१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अर्थ

चितवनका दुग्ध उत्पादक किसानले अझै पाएनन् भुक्तानी

जिल्लाका दुग्ध उत्पादक किसानले रु ५५ करोड भुक्तानी पाउन सकेका छैनन्। दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरूले सो रकम पाउन नसकेका हुन्।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुस महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले तीन महिनादेखिको भुक्तानी गरेका छैनन्। उनका अनुसार जिल्लाबाट दूध लैजाने उद्योगमध्ये २५ प्रतिशतले नियमित भुक्तानी गर्ने गरेको भए पनि अन्यले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्।

जिल्लामा दैनिक ३५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। यहाँका ११५ वटा दुग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू भुक्तानीमा समस्या देखिएपछि पुनः निरास बन्न थालेको उनले बताए। सङ्घले भुक्तानीमा समस्या देखिएसँगै आफ्नो उत्पादनलाई बजारीकरण गर्न तीन स्थानमा डेरी मार्ट सञ्चालनमा ल्याएको छ। भरतपुर महानगरपालिका–१० को दूरसञ्चार रोड, चितवन मेडिकल कलेज पछाडि र वडा नम्बर ३ को बेलचोकमा मार्ट सञ्चालनमा ल्याएको हो। 

सङ्घको रत्ननगरमा रहेको आफ्नै डेरी उद्योगबाट उत्पादित दुग्धजन्य वस्तुहरू मार्टमार्फत सेवाग्राहीमाझ पुर्याउने काम गर्दै आएको उनले बताए। मार्टमा दूध, घ्यू, पनिर, नौनी, खुवा, मोहीलगायतका सामग्री बिक्री वितरण गर्दै आएको उनले जानकारी दिए। रासस

प्रकाशित: २८ वैशाख २०८३ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App