क्रिसमस र अंग्रेजी नयाँवर्षको आगमनसँगै पोखराको पर्यटन क्षेत्रमा चहलपहल बढ्न थालेको पर्यटन व्यावसायीले बताएका छन्। क्रिसमस आगमनसँगै आन्तरिक तथा केही भारतीय पाहुनाको आगमन बढ्न थालेको छ भने पोखराका होटल र रेस्टुरेन्टलाई सजावट गराएर चिटिक्क पारिएको छ।
व्यावसायीका अनुसार क्रिसमस इभमा रमाउने भनेर आन्तरिक पाहुना पोखरा आएका छन। त्यसबाहेक अंग्रेजी नयाँवर्षका लागि पोखरा आउने पाहुनाले पनि चाँसो देखाउँदै बुकिङ गर्न थालेका छन। व्यावसायीका अनुसार पछिल्लो समय पोखरासम्मको पहुँच सहज भएकोले पनि पाहुनाको आगमनमा सहजता थपेको छ। त्यसबाहेक सार्वजनिक बिदाले पनि पाहुना तानेको उनीहरुको भनाई छ।
‘खासमा क्रिसमसमा तेश्रो मुलुकका विदेशी पाहुना त स्वदेश फर्किन्छन। तर, स्वदेशी पाहुना भने घुमघामका लागि आउँछन। पोखराभित्रैका पाहुना पनि बेलुकीको समयमा लेकसाइड आउने हुँदा पर्यटन क्षेत्रमा केही चहलपहल थपिन्छ,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘पर्यटनको मुख्य सिजन सकिएसँगै सुस्ताएको पर्यटन क्षेत्रमा अबका केही दिन चहलपहल बढ्ने संकेत देखिएको छ।’
व्यावसायीका अनुसार क्रिसमस सकिनासाथ केहीदिनपनि पोखरामा हुने सडक महोत्सवमा आन्तरिक पाहुनाको आगमन बढ्ने गर्छ। अंग्रेजी नयाँवर्षका लागि भनेर पोखरा आउने आन्तरिक पाहुनाको आकार निकै नै बढी हुने गर्छ। जसले गर्दा पर्यटन क्षेत्रमा रौनकता थपिने उनले बताए।
‘क्रिसमससँगै रौनकता बढ्दै जान्छ। अंग्रेजी नयाँवर्षको आसपासको समयमा त पोखरामा भीडभाड नै हुन्छ। नयाँवर्ष सुरु भएको केहीनिदन पछि बल्ल पर्यटन क्षेत्रसुस्ताउने गर्छ। अबको दशदिनजति पोखरा र आसपासको पर्यटन क्षेत्रमा रमझम थपिन्छ,’ पराजुलीले भने, ‘क्रिसमस भन्दा पनि अंग्रेजी नयाँवर्षमा त झनै भीडभाड बढ्छ।’
उनका अनुसार अहिले पोखराका होटलको अकुपेन्सी करिब ४० प्रतिशत छ। अकुपेन्सीको यो आकार अबका दिन अझै बढ्ने उनले बताए। ‘यो बेला तेश्रो मुलुकका विदेशी पाहुना कम छन। तर, आन्तरिक र भारतीय पाहुना भने पोखरामा आएका छन। यो बेला भारतीय पाहुनाको आगमन पहिलापहिला केही कम हुन्थ्यो। तर, अहिले भारतीयको पनि चहलपहल बढेको छ,’ उनले भने। होटल, रेस्टुरेन्ट देखि लेकसाइड सजाएपछि झकिझकाउ भएको पनि उनले बताए।
होटल ल्याण्डमार्कका संचालक ओमप्रकाश पाण्डे पनि पछिल्लो सातादेखि पाहुना आगमन बढ्दै गएको बताउँछन। उनका अनुसार पोखरा मात्र नभई चितवनको सौराहाका होटलमा पनि यतिबेला पाहुना आगमन सन्तोषजनक रहेको छ। पाण्डेको सौराहामा पनि ल्याण्डमार्क होटल रहेको छ। ‘हुन त यो बिदेशीको समय होईन। तरपनि पर्यटकीय क्षेत्रमा हुने विभिन्न गतिविधिले पनि पाहुनालाई आकर्षण गरेको छ,’ उनले भने, ‘भारतीय र आन्तरिक पाहुनाको आगमनले पर्यटनलाई आर्थिक रुपमा केही साथ दिलाएको छ। पाहुनाको चहलपहल थपिएसँगै पर्यटकीय गन्तव्यहरुमा रमझम देखिएको छ।’ चितवनमा हात्ती महोत्सव र पोखरामा हुने सडक महोत्सवले पाहुना आकर्षण गर्ने उनले बताए।
