२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
अर्थ

भोटेकोशी बाढी : पूर्वाधार क्षेत्रमा एक खर्ब ९० अर्बको क्षति

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै रु एक खर्ब ९० अर्बको क्षति भएको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन’ प्रतिवेदनअनुसार बाढीले पारेको क्षतिको पुनःरुत्थानका लागि रु चार खर्ब ७३ अर्ब ५७ करोड लाग्ने अनुमान छ।

प्रतिवेदनअनुसार ऊर्जा क्षेत्रतर्फ बाढीका कारण कूल ७५९ दशमलप शून्य २५ मेगावाट क्षमताका १३ वटा जलविद्यत् आयेजना प्रभावित भएका छन्।

जसमा २४ दशमलव ३६ मेगावाट क्षमताको पाँच वटा सोलार प्लान्टसमेत समावेश छन्। प्रतिवेदनमा बाढीका कारण एउटा सवस्टेसन, तीन वटा ट्रान्समिसन लाइन, एउटा स्विचयार्ड र एउटा वितरण लाइनमा क्षति पुगेको छ।

ऊर्जा क्षेत्रमा कूल रु एक खर्ब ५१ अर्ब चार करोड बराबरको क्षति भएको छ। यो क्षेत्रको पुनःरुत्थानका लागि रु तीन खर्ब ९० अर्ब ६२ करोड लाग्ने अनुमान छ ।

घरायसी नवीकरणीय ऊर्जातर्फ पनि ठूलो क्षति पुगेको छ। जसमा २४५० वटा सोलार ‘होमसिस्टम’, २७४० बायोग्यास प्रणाली, १३ वटा संस्थागत सोलार प्रणाली, ९२ किलोवाटको लघुजलविद्युत्, १८५ ‘वाटरमिल्स’ र ७९५ वटा खाना पकाउने चुल्होमा क्षति पुगेको छ।

घरायसी नवीकरणीय ऊर्जामा रु ५६ करोडको क्षति भएको छ भने यसको पुनःरुत्थानका लागि रु एक अर्ब ६४ करोड लाग्ने देखिएको छ।

बाढीका कारण ६९ किलोमिटर सडकमा क्षति पुगेको अनुमान छ। जसमध्ये ५५ किलोमिटरमा पूर्ण रूपमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

साथै पृथ्वीराजमार्गको कृष्णभीर क्षेत्रमा १५० मिटरमा क्षति पुगेको छ। सडक संरचनातर्फ रु २३ अर्ब ४२ करोडको क्षति पुगेको छ। उक्त क्षेत्रको पुनःरुत्थानका लागि रु ५५ अर्ब १८ करोड लाग्ने अनुमान छ।

बाढीका कारण ३३ वटा मोटरेबल पुल बगेका छन् भने चार वटामा आंशिक क्षति पुगेको छ। त्यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ।

तेत्तिस वटा झोलुङ्गे पुलमा पूर्ण क्षति पुगेको छ। पुलमा मात्रै रु ११ अर्ब ३५ करोडको क्षति पुगेको छ भने पुनरुत्थानका लागि रु १८ अर्ब १६ करोड आवश्यक पर्ने देखिएको छ।

सञ्चार क्षेत्रमा पनि टेलिकमका बिटिएस टावरमा क्षति पुगेको छ। एनसेलमा २७ वटा र नेपाल टेलिकमका ३८ वटा टावर प्रभावित भएका थिए। जसमध्ये अधिकांश सञ्चालनमा आइसकेका छन्।

बाढीका कारण १५२ दशमलव तीन किलोमिटर फाइभर केबल र दुई वटा ट्रान्समिसन प्रणाली, एफटिटिएचरआइएसपीमा प्रभाव परेको थियो।

यो क्षेत्रमा करिब रु ६३ करोडको क्षति भएको थियो भने पुनःरुत्थानका लागि रु ९४ करोड लाग्ने अनुमान छ।

त्यसैगरी खानेपानी तथा सरसफाइ क्षेत्रमा रु एक अर्ब ३८ करोड बराबरको क्षति पुगेको छ भने यसको पुनर्निर्माणका लागि रु दुई अर्ब सात करोड लाग्ने अनुमान छ।

बाढीका कारण १६ वटा इनार, ९८ वटा इनटेक, १६० वटा ट्याङ्की, ४४३ दशमलव नौ किलोमिटर पाइपलाइन प्रभावित भएका छन्।

प्रतिवेदनका अनुसार सिँचाइ, नदी संरक्षण क्षेत्रतर्फ चार हजार ९९० मिटर नदी संरक्षण, ७०० हेक्टर सिँचाइ र छ वटा जलसतह मापन केन्द्र प्रभावित भएका छन्।

यस क्षेत्रमा करिब रु एक अर्ब ६५ क्षति पुगेको छ भने पुनरुत्थानका लागि रु चार अर्ब ९४ करोड आवश्यक पर्ने अनुमान गरिएको छ।

प्रकाशित: २५ भाद्र २०८३ १७:३० बिहीबार