७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

पर्यटनमा सहकार्य: गण्डकी र कोशीबीच सम्झौतामा हस्ताक्षर

तस्बिर: सन्देश श्रेष्ठ/नागरिक

गण्डकी प्रदेश र कोशी प्रदेशबीच पर्यटनमा सहकार्य गर्ने समझदारी भएको छ ।  

पर्यटनको राजधानी पोखरामा सोमबार दुई प्रदेशबीच पर्यटनमा सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका निमित्त सचिव टीकाराम पौडेल र कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.ईन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार दुई प्रदेशबीच पर्यटन विकास, प्रवद्र्दन, पूर्वाधार, पहुँच बिस्तार, मानव संसाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउन सहकार्य गरिनेछ ।

सम्झौतापत्रमा दुबै प्रदेशका सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरी अन्तर–प्रदेश भ्रमण कार्यक्रम सञ्चालन गर्न सरकारी तहमा ईन्सेन्टिभ प्याकेज र नीजि तथा व्यवसायीक तहमा सुलभ प्याकेजका लागि पहल गर्ने उल्लेख छ । दुई प्रदेशबीच पर्यटन प्रवद्र्दनका लागि पोखरा–विराटनगर सिधा हवाई सेवा तथा पर्यटकीय बस सेवा सञ्चालनका लागि पहल गर्ने, पर्यटन विकास र प्रवर्द्धनका लागि भएका असल अभ्यास आदानप्रदान गर्नेलगायतमा पनि समझदारी भएको छ । 

त्यस्तै, पर्यटन प्रवद्र्दनका लागि समन्वय र सहकार्य गर्ने, हवाई भाडा सम्बन्धी विषयमा पनि आपसी सहकार्य र पहल गर्ने, संयुक्त पर्यटन दूत बनाउने पनि दुई प्रदेशबीच समझदारी भएको छ ।  

दुबै प्रदेशले धार्मिक पर्यटन सर्किट विकास तथा प्रवद्र्दन गर्न आपसी समन्वय र सहकार्य गर्ने प्रतिबद्दता जनाएका छन् । जस अनुसार प्रथम चरणमा गण्डकी प्रदेशका मनकामना, मुक्तिनाथ र दामोदर कुण्ड तथा कोशी प्रदेशका पाथीभरा, बराहक्षेत्र र हलेसी लगायतका धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्न पहलकदमी लिने सम्झौता पत्रमा उल्लेख छ ।  

गण्डकी र कोशी प्रदेशबीच अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने, दुवै प्रदेशका होमस्टेहरुबीच भगिनी सम्बन्ध स्थापना गर्न पहल गर्ने पनि सम्झौता भएको छ । 

तस्बिर: सन्देश श्रेष्ठ/नागरिक

सम्झौता कार्यान्वयनका लागि गण्डकी–कोशी पर्यटन प्रवद्र्दन समन्वय समिति गठन गर्ने समझदारी भएको छ । पर्यटन मन्त्री संयोजक र मन्त्रालयका सचिव सदस्य सचिव रहने सो समितिको संयोजक र सदस्य सचिव आलोपालो रहनेजनाइएको छ । भने सदस्यहरुमा पोखरा पर्यटन परिषदका अध्यक्ष, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशक समितिका सह–संयोकहरु २ जना तथा पत्रकार महासंघ गण्डकी र कोशी प्रदेशका अध्यक्ष सदस्य रहने छन् ।  

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले दुबै प्रदेश पर्यटनको अथाह सम्भावना भएको क्षेत्र भएकाले आपसमा सहकार्य गरि लाभ लिने सकिने बताए । उनले भने,‘कुनै एक प्रदेशमा आएका पर्यटक अर्को प्रदेशमा लैजान यो सम्झौता कोशेढुंगा सावित हुने विश्वास लिएका छौं ।’  

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले पर्यटनमा सहकार्य गर्न सके दुबै प्रदेश लाभान्वित हुने बताए । त्यसका लागि आफुहरु लागि परेको उनको भनाई थियो ।

प्रकाशित: २८ पुस २०८२ १८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App