काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले विगत तीन वर्षदेखि रोकिएको उज्यालो महानगर योजनालाई तीव्रता दिइएको बताएका छन्।
दसैंअघि नै ६२ वटा हाई मास्ट लाइट जडान गरिसक्ने र यसै आर्थिक वर्षभित्र थप लगानीमा महानगरलाई पूर्ण रूपमा उज्यालो बनाउने लक्ष्य रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
प्रमुख शाहका अनुसार, करिब १० करोड रुपैयाँको लागतमा ६२ वटा हाई मास्ट लाइट जडान गर्ने काम तीव्र गतिमा अघि बढिरहेको छ। ‘हालसम्म १२ वटा लाइट प्रज्वलन भइसकेका छन्। दसैं भन्दा अघि बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको छ,’ उनले लेखेका छन्।
यसका साथै, अघिल्लो कार्यकालमा जडान गरिएका तर नबलेका दुई हजारभन्दा बढी सोलार सडक बत्तीलाई पनि मर्मतसम्भार गरी विद्युतीय प्रणालीमा स्तरोन्नति गरिएको र ती सबै हाल सञ्चालनमा रहेको उनले बताए।
महानगरले सडक बत्तीका लागि थप ठूलो लगानीको तयारीसमेत गरेको छ। प्रमुख शाहले भने, ‘करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको छ, जसको सम्पन्नतापछि यसै वर्षभित्र काठमाडौं महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरेका छौं।’
योजनाले सहरको सौन्दर्य बढाउनुका साथै रात्रिकालीन समयमा हुने हिँडडुललाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ८ आश्विन २०८२ २०:११ बुधबार