होटल बाराहीका महाप्रबन्धक राजकुमार केसीका अनुसार लेकसाइडका ठुला होटलले क्रिसमसका लागि होटलमा बसेका र बाहिरी पाहुनाका लागि भिन्दाभिन्दै कार्यक्रम गर्नेगर्छन। ‘होटलमा बसेका पाहुना लक्षित कार्यक्रम पनि यो बेला हुन्छन। नयाँवर्षका लागि त झनै व्यापक तयारी हुने गर्छ। क्रिसमसमा भन्दा नयाँवर्षको कार्यक्रम बढी मनोरम हुन्छ,’ केसीले भने, ‘त्यो बेला विभिन्न सहरबाट आन्तरिक पाहुना पनि पर्याप्त आउँछन। क्रिसमसमा भने तेश्रो मुलुकका विदेशी पाहुना कमै हुन्छन्।’
उनका अनुसार अहिले भारतीय तथा आन्तरिक पाहुनाको चहलपहल लेकसाइडमा छ। त्यसबाहेक नेपालमै विभिन्न कुटनीतिक क्षेत्रमा कार्यरत तेश्रो मुलुका विदेशी पाहुना पनि पोखराको रमझममा रमाउनका लागि लेकसाइड आउने गरेको उनले बताए। नयाँवर्षमा भने त्यही बेला सडक महोत्सव पर्ने भएकोले पनि आन्तरिक पाहुनाको घुँइचो लाग्ने उनले बताए।
पोखराभित्रैका र आसपासबाट पनि पाहुना नयाँवर्षमा र क्रिसमसमा रमाउनका लागि लेकसाइड झर्ने भएकोले यतिबेला चहलपहल बढ्ने र रौनकता थपिने उनले सुनाए। लेकसाइडका रेस्टुरेन्टहरुमा यहीबेला पारेर गरिने विभिन्न मनोरञ्जनात्मक गतिविधिले पनि पर्यटन क्षेत्रमा थप रौनकता थप्ने उनले बताए।
पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष गोपि भट्टराईका अनुसार यो बेला भारतीय र आन्तरिक पाहुनाको चहलपहल बढी छ। ‘योपटक भने भारतीय पाहुनाको आगमन उत्साहजनक रहेको छ। आन्तरिक पाहुना त आएकै थिए। तर, क्रिसमसको फेरो पारेर आउने भारतीयले पनि चहलपहल थपेका छन,’ उनले भने, ‘लेकसाइडका होटल र रेस्टुरेन्टले पाहुना पाएका छन। पर्यटन क्षेत्र केही चम्किएको छ।’
उनका अनुसार पछिल्लो समय पोखरासम्मको सडक पहुुँच सहज बनेको छ। पोखराको मौसम घुमघामका लागि उपयुक्त रहेकोले पनि पाहुना आगमन बढेको उनले बताए। ‘चिसोमा तराई शितलहरले अत्तालिएको छ। तर, पोखरामा तुलनात्मक रुपमा घाम लागेकोले पनि पाहुनालाई घुमघाममा अप्ठेरो छैन। यो बेलाको क्रिसमस र अंगे्रजी नयाँवर्षको फेरोले मान्छेलाई तानेको छ,’ उनले भने, ‘भारतीय युवापुस्ताका पाहुनाको आगमन यो बेला उत्साहजनक रहेको छ। आन्तरिक पाहुना पनि पयाप्त छन।’
पोखरासम्मको सडक सहजता हुँदै गएको र पर्यटन क्षेत्रले आन्तरिक पर्यटक लक्षित प्रवद्र्धनात्मक गतिविधि गरेकोले पनि पोखरामा यो बेला पाहुना आगमन बढेको उनले बताए। व्यावसायीले आन्तरिक पाहुना बोलाउँदै अघिल्लो साता नेपालको पूर्वी क्षेत्रमा प्रवर्द्धनात्मक गतिविधि संचालन गरेका थिए।
प्रकाशित: ९ पुस २०८२ १८:०५ बुधबार





