बाक्लो हिमपातले हिमाली क्षेत्रको पदयात्रा असुरक्षित बनेको भन्दै अन्नपूर्ण क्षेत्रको माथिल्लो भेगको पदयात्रामा नजान स्थानीय प्रशासन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पाहुनालाई अनुरोध गरेका छन। अन्नपूर्ण क्षेत्रको माथिल्लो भेगमा हिमपातसँगै हिमपहिरोको जोखिम रहेको ती निकायहरुको भनाई छ। स्थानीय प्रशासनले मौसममा सुधार नभएसम्म जहाँको त्यहीँ रोकिन पनि पाहुनालाई आग्रह गरेका छन।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मौसम खराब, वर्षा र हिमपातका कारण अन्नपूर्ण क्षेत्रको विशेषगरि अन्नपूर्ण फेरो, अन्नपूर्ण आधारशिवि (एबिसी), मर्दी हिमाल, खुमईडाँडा, कोरी लगायतका क्षेत्रको पदयात्रामा नजान पाहुनालाई आग्रह गरेको हो। शुक्रबारसम्म मौसममा सुधार नहुने भन्दै सतर्क रहन तथा एक्यापले पाहुनालाई जहाँको त्यहीँ रोकिन पनि आग्रह गरेको हो।
‘मौसममा सुधार नभएसम्म हिमाली क्षेत्रको पदयात्रामा ननिस्कनु, पदयात्राको समय पछाडि धकेल्नु सुरक्षाका दृष्टिले उपयुक्त हुनेछ,’ एक्यापले सूचनामा भनेको छ। एक्याप प्रमुख रविन कडरियाले अझै केहीदिनका लागि अन्नपूर्ण क्षेत्रको माथिल्लो भेगको पदयात्रा सुरक्षित नरहेको बताए।
‘अन्नपूर्ण फेरो सहित अन्नपूर्ण आधारशिविर (एबिसी), तिलिचो, मर्दी हिमाल, खुमाई डाँडा, कोरी लगायतका क्षेत्रमा अहिले जानै सकिन्न। शुक्रबारसम्म मौसमले साथ दिन्न,’ उनले भने, ‘त्यसैले तत्काल माथिल्लो क्षेत्रमा पदयात्रामा जानु हुँदैन, यो बेलाको पदयात्रा जोखिमपूर्ण बन्न सक्छ।’
उनका अनुसार अन्नपूर्ण भित्रकै तिलिचो, थोराङला त अझै केहीदिन जानै नसकिने अवस्था रहेको छ। मनाङ र मुस्ताङको माथिल्लो क्षेत्रमा अधिक हिउँ परेकोले यात्रा सम्भव नभएको कडरियाले बताए। ‘एबिसी जाने पर्यटकहरु मध्ये पनि कतिपय त पदमार्गको हिमालयबाटै फर्केका छैनन। यस्तोमा जाँदा जोखिम हुन्छ। कतिपय विदेशी पदयात्री भने पदमार्गकै होटलमा बाटो खुल्ने दिनको पर्खाइमा छन,’ उनले भने । उनका अनुसार माथिल्लो भेगमा अधिक हिउँ परेकोले हिमपहिरोका पनि उत्तिकै जोखिम छ। त्यस्तै बाक्लो हिउँका कारण पदयात्री हिड्ने बाटो पहिचान गर्न पनि नसकिने अवस्था रहेको उनले बताए।

एक्याप प्रमुख कडरियाका अनुसार यतिबेला अन्नपूर्ण क्षेत्रमा दुइहजारको हाराहारीमा विदेशी पर्यटक रहेको अनुमान छ। आन्तरिक पाहुना पनि एकहजार हाराहारीमा रहेको उनको अनुमान छ। ‘विदेशीले पदयात्रा थालिसकेका थिए। तर, हिमपातका कारण उनीहरुमध्ये कतिपय बीचमै रोकिएका छन, केही पाहुनाले यात्रा बीचमै रोकेर फर्केका पनि छन । आन्तरिक पाहुना भने धेरैजसो फर्किसकेका छन। अझै ३/४ दिन पदयात्रा सम्भव छैन,’ एक्याप प्रमुख कडरियाले भने।
