ताप्लेजुङमा गत वैशाख ४ गतेदेखि झापा, मोरङ र सुनसरीसहितका जिल्लाबाट पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयात तथा ढुवानीमा लगाइएको प्रतिबन्ध बिहीबारदेखि हटाइएको छ ।
जिल्ला बर्डफ्लू रोग रोकथाम तथा नियन्त्रण समितिको बैठकले संक्रमण प्रभावित जिल्लामा बर्डफ्लू रोगको संक्रमण घट्दो क्रममा रहेको भन्दै सतर्कताका उपायहरू अपनाउने गरी झापा, मोरङ र सुनसरीसहितका जिल्लाबाट पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयात तथा ढुवानीमा गरिएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिए ।
पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयात तथा ढुवानीमा गरिएको प्रतिबन्ध फुकुवा भए पनि भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र तथा पशुपंक्षीजन्य उत्पादनको चेकजाँच, साथै पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयात तथा ढुवानीमा जिल्लास्थित सुरक्षा निकाय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिकको नियमित निगरानी रहने निर्णय भएको प्रजिअ सेढाइँले बताए ।
यसअघि गत वैशाख ६ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले फुङलिङमा पंक्षी तथा पंक्षीजन्य उत्पादनको बिक्री–वितरण गर्ने व्यवसायीबाट पंक्षी तथा पंक्षीजन्य उत्पादनको एन्टिजेन नमुना संकलन गरी परीक्षण गरेको थियो । एन्टिजेन नमुना परीक्षण गर्दा एभियन इन्फ्लुएन्जा भाइरस नभेटिए पनि पूर्व सतर्कताका लागि तराईका तीन जिल्लाबाट पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयातमा गरिएको कडाइलाई निरन्तरता दिइँदै आएकोमा उक्त बन्देज बिहीबारदेखि फुकुवा भएको छ ।
प्रमुख जिल्ला अधिकारी सेढाइँले आयात तथा ढुवानी खुला भए पनि सावधानी र सतर्कताका उपाय अपनाउन तथा कुनै किसिमको शंकास्पद अवस्था देखिए तत्काल सम्बन्धित निकायमा खबर गर्न सबैलाई आग्रह गरेका छन् ।
प्रकाशित: ३१ वैशाख २०८३ १६:२२ बिहीबार





