१ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

दैलेखको ग्यास बहुउपयोगी: मल कारखानामा प्रयोग पहिलो प्राथमिकता

दैलेखमा फेलापरेको प्राकृतिक ग्यासलाई बहुउपयोगी भएको अध्ययनले देखाएको छ। चिनियाँ विज्ञहरुले गरेको अन्वेषणमा दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा प्राकृतिक ग्यास मिथेन फेलापरेको छ।

सरकारी अध्ययन कार्यदलले ग्यासलाई बहुउपयोगी ऊर्जाका रुपमा प्रयोग गर्न सकिने सुझावसहितको प्रतिवेदन तयार गरेको छ। दैलेखको ग्यासलाई विद्युत् उत्पादन, मल (युरिया) उत्पादन, खाना पकाउन र यातायात क्षेत्रमा प्रयोग गर्न सकिने अध्ययन कार्यदलका संयोजक विनितमणि उपाध्यायले बताए। ‘दैलेखमा फेलापरेको प्राकृतिक ग्यासलाई ऊर्जाको रुपमा बहुप्रयोग गर्न सकिन्छ,’ उपाध्यायले भने, ‘त्यसका लागि थप लगानी र अन्वेषण आवश्यक छ।’

दैलेखको प्राकृतिक ग्यासको व्यावसायिक उपयोगसम्बन्धी प्रारम्भिक अध्ययन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो। समितिमा जिओलोजिस्ट धर्मराज खड्का, केमिकल इन्जिनियर मनिस कर्ण र केमिकल इन्जिनियर दिप्ती पौडेल सदस्य थिए।

विनितमणि उपाध्याय, संयोजक, अध्ययन कार्यदल

अहिलेसम्म प्रारम्भिक अध्ययन भएकाले विस्तृत आर्थिक प्राविधिक अध्ययन, इन्जिनियरिङ सर्भे तथा डिजाइन र वातावरणीय मूल्यांकन गर्नुपर्ने राय समितिले दिएको छ। अहिले नेपालमा प्रयोग हुने ग्यास भारतबाट ल्याइन्छ। नेपालमा रासायनिक मल कारखाना सञ्चालन गर्ने चर्चा भए पनि कार्यान्वयनमा आउन सकेको छैन। समितिले उक्त ग्यासलाई रासायनिक मल कारखानामा प्रयोगमा ल्याउन पहिलो प्राथमिकतासहित सुझाएको छ।

प्राकृतिक ग्यासबाट युरिया उत्पादन गर्न आर्थिक र प्राविधिक हिसाबले उपयुक्त हुने उपाध्यायले बताए। ‘मुलुकमा हालसम्म कुनै रासायनिक मल उद्योग छैन’, उनले भने, ‘यो ग्यासलाई प्रयोग गरेर रसायनिक मल उद्योग निर्माणतर्फ ध्यान दिनुपर्छ।’

करिब २२ सय मेट्रिक टन उत्पादन क्षमताको मल कारखाना संचालन गर्नुपर्ने कार्यदलको सुझाव छ। प्रतिदिन ३५ सय मेट्रिक टन क्षमतामा मल उत्पादन गर्न सके आर्थिक हिसाबले अझ छिटो प्रतिफल प्राप्त गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।

प्रतिदिन करिब २२ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योग सञ्चालनका लागि वार्षिक चार सय १० देखि चार सय ५२ मिलियन घनमिटर ग्यास र दैनिक एक हजार ६९ देखि ११ सय २२ मेट्रिक टन नाइट्रोजन ग्यास आवश्यक पर्ने देखिन्छ। यसका लागि २५ देखि ३० मेगावाट बिजुली आवश्यक पर्ने देखिन्छ। उक्त उद्योगका लागि आवश्यक पर्ने बिजुली उपलब्ध गराउन सोही क्षेत्रमै ग्यासमै आधारित पावर प्लान्टको निर्माण आवश्यक देखिएको छ।

दैलेखमा एक सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक अध्ययनमा देखिए पनि त्यसको थप उत्खनन र व्यावसायिक उत्पादन कसरी गर्ने भन्नेमा अलमल भएका बेला अध्ययन समितिले सरकारलाई सुझाव दिएको छ। चिनियाँ विज्ञको टोलीले गरेको अन्वेषणमा दैलेखको जलजलेमा ५० वर्षलाई पुग्ने प्राकृतिक ग्यास रहेको देखिएको छ।

पेट्रोलियम पदार्थ भएको अनुमानका आधारमा खानी तथा भूगर्भ विभागको समन्वयमा चिनियाँ विज्ञको टोलीले अध्ययन गरेको थियो। दैलेखमा भेटिएको ग्यासका थप अध्ययन, अनुसन्धान, उत्खनन र व्यवसायीकरण गर्न सरकारले कुनै निकायलाई अहिलेसम्म जिम्मेवारी दिएको छैन। नेपालले ग्यास विदेशबाट आयात गरेर प्रयोग गरिरहेको अवस्थामा स्वदेशमै ठुलो परिमाणमा ग्यास रहेको पुष्टि भएकाले यसको उपयोग गर्नुपर्ने आवाज उठ्दै आएको छ।

प्रारम्भिक अध्ययन गर्न आयल निगमलाई जिम्मेवारी दिए पनि सरकारले कुन निकायले अध्ययन र उत्पादनका लागि नेतृत्व गर्ने भन्ने टुंगो लगाएको छैन। इन्धनको कारोबार गर्न स्थापना भएको सरकारी स्वामित्वको नेपाल आयल निगमको विज्ञतालाई उपयोग गर्नुपर्ने विज्ञको सुझाव छ।

नेपालमा आवश्यक इन्धन नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट आयात गर्छ। सरकारले जिम्मेवारी दिए जिम्मेवारी लिन तयार रहेको निगमले जनाएको छ। ग्यास भेटिएकाले जिम्मेवारी दिए सदुपयोग गर्न तयार रहेको निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बताए। ‘निगमसँग इन्धन कारोबारको विज्ञता रहेकाले दैलेखको ग्यास प्रयोग गर्न सरकारले जिम्मेवारी दिए तयार छौं,’ उनले भने।

दैलेखमा करिब चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गरेर ग्यासको अध्ययन गरिएको थियो। एक ठाउँमा एक सय १२ अर्ब घनमिटर रहेको र अन्य तीन वटा भण्डारण पनि रहेको अध्ययनले देखाएको छ।

२०७२ सालमा भारतले नाकाबन्दी लगाउँदा पेट्रोलियम पदार्थको विकल्पबारे छलफल सुरु भएको थियो। त्यसपछि सरकारले चीनलाई पेट्रोलियम पदार्थ र ग्यासको अध्ययन गर्न अनुरोध गरेको थियो। विज्ञसहितको चिनियाँ टोलीले २०७६ देखि अन्वेषण सुरु गरेको थियो। प्राकृतिक मिथेन ग्यास उत्खनन र व्यावसायीकरणको जिम्मेवारी लिन नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले पनि नेतृत्वको ध्यानाकर्षण गराइसकेको छ।

प्रकाशित: २० कार्तिक २०८२ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App