जिल्ला प्रशासन कास्कीले पनि सूचना जारी गर्दै हिमाली क्षेत्रको पदयात्रमा नजान आग्रह गरेको छ। वर्षा र हिमपातका कारण पहिरो खस्न सक्ने जोखिम भएकोले ग्रामीण क्षेत्रमा सवारी संचालनमा पनि प्रशासनले रोक लगाएको छ। पर्यटकीय गाउँहरु पर्ने कास्कीका क्षेत्रमा पदयात्रामा जाँदा जोखिम थपिन सक्ने भएकोेले सचेत हुन प्रशासनको अनुरोध छ।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले पनि मनाङको माथिल्लो भेगको पदयात्रा अझै एकसाताका लागि सम्भव नभएको बताए। उनका अनुसार अबको एकसातासम्म तिलिचो, थोराङला, लार्केपास लगायतका क्षेत्रका उच्च भेगका पदमार्गमा पदयात्रा गराउन रोक लगाइएको छ।
‘हिउँ परेकोले माथिल्लो भेगमा जोखिम बढी हुन्छ। किनभने अहिले परेको हिउँको थुप्रो पग्लँदै जाने क्रममा हिमपहिरोको जोखिम रहन्छ,’ उनले भने, ‘हिमपहिरोको जोखिम रहेकोले उच्चभेगको पदयात्रामा जान नदिनेगरि सूचना जारी गरिएको छ। प्रशासनले सहज अवस्था भएपनि पुन सूचना जारी गरेर पदयात्रा खुला गर्नेछ।’
बाक्लो हिमपातका कारण तिचिलो बेसक्याम्प क्षेत्रमा अहिले होटल पनि बन्द रहेको उनले बताए। होटलका संचालकहरु पनि हिमपातपछि तल झरेकोले अहिले माथि उक्लिने पाहुनाले खान र बस्न समेत नपाउने अवस्था रहेको प्रजिअ पौड्यालले बताए। ‘होटल नै बन्द रहेका छन। त्यही भएर पाहुनाले सेवा पनि पाउँदैनन। हिउँ पग्लन थालेसँगै हिमपहिरोका जोखिम पनि बढेको छ। त्यसैले सबैको सल्लाहमा एकसाताका लागि पदयात्रामा रोक लगाइएको छ,’ उनले भने।
प्रजिअ पौड्यालका अनुसार अनुसार बुधबार डोजर परिचालन गरेर माथिल्लो भेगका सबै पाहुनालाई सदरमुकाम चामे झारिएको थियो। हिमपातले सिजनको पदयात्रामा दख्खल पुगेको उनले बताए। ‘पाहुनाले पदयात्रा पुरा गर्नै पाएनन। धेरै पाहुना बीचबाटै फर्किनुपरेको छ। पदयात्रा भन्दा सुरक्षा महत्वपूर्ण रहेपछि माथि जाने कुरै रहेन,’ उनले भने।
पदयात्राको मौसमलाई मार
पर्यटन व्यावसायीका अनुसार यो बेला पदयात्राका लागि विदेशी पाहुनाको आगमन राम्रो थियो। तर, मुख्य सिजनका बेलाको हिमपातले पदयात्रा रोकिँदा पर्यटकलाई मार परेको उनीहरुको भनाई छ। पदयात्रा व्यवासायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोशिएसन (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार सिजनको बेला परेको हिमपातले पदयात्रामा आएका पाहुना गन्तव्यमा पुग्न सकेका छैनन।
पदयात्राका लागि यो समय निकै नै उत्कृष्ट भनेर पर्यटकहरु नेपाल आएका हुन्छन। तर, आउका पर्यटक गन्तव्यमा जान पाएनन। जहाँको त्यहीँ रोकिएको उनले बताए। ‘पदयात्राका लागि हिमाली क्षेत्र पुगेका पर्यटकहरु बाटैमा रोकिएका छन। थोराङला र तिलिचोका पाहुना त फर्केका छन। एबिसी क्षेत्रमध्ये उत्तरतिर बढी हिउँ परेको र सुविधा कम भएकोेले पाहुनालाई बढी सकस छ,’ उनले भने। आचार्यका अनुसार अहिले समुन्द्री सतहको ३५ सय मिटरमाथिको पदयात्रा रोकिएको छ। तल्लो क्षेत्रमा खासै समस्या छैन। वर्षौको पदयात्राको चाहना बोकेर आएका पाहुना गन्तव्यमा पुग्न नपाउँदा केही दुखि हुने गरेको पनि आचार्यले बताए।
प्रकाशित: १३ कार्तिक २०८२ १७:३७ बिहीबार





