विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ।
देशभरका झण्डै ९९ दशमलव एक प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ। सहरी क्षेत्रमा विद्युत् खपत क्रमशः बढ्दै गएको छ।
सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग बढ्दै जाँदा खाना पकाउने ग्यासको खपत क्रमशः घट्दै गएको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आवको फागुन मसान्तसम्म पेट्रोल र डिजेलको खपत गत आवको सोही अवधिको तुलनामा क्रमशः १० प्रतिशत र नौ दशमलव नौ प्रतिशतले घटेको छ।
विद्युतीय खपत बढ्दै जाँदा पेट्रोलियम पदार्थको आयात घट्दै जाने देखिन्छ।
यस्तै, आर्थिक सर्वेक्षणअनुसार कर्णाली प्रदेशका केही गाउँपालिका र सुदूरपश्चिम प्रदेशको केही गाउँपालिकाबाहेक अन्य स्थानमा विद्युतीय पहुँच पुगेको छ।
विद्युतीय पहुँच पुगेको स्थानमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनुपर्ने चुनौती कायमै छ। त्यसका लागि सरकारले प्रयास गरिरहेको छ।
एकाध वर्षभित्रै शतप्रतिशत घरधुरीमा विद्युत् सेवा पुर्याउने र थप गुणस्तरीय बनाउने सरकारको प्रयासलाई सरोकारवाला निकायले पनि साथ र सहयोग प्रदान गरेका छन्।
गत फागुन मसान्तसम्म मुलुकको कूल विद्युत् जडित क्षमता चार हजार १०५ मेगावाट बराबर पुगेको छ। त्यसमा जलविद्युत्को जडित क्षमता तीन हजार ७९८ मेगावाट बराबर छ। चालु आवमा भारततर्फ दुई हजार ९१८ गिगावाट घण्टा बराबरको विद्युत् निर्यात भएको छ।
त्यस्तै, आधारभूत खानेपानीको पहुँच ९७ प्रतिशत जनसङ्ख्यामा पुगेको भएपनि सुरक्षित खानेपानीको पहुँच २९ प्रतिशतमा मात्रै सीमित रहेको छ।
स्वास्थ्य बिमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार भएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक सूचीकृत भएका छन्।
त्यसमध्ये वैदेशिक रोजगारीमा जानेको हिस्सा ७५ दशमलव नौ प्रतिशत बराबर छ।
प्रकाशित: १३ जेष्ठ २०८३ १५:०४ बुधबार





