अधिकतम खुद्रा मूल्य (एमआरपी) विवादले विराटनगर भन्सार कार्यालयमा भारत तथा तेस्रो मुलुकबाट आएका ट्रक तथा कन्टेनर रोकिएका छन् । विराटनगर भन्सार कार्यालयका अनुसार बाणिज्य विभागबाट आएको कार्ययोजना अनुसार एमआरपी नभएका मालसामान बोकेका कन्टेनर भन्सारले जाँच पास नगरी रोकेको हो ।
विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार मंगलबार देखि आयातीत बस्तुमा एमआरपी अनिवार्य राखिएको हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको हो । मंगलबार र बुधबार गरी ६० वटा कन्टेनर विराटनगर भन्सार कार्यालयका रोकिएको प्रमुख श्रेष्ठले जानकारी दिए । उनले कन्टेनर रोकिएको विषयमा भन्सार विभागलाई जानकारी गराईसकिएको भए पनि हालसम्म समाधानका लागि कुनै निर्देशन आएको छैन । विभागले समाधान ननिकालेसम्म भन्सारमा रोकिएका कन्टेनरहरू छाड्न नमिल्ने श्रेष्ठले स्पष्ट पारे । विराटनगर भन्सारबाट औद्योगिक कच्चा पदार्थ र तरकारी बोकेका ट्रक तथा कन्टेनरहरू भने नियमित रुपमा जाँचपास भइरहेको श्रेष्ठले बताए । एमआरपी नलगाएका सामानको भन्सार जाँच हुन सकेको छैन । रोकिएका सामान झ्यालका ढोका, साइकलका सामान, छाता, तयारी पोसाकलगायतका वस्तु रहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । श्रेष्ठका अनुसार विराटनगर भन्सारमा मात्रै नभई देशैभरका भन्सार कार्यालयमा एमआरपी उल्लेख नभएका बस्तु बोकेर आएका ट्रक तथा कन्टेनर रोकिएका छन् । व्यवसायीहरूले भने सबै प्रकारका सामग्रीमा एमआरपीको लेबल लगाएर आयात गर्न असम्भव भएकाले एमआरपी अनिवार्य गर्ने सरकारको निर्णय व्यवहारिक नभएको बताएका छन् । व्यवसायीहरूले आयातित बस्तुमा एमआरपी अनिवार्य गर्ने निर्णय सच्याउन सरकारसँग माग पनि गरेका छन् ।
प्रकाशित: १६ वैशाख २०८३ २०:०३ बुधबार





