चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ७८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।
विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार विराटनगर भन्सार कार्यालयले साउन महिनामा लक्ष्यको ७८ दशमलव १४ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।
साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयले ३ अर्ब ३८ करोड ७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा कार्यालयले २ अर्ब ६४ करोड १८ लाख रुपैयाँ मात्रै राजस्व संकलन गर्न सफल भएको छ ।
गत आर्थिक वर्षको साउन महिनामा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ८० प्रतिशत राजस्व संकलन गरेको थियो । रकमका आधारमा भने गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व बढेको छ ।
गत वर्षको साउन महिनामा २ अर्ब ६२ करोड ४२ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा निर्यात उल्लेख्य रुपमा बढेको छ ।
गत वर्ष २ अर्ब ३८ करोड रुपैयाँका बस्तुहरू निर्यात भएकोमा चालु आर्थिक वर्षको साउनमा ७ अर्ब ४१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । निर्यातसँगै गतवर्षको तुलनाम आयात पनि बढेको छ । गत वर्षको साउनमा १३ अर्ब ६४ करोडको आयात भएकोमा यो वर्ष बढेर २० अर्ब ३६ करोड पुगेको छ ।
कुल व्यापारमा पनि यो वर्ष वृद्धि भएको छ । गत वर्षको साउनमा विराटनगर नाकाको कुल व्यापार १६ अर्ब रहेकोमा चालु आर्थिक वर्षको साउनमा बढेर २७ अर्ब ७७ करोड पुगेको छ ।
प्रकाशित: ७ भाद्र २०८२ १९:१० शनिबार





