नेपाल समुद्रपार निकासी पैठारी संघले बाढी पहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनी बन्द हुने गरेकोले चीनसँग स्थल मार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउन माग गरेको छ । संघले कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको हो ।
गत असार २४ गते रातिको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट मानिस र व्यापारिक सामानको आवागमन ठप्प भएको छ । बाढी पहिरोकै कारण सिन्धुपाल्चोकको तातोपानी नाका पनि दुई सातादेखि अवरुद्ध छ । प्राकृतिक प्रकोपका कारण अकस्मात नाका बन्द हुँदा नेपालका लागि आयात भएका मालसामान बोकेका सयौँ कन्टेनर र ट्रकहरू बिच बाटोमै अलपत्र परेका छन् । व्यवसायी चर्को व्ययभार बोक्न बाध्य भएका छन् ।
यो अवस्था वर्षेनि दोहोरिइरहेको परिप्रेक्ष्यमा चीनसँगको आयात–निर्यात सहज बनाउन अन्य नाकाहरू खोल्नु जरुरी रहेकोले कूटनीतिक पहलमार्फत ती नाकाहरू अविलम्ब सञ्चालनमा ल्याउन र अन्य वैकल्पिक नाकाहरूमा पूर्वाधारको व्यवस्था गर्न संघले सरकारलाई आग्रह गरेको हो ।
व्यवस्थापिका संसदको विकास समितिले २०७२ सालमै उत्तरी नाकाहरूको अवस्था अध्ययन गरी कोरला र ओलाङ्चुङगोला नाका सञ्चालनमा ल्याउन सकिने सुझाव दिएको थियो । नेपाल र चीन सरकारका उच्च अधिकारीहरू एक दशकअघि नै द्विपक्षीय छलफलका क्रममा सात वटा उत्तरी नाका खोल्न सहमत भएका थिए । ती नाकाहरूमा तातोपानी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के थिए । तर हालसम्म रसुवागढी र तातोपानी बाहेक अन्य नाका व्यापारिक प्रयोजनका लागि खुलेका छैनन् ।
कोरला नाका १२ महिना नै सञ्चालन गर्न सकिने अवस्थामा छ । कोरला नाकामा चीनतर्फ पूर्वाधार पनि तयार छ । नेपालतर्फ पनि कोरालासम्म सडक पुगिसकेको छ । ताप्लेजुङको ओलाङ्चुङगोला नाकाबाट पनि दुई मुलुकबिचको व्यापार सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ । अतः यी नाकाहरू छिटोभन्दा छिटो व्यापारिक प्रयोजनका लागि खुला गर्न र व्यापारिक हिसाबले उपयुक्त अन्य नाका पनि सञ्चालनमा ल्याउने वातावरण तयार गर्न संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
आयात व्यापारमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो । पछिल्लो समय पूर्वाधार तयार भएसँगै चीनसँगको व्यापार उत्तरी नाकातर्फ सर्ने क्रम बढेको तथ्याङ्कले देखाउँछ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷८२ मा तातोपानीबाट ५० अर्ब रुपैयाँभन्दा बढीको र रसुवागढी नाकाबाट ८५ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ ।
चीनबाट चाडपर्व लक्षित सामान आयात हुने दुवै नाका बन्द हुँदा व्यापारिक गतिविधि अपेक्षाकृत बढ्न नसक्ने, आम उपभोक्ता सुपथ मूल्यमा वस्तु प्राप्त गर्नबाट वञ्चित हुने र सरकारले पाउनुपर्ने राजस्व पनि गुम्ने अवस्था रहेको तर्फ ध्यानाकर्षण गराउँदै संघले उत्तरका थप नाकाहरू व्यापारिक प्रयोजनको लागि खुला गर्नेतर्फ अविलम्ब पहल गर्न माग गरेको छ ।
प्रकाशित: ३ भाद्र २०८२ १६:५५ मंगलबार





