२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

किसानका दुखः दुग्ध विकास बोर्डले एक अर्ब र निजी क्षेत्रले तीन अर्ब भुक्तानी दिन बाँकी

दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औं सञ्चालक समिति बैंठकले दूधको भुक्तानी नपाएमा आउँदाे भदौ ४ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानलाई समेत भुक्तानी गर्न नसकिएको जनाउँदै आन्दोलन गर्ने चेतवनी दिएका हुन्। सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले भदौ ४ गते जिल्ला सहकारी सङ्घका अध्यक्षहरूको भेला आयोजना गर्ने र सोही भेलाले थप निर्णय लिने बताए।

उनले भने, “दुग्ध उत्पादक किसान सम्मानित हुन चाहन्छौं। अपमानित होइन। यसका लागि आन्दोलनमा जाने निर्णय गरेका हौं।”

अहिले देशभरका दुग्ध उत्पादकले सरकारी र निजी क्षेत्रबाट गरी चार अर्ब बढी भुक्तानी पाउन बाँकी रहेको उनले बताए। पटकपटक वार्ता र छलफल गर्दासमेत भुक्तानी पाउने सम्भावना नदेखेपछि आन्दोलनमा जुट्नुपरेको उनले बताए।

उनका अनुसार दुग्ध विकास बोर्डको एक अर्ब र निजी क्षेत्रबाट तीन अर्ब रूपैयाँ भुक्तानी पाउनुपर्ने छ। सरकारसँग भएको वार्तापछिको ११ बुँदे सहमति कार्यान्वयनमा नआएको भन्दै सङ्घले आन्दोलनको तयारी गरेको हो।

बैठकपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्घले दुग्ध उत्पादक किसानको रकम तिर्ने र नतिर्ने उद्योगको वर्गीकरण गरेर सार्वजनिक गर्नेसम्मका कार्यक्रम गरिने सङ्घका महासचिव राम आचार्यले बताए।

उनले भने, “कतिपय उद्योगले भुक्तानी गरिरहेका छन्। त्यस्ता उद्योग र भुक्तानी नगर्ने उद्योगको वर्गीकरण गरेर भुक्तानी पाउनुपर्ने रकमसहित सार्वजनिक गर्छौं।”

पटक–पटकका छलफलबाट निकास नआएको भन्दै उनले एक सातासम्म भुक्तानी बाँकी भएका उद्योगलाई भुक्तानी गर्नसमेत आग्रह गरे।

उनले थपे “हामी भुक्तानी बाँकी रहेका उद्योगलाई भुक्तानीका लागि पत्राचार गरेर ४ गते सम्मको समय दिन्छाैं। त्यतिबेलासम्म पनि नभए आन्दोलनमा जान्छौं।”

सङ्घका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दूध बेचेर घरगृहस्थी सञ्चालन गर्ने किसानलाई उद्योगीले अपहेलना गरेकाले आन्दोलनमा जाने तयारी गरिएको बताए।

उनका अनुसार दुग्ध विकास बोर्ड र निजी उद्योगले सामान बिक्री भएपछि भुक्तानी दिने भनेर बताए पनि लामो समयदेखिको भुक्तानी बाँकी रहेको बताए। उनले भने, “यसपालिको आन्दोलनबाट किसानले न्याय पाउने छन्।”

दुग्ध विकास बोर्डले गत माघ महिनादेखिको भुक्तानी दिन बाँकी रहेको छ भने निजी क्षेत्रको मङ्सिरदेखिको भुक्तानी दिन बाँकी छ।

सङ्घका सचिव थानेश्वर सापकोटाले विभिन्न बाहनामा किसानको दूधको भुक्तानी उद्योगीले नदिएको भन्दै आक्रोश व्यक्त गरे। यही अवस्था रहे दुग्ध उत्पादक किसान समस्या मापर्ने भन्दै सरोकारवालाले समस्या समाधानमा चासो दिनुपर्ने बताए। सरकार र निजी क्षेत्र उदासीन बन्दा दुग्ध उत्पादक किसान समस्यामा रहेको उनको भनाइ छ।

देशभर ६४ जिल्लामा दूध उत्पादन हुँदै आएको छ। ३६ जिल्लामा जिल्ला दुग्ध उत्पादक सहकारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। ती जिल्लाबाट दैनिक ७० लाख लिटर दूध उत्पादन हुँदै आएको छ। एक हजार आठ सय ७२ दुग्ध उत्पादक सहकारीले दैनिक १३ लाख लिटर दूध उत्पादन गर्दै आएको सो अवसरमा जानकारी दिइयो। ती सहकारीमा ६ लाख परिवार आवद्ध रहेको जानकारी दिंदै सङ्घले ३० लाखभन्दा बढी किसान दूध उत्पादनमा जोडिएको सङ्घका महासचिव आचार्यले बताए।  

प्रकाशित: २९ श्रावण २०८२ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App