सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीति लागु गरेसँगै वैकल्पिक इन्धन उत्पादनमा निजी तथा प्रवासी नेपाली लगानी आकर्षित हुन थालेका छन्। सरकारले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृत गरेपछि स्वदेशमै इथानोल उत्पादन गरी पेट्रोलमा मिसाएर बिक्री गर्ने कानुनी आधार तयार भएको छ।
मन्त्रिपरिषद्बाट आदेश स्वीकृत भएसँगै अब नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गर्ने प्रक्रिया अघि बढाउने भएको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार कार्यविधि प्राप्त भएपछि इथानोल उत्पादन, खरिद तथा मिश्रणका लागि आवश्यक संरचना तयार गर्ने प्रक्रिया सुरु गरिनेछ।
उनका अनुसार स्वदेशमै उत्पादन गरिएको इथानोल पेट्रोलमा मिश्रण गर्दा पेट्रोल आयात घटाउने र विदेशी मुद्रा बचत गर्ने लक्ष्य राखिएको छ। इथानोल प्रयोग वातावरणमैत्री हुने भएकाले यसले इन्जिनबाट हुने उत्सर्जन कम गरी प्रदूषण घटाउनसमेत सहयोग गर्ने विश्वास गरिएको छ।
सरकारले इथानोल मिश्रण नीति कार्यान्वयनतर्फ कदम चालिरहँदा प्रवासी नेपाली लगानीबाट ठूलो आकारको उद्योग स्थापना प्रस्ताव समेत आएको छ। अमेरिकामा बसोवास गर्ने गैरआवासीय नेपालीहरूको पहलमा स्थापना भएको कियान केमिकल्स इन्डस्ट्रिज प्रालिले नेपालमा इथानोल उत्पादनका लागि करिब १२ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव अघि सारेको छ।
एनआरएनएका सल्लाहकारसमेत रहेका कियानका अध्यक्ष वेदप्रसाद खरेलका अनुसार पर्सा जिल्लाका साथै कोसी र लुम्बिनी प्रदेशमा गरी तीनवटा उद्योग स्थापना गर्ने योजना बनाइएको छ। उनका अनुसार उद्योग स्थापