१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

राम्रो मूल्य पाएपछि चितवनमा बढ्यो केरा खेती

चितवनका यज्ञप्रसाद सुवेदी २५ वर्षदेखि केरा खेतीमा सक्रिय छन्। एक समय ७५ विगाहासम्म फैलिएको उनको केरा बगैँचा अहिले ५५ विगाहा सीमित छ। तर राम्रो बजार मूल्यका कारण यस वर्ष फेरि १२ विगाहा क्षेत्रफलमा खेती विस्तार गर्ने तयारीमा सुवेदी छन्।

‘यस वर्ष २५ हजार बिरुवा थप गर्नका लागि बगैँचा तयार पारेको छु,’ सुवेदीले भने, ‘बिरुवा आएको दिनदेखि रोप्न सुरु हुन्छ।’ सुवेदीका अनुसार किसानले समयमै टिस्यूकल्चर बिरुवा नपाउँदा समस्या भइरहेको छ। ‘राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनलाई चार महिना अघि बिरुवा ल्याउन पैसा दिएको थिए। जेठ १० गतेसम्म आउनुपर्ने हो। आएको छैन,’ सुवेदीले भने. ‘आएपछि बिरुवा लगाउन धमा धम सुरु हुन्छ।’

सुवेदी जस्तै चितवनमा केरा खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। राम्रो मूल्य पाउन थालेपछि किसानले केरा खेतीको क्षेत्र विस्तार गर्न थालेका छन्। यस वर्ष मात्रै जिल्लामा थप एक सयदेखि एक सय २० हेक्टर क्षेत्रफलमा केरा खेती हुने अनुमान गरिएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनका प्रमुख महेश रेग्मीका अनुसार यसवर्ष चितवनमा करिब ४ लाख ८३ हजार टिस्यूकल्चर बिरुवा रोप्ने लक्ष्य रहेको छ। ‘हाम्रो सहयोगमा चितवनमा ८३ हजार टिस्यूकल्चरका बिरुवा रोप्ने योजना हो,’ उनले भने, ‘त्यसबाहेक किसानले आफ्नै पहलमा ४ लाख बिरुवा रोप्दै छन्।’ केराको सकर(गाना) बिरुवा समेत प्रयोग गरिरहेको उनले बताए।

उनका अनुसार अहिले चितवनमा करिब दुई हजार हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको छ। यस वर्ष थप क्षेत्र विस्तार हुने क्रम जारी रहेको छ। ‘किसानले राम्रो मूल्य पाएका कारण उत्साह बढेको छ,’ रेग्मीले भने, ‘तर मागअनुसार टिस्यूकल्चर बिरुवा उपलब्ध गराउन समस्या भइरहेको छ।’ अघिल्लो वर्ष २६ रुपैयाँमा पाइने बिरुवा अहिले ४० रुपैयाँसम्म पुगेको छ। किसानले अग्रिम भुक्तानी गरेर पनि समयमै बिरुवा पाउन कठिन भइरहेको किसानको भनाइ छ।

चितवनमा अहिले मुख्य रूपमा जिनाइन, मालभोग र चिनियाँ चम्पा जातका केरा खेती हुँदै आएको छ। उत्पादनको हिसाबले जिनाइन जात बढी उत्पादक मानिन्छ। मालभोग जातबाट प्रतिहेक्टर करिब २५ टन उत्पादन हुने गरेको छ भने जिनाइनबाट प्रतिहेक्टर ५५ टनसम्म उत्पादन हुने गरेको केरा सुपरजोनको तथ्यांक छ। जिल्लामा मात्रै करिब सात सय हेक्टरमा जिनाइन खेती रहेको जनाइएको छ। बाँकी मालभोग र चिनियाँ चम्पा लगायतका जात रहेका छन्।

चितवनमा सात वर्षदेखि केरा जोनका कार्यक्रम सञ्चालित छ। पहिलो वर्ष ९ सय ४५ हेक्टर क्षेत्रफलमा जोनका कार्यक्रम सञ्चालित थिए। अहिले केरा जोन सुपरजोनमा विस्तार भएको छ। नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरी पन्तका अनुसार यस वर्ष देशभर करिब ६ लाख नयाँ केरा प्लान्ट लगाइएको बताउँछन्। उनले नेपाललाई केरामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ खेती विस्तार भइरहेको बताए। ‘हाल देशमा वार्षिक करिब ९ लाख मेट्रिकटन केरा आवश्यक पर्नेमा सात लाख मेट्रिकटन मात्रै उत्पादन भइरहेको छ,’ उनले भने ‘करिब २० प्रतिशत अभाव छ। अर्को वर्षसम्म आत्मनिर्भर बन्नेगरी किसानले खेती गरिरहेका छन्।’

पानामा रोग ‘टिआर–फोर’ (केरामा लाग्ने घातक रोग) देखिएपछि सरकारले जैविक सुरक्षामा कडाइ गरेको छ। जसको कारण नेपालमा अहिले केराको अभाव समेत देखिएको छ। यद्यपि नेपाललाई केरामा आत्मनिर्भर हुनेगरी केरा आयातमा रोक लगाएकोमा किसान खुसी छन्। ‘एक दुई वर्ष कठिन हुने हो। त्यसपछि त केरामा हामी आत्मनिर्भर हुन्छौँ,’ उनले भने, ‘अहिले आत्मनिर्भर हुने गरी चितवन सहित देशभरका किसानले नयाँ प्लान्ट तयार गरिरहेका छन्।’

उनले सरकारले आवश्यक सहयोग र निरन्तर समर्थन गरे नेपालले आगामी दुई वर्षभित्र केरा निर्यात गर्न सक्ने दाबी गरे। ‘इरान तथा गल्फ मुलुक र चीनसम्म नेपाली केरा निर्यात गर्न सकिने सम्भावना छ,’ उनले भने, ‘सरकारको साथ पाए निर्यात क्षमता विकास गर्न सकिन्छ।’

भारत केरामा आत्मनिर्भर छ। भारतबाट आउने केरा आयातमा रोक लगाएपछि उपभोक्ताले चर्को मूल्य तिरेर उपभोग गर्न बाध्य छन्। किसानले अहिले प्रतिकोसा नौ रुपैयाँसम्म मूल्य पाएका छन्। उपभोक्ताले प्रतिकोसा १५ रुपैयाँ तिरेर खान बाध्य छन्। पन्तका अनुसार किसानले पाँच रुपैयाँमा बिक्री गर्दा पनि नाफा हुने अवस्था छ। यद्यपि कतिपय किसानले प्रतिकोसा ११ रुपैयाँ पार्ने गरेका छन्। किसानका अनुसार यस वर्ष केरा उत्पादन घटेकाले बजार मूल्य बढेको छ। आगामी वर्ष उत्पादन बढेपछि मूल्य केही सस्तो हुन सक्ने अनुमान उनको छ।

प्रकाशित: १० जेष्ठ २०८३ २१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App