सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको जनाएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ७४ लाख रूपैयाँ खुद नाफा कमाएको जानकारी दिइएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले तीन करोड ८० लाख रूपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा उल्लेख्य मात्रामा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.३० प्रतिशत बढेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी १६.१५ प्रतिशत घटेको छ।
त्यस्तै लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २९.४८ प्रतिशत र सञ्चालन मुनाफा २५०.५३ प्रतिशत बढेको जानकारी दिइएको छ। यसैगरी समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा दुई करोड ९७ लाख रूपैयाँबाट बढेर नौ करोड १० लाख रूपैयाँ पुगेको बताइएको छ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य मात्रामा बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २९ रूपैयाँ ८० पैसा बढेर ४४ रूपैयाँ नौ पैसा पुगेको छ।
असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी ३४ रूपैयाँ १७ पैसा, प्रतिसेयर नेटवर्थ २७७ रूपयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात ४०.२८ गुणा रहेको छ। प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७६ रूपैयाँ ८४ पैसा छ।
२६ करोड ६४ लाख रूपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४७ करोड २० लाख रूपैयाँ सञ्चित छ। पछिल्लो एक वर्षमा लघुवित्तको निक्षेप तथा सापटी १०.४९ प्रतिशत र कर्जा ४.९६ प्रतिशत बढेको छ। यसले गर्दा लघुवित्तको वित्तीय सञ्चालकहरू समग्र अवस्था सन्तोषजनक रहेको जानकारी सिवाइसी लघुवित्तले दिएको छ।
प्रकाशित: १९ श्रावण २०८२ ०८:२६ सोमबार





