दुधमा अत्मनिर्भर बनाउन सरकारले अनुदानमा प्राथमिकता दिँदै आएको थियो।

प्रकाशित: २९ भाद्र २०८२ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App