२ वैशाख २०८३ बुधबार
image/svg+xml
अर्थ

बिपी राजमार्ग वर्षायाम अगाडि नै तयार नहुने

काठमाडौं उपत्यकालाई पूर्वी क्षेत्रसँग जोड्ने बिपी राजमार्गको पुनर्निर्माणको काम हालसम्म करिब २५ प्रतिशत मात्रै पूरा भएको छ। निकै व्यस्त हुने यस राजमार्गमा पुनर्निर्माणको काम छिटो नहुँदा यात्रहरूले कष्ट भोगिरहेका छन्।

पुनर्निर्माण गर्न हालसम्म करिब ६० करोड रुपैयाँ खर्च भइसकेको सडक डिभिजन भक्तपुरले जनाएको छ। यतिबेला सानो वर्षा हुँदा पनि बिपी राजमार्ग अबरुद्ध हुने गरेको छ। सवारी साधन करिब ८ किलोमिटर खोलै खोला भएर गुड्ने गरेका छन्। त्यसैले सानो वर्षा हुँदा पनि खोलाले डाइभर्सन बगाउने गर्छ र सडक अबरुद्ध हुने गर्छ।

यो वर्षा यामामा पनि झन् समस्या हुने डिभिजन कर्मचारीहरूले जनाएका छन्। उनीहरूका अनुसार यही अवस्था भए वर्षा यामका धेरै दिन बिपी राजमार्ग अबरुद्ध हुने स्थिति छ। यतिबेला त्यो राजमार्ग भएर यात्रा गर्ने यात्रुले निकै कष्ट भोग्ने गरेका छन्।

‘अहिले हामीले खोलाबाटै पर्खाल उठाउने काम गरिरहेका छौं। पूरा काम २०८४ असारसम्म सक्ने समय तोकिएको छ। त्यसबेलासम्म काम सक्छौं’, सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले भने। उनका अनुसार पर्खाल उठाउने काम सकिएपछि मात्र ढलान गर्ने र पिच गर्ने काम सुरु हुने छ। गत साता गृहमन्त्री सुधन गुरुङ बिपी राजमार्गको अवलोकन गर्न पुगेका थिए। अनुगमनका क्रममा उनले काम चाँडै सक्न निर्देशन दिएका थिए।

२०८१ असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण भत्किएको बिपी राजमार्गको पुनर्निर्माणको काम त्यसको ६ महिनापछि मात्र सुरु भएको थियो। पुनर्निर्माणको काम नै ढिला सुरु हुँदा निर्माणको अवधि पनि लम्बिएको सडक विभागका कर्मचारी बताउँछन्। त्यसमध्ये एक खण्डको काम जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गर्ने भएको छ तर काम भने अझै सुरु भएको छैन। त्यसैले जाइकाले पुनर्निर्माण गर्ने सडकमा अझै केही समय समस्या उत्पन्न हुने छ।

सडक विभागका अनुसार जाइकाले बिपी राजमार्गको बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किमी सडक पुनर्निर्माण गरिदिने सहमति गरेको छ। ‘बिपी राजमार्गमा भत्किएको सडकमध्ये ५.५ किमी सडक खण्ड पुनर्निर्माण गर्न जाइकालाई भनेका थियौं। जाइकाका प्रतिनिधिहरूले भने हामीसँग ३.२ किमी सडक मात्र पुनर्निर्माण गरिदिन सक्छौं भनेका छन्। उनीहरूले बाँकी २.३ किमी सडक निर्माण गर्ने पैसा पुग्दैन भनेपछि हामी आफैंले पुनर्निर्माण गर्न लागेका छौं’, योगेशले भने, ‘तर जाइकाले अझै काम सुरु गरेका छैन। हामीले भने धमाधम काम गरीरहेका छौं।’

विभागका अनुसार जाइकाले तीन अर्ब रुपैयाँ खर्च गरेर बर्खे खोलादेखि पिप्लेसम्मको सडक पुनर्निर्माण गर्ने भएको छ। जाइकाले गत जेठमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग बिपी राजमार्गको एक खण्ड पुनर्निर्माण गर्न सहमति गरेको थियो तर अहिलेसम्म काम अघि बढेको छैन। बिपी राजमार्गको निर्माण जाइकाले नै गरेको थियो। १६० किलोमिटर बिपी राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो। यो राजमार्ग निर्माण गर्न जापानले २६ अर्ब येन खर्च गरेको थियो। राजमार्ग बनाउन २०५२ सालमा सुरु गरिएको थियो। २०७२ सालको भूकम्पले बिपी राजमार्गको केही भागमा क्षति पुगेको थियो। क्षतिग्रस्त भाग पुनर्निर्माण गर्न १८ महिना लागेको थियो।

विभाग स्रोतका अनुसार गत असोज ११ र १२ गते आएको अविरल वर्षाले बिपी राजमार्ग ठाउँठाउँमा भत्किएको समाचार आएपछि जाइकाले चासो राखेको थियो। जाइकाका प्रतिनिधिहरू बिपी राजमार्ग पुनर्निर्माण गर्ने विषयमा गत कात्तिक ११ र १२ गते स्थलगत अध्ययन तथा अनुसन्धान गर्न सिन्धुली पुगेका थिए। स्थलगत अध्ययनपछि उनीहरूले एउटा प्रतिवेदन तयार गरेका थिए।

सडक डिभिजन भक्तपुरका अनुसार भत्किएको खण्ड पुनर्निर्माण गर्न जाइका आफैंले डिजाइन र सर्भे गर्नेछ। ‘हामीले गरेको डिजाइन र सर्भे जाइकालाई दिएका छौं। जाइकाले भने आफैं सर्भे गर्ने भनेको छ’, योगेशले भने। उनका अनुसार जाइकाले पुनर्निर्माण गर्ने सडक दुई लेनको हुने छ। यसअघि जाइकाले बिपी राजमार्ग एक लेनको बनाएको थियो। अब पुनर्निर्माण हुने सबै सडक खण्ड दुई लेनको हुने छ।

सडक डिभिजन भक्तपुरले २५ किमी र सडक डिभिजन सिन्धुलीले पाँच किमी सडक पुनर्निर्माणको काम गरीरहेका छन्। सडक डिभिजन भक्तपुरका अनुसार भक्तपुर डिभिजनले तीन प्याकेजमा र सडक डिभिजन सिन्धुलीले एक प्याकेजमा बिपी राजमार्गको पुनर्निर्माणको काम गरिरहेका छन्। डिभिजन प्रमुख योगेशका अनुसार पहिलो प्याकेजमा चारसयबेसीदेखि भकुण्डेबेसीसम्म ११ किमी सडक पुनर्निर्माण गर्न सडक डिभिजन भक्तपुरले एक अर्ब १४ करोड रुपैयाँमा लामा नव–कान्तिपुर जेभीसँग सम्झौता गरेको छ। यो सडक ठेकेदार कम्पनीले दुई वर्षभित्र पुनर्निर्माण गरिसक्ने छ।

दोस्रो प्याकेजमा बिपी राजमार्गको डालाबेसीदेखि चारसयबेसीसम्म ८.५ किमी सडक पुनर्निर्माण गर्न सडक डिभिजन भक्तपुरसँग थानी कमलजित एवान जेभीसँग एक अर्ब २२ करोड रुपैयाँमा सडक डिभिजन भक्तपुरले सम्झौता गरिसकेको छ।

प्रकाशित: २९ चैत्र २०८२ ११:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App