बागलुङका सहकारी पीडितहरु पुनःआन्दोलित भएका छन् । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका देवुकमार नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा रकमजम्मा गरी फिर्ता नपाएका पीडितहरु आन्दोलित भएकाहुन् । इमेज पीडित संघर्ष समितिको आह्वानमा उनीहरुले आईतबार बागलुङ बजारमा नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
इमेज सहकारी पीडित र देवकुमार नेपालीबीच बचत फिर्ता गर्ने सहमति भए पनि सहकारी माफिया र लुटेरा प्रवेश गरी बचतकर्तालाई दुःख दिने काम भएकोले उनीहरुको भण्डफोर गर्न आन्दोलित भएको इमेज पीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए ।
‘देवकुमार नेपालीले आफ्नो चलअचल सम्पत्तिबाट बचतकर्ताको रकमफिर्ता गर्छु भनेका थिए,’ कार्कीले भने, ‘त्यत्रो घर जग्गा कसै न कसैले त लिनपर्यो भन्ने कुरा भयो । त्यही बेलामा बैंकले लिलामको सूचना निकाल्यो । रायडाँडाका रामबहादुर केसी र उनकी श्रीमती गोमादेवी केसीले अर्को एक आफन्तसँग मिलेर लिलाम सकार्ने र बचतकर्ताको पैसा आफुहरुले फिर्ता गर्नेगरी हामीको समेत उपस्थितिमा देवकुमारसँग कागज गरेका थिए । अहिले बचतकर्तालाई रकमफिर्ता गर्ने बेलामा भागेर अमेरिका पुगेका छन् । त्यसविरुद्ध हामी आन्दोलित भएका छौं ।’
झण्डै ७० करोडको सम्पत्ति २२ करोडमा सकारेर बाँकी रकम पीडितलाई फिर्ता दिने गरी सम्झौताको कागज गरे पनि अहिले रकम नदिई दुःख दिएको उनको आरोप छ ।
‘रामबहादुर केसी र गोमा केसीले बैंकको लिलामी सकारेपछि बाँकी सम्पत्तिको मूल्य बराबर पीडितलाई फिर्ता गर्ने कागज छ,’ उनी भन्छन्,‘७० करोडको सम्पत्ति उनीहरुले २२/२३ करोडमा लिएका छन् । उनीहरुले रकम फिर्ता गर्ने आशमा हामीले कोरा कागजमा हस्ताक्षर गरेर मिलापत्र गर्न सुरु गर्यौं । अहिलेसम्म ९३ प्रतिशतले मिलापत्र गरिसक्दा रकम दिनुपर्ने मान्छे भागेर अमेरिका गयो ।’
बागलुङमा एक हजार ५ सय ७४ जना पीडितले उजुरी गरेकोमा एक हजार चार सय ६९ जनाले मिलापत्र गरिसकेको तर रकम फिर्ता नपाएको उनले बताए ।
सहकारी पीडित बचतकर्ताको रकमफिर्ता गर, सहकारी लुटेरा मुर्दावाद, सहकारी माफियामुर्दावाद, सहकारीको सम्पत्तीखाने माफियाहरु होसियार, घुसखोरी कर्मचारी मुर्दावादलगायतका नारा लगाउँदै उनीहरुले बागलुङ बजारको परिक्रमा गरेका थिए ।
प्रकाशित: ३० कार्तिक २०८२ १७:२४ आइतबार





