३ श्रावण २०८३ आइतबार
image/svg+xml
अर्थ

बागमती सरकारको नीति-कार्यक्रम : उद्यम र नवप्रवर्द्धनमार्फत रोजगारी

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सोमबार सुरु भएको प्रदेशसभाको १८औं अधिवेशनमा सो प्रस्ताव पेस गरेका हुन्। मन्त्री तामाङले वर्तमान सरकारले प्रदेशको आर्थिक–सामाजिक विकास र सुशासन सुदृढीकरणलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउन लागेको बताए। युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न उद्यमशीलता र नवप्रवर्द्धनमार्फत बागमतीमै रोजगारी सिर्जना गर्ने नीति लिइने उनले उल्लेख गरे।

सरकारले दिगो विकासका लक्ष्य हासिल गर्ने, रोजगारी सिर्जना गर्ने, प्रभावकारी सेवा प्रवाह गर्ने तथा सार्वजनिक खर्चलाई पुँजी निर्माणमा केन्द्रित गर्ने विषयलाई प्राथमिकतामा राखेको मन्त्री तामाङले जनाए। भौतिक पूर्वाधार, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई आगामी बजेटका मुख्य प्राथमिकता क्षेत्रका रूपमा अघि सारिएको छ। यसपटक प्रदेश सरकारले डिजिटल प्रविधिलाई विशेष जोड दिएको छ। डिजिटल राजस्व प्रणाली विकास, राजस्व चुहावट नियन्त्रण, कर प्रशासनलाई प्रविधिमैत्री बनाउने तथा विकास आयोजनाको प्रगति नागरिकले प्रत्यक्ष हेर्न सक्ने प्रणाली विकास गर्ने योजना सरकारको रहेको मन्त्री तामाङले बताए। प्रादेशिक सडक गुरुयोजनाअनुसार सडक पूर्वाधारको एकीकृत विकास र प्राथमिकीकरण गर्ने रणनीति पनि प्रस्तुत गरिएको छ।

कृषि क्षेत्रलाई परम्परागत र निर्वाहमुखी अवस्थाबाट आयमुखी र व्यावसायिक बनाउने लक्ष्य राखिएको छ। कृषि यान्त्रीकरण, बजार प्रणालीको विकास तथा कृषि उद्यमीलाई कर्जामा ब्याज अनुदान दिने व्यवस्थासमेत बजेटका सिद्धान्त र प्राथमिकतामा समेटिएको छ। साथै आर्थिक अनुशासन, डिजिटल रूपान्तरण, चुस्त प्रशासन, कर प्रणाली सुधार, राजस्वको दायरा विस्तार, आधुनिक स्वास्थ्य सेवा तथा पहुँच विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।

बागमती प्रदेश सांसद उत्तम जोशी यसपटकको बजेट सिद्धान्त तथा प्राथमिकतामा उल्लेख गरिएका विषयवस्तु भिन्न र उत्कृष्ट रहेको बताउँछन्। ‘यसपटक डिजिटल तथा आधुनिक प्रविधिमार्फत कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा तथा पूर्वाधार विकासलाई जोड दिने भनिएको छ,’ उनले भने।

नेपाली कांग्रेसबाट निर्वाचित सांसदसमेत रहेका जोशीले यसपटक डिजिटल सेवामार्फत मातृत्व तथा बाल स्वास्थ्य, किशोरकिशोरीलाई स्वास्थ्यका कार्यक्रम ल्याउनुपर्ने विषयसमेत समेटिएको बताए। उनका अनुसार प्राकृतिक तथा मानवजन्य विपत्ति वन संरक्षण प्रवर्द्धन जलवायुअनुकूल कार्यक्रम सञ्चालन गरिने छ। ‘अहिले पेस गरिएको विषय समयानुकूल आएको छ। यसलाई हेरेर बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउँछ,’ उनले भने, ‘यहीअनुसार नीति तथा कार्यक्रम पास भएपछि बजेट पनि प्रभावकारी हुने अपेक्षा छ।’

नेकपाबाट निर्वाचित सांसद ठाकुरप्रसाद ढकाल यसपटक बजेट सिद्धान्त तथा प्राथमिकतामा विगतभन्दा केही नयाँ योजना आएको बताउँछन्। ‘यसपटक कुनै त्यस्तो नयाँ कामचाहिँ छैन। यद्यपि एक दुई वटा विषयचाहिँ राम्रा पनि छन्,’ उनले भने, ‘जनता आवास निर्माण गर्ने छ राम्रो पक्ष हो। कृषिमा आधुनिकीकरण र वैज्ञानिकरण गरेर लैजाने भनिएको छ। यो राम्रो हो।’ युवाहरूको विदेश पलायन रोक्ने गरी बजेट ल्याउनुपर्नेमा उनले जोड दिए। ‘अहिले शैक्षिक क्षेत्र बेरोजगार उत्पादन गर्ने फ्याक्ट्रीजस्तै बनेको छ,’ उनले भने, ‘युवालाई स्वरोजगार दिने विषयलाई प्राथमिकता दिनुपर्नेछ।’

संसद्मा पेस भएको सो प्रस्तावमाथि मंगलबार बस्ने प्रदेशसभाको बैठकमा छलफल हुने छ। मंगलबार नै ५ बजे नै नीति तथा कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रस्तुत गर्ने कार्यसूची रहेको नेकपा एमालेका सांसद कृष्णप्रसाद सिलवालले बताए। सोमबारबाट सुरु भएको अधिवेशनलाई मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेपाली कांग्रेसका सांसद राकृष्ण चित्रकार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भुवन पाठक, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद सुरेन्द्र गोसाईं, हामी नेपाली पार्टीका सांसद शैलेन्द्र बज्राचार्यलगायतले सम्बोधन गरेको थिए। उनीहरूले आइटी डिजिटल सर्भिसमार्फत नयाँ रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन्।

प्रकाशित: १२ जेष्ठ २०८३ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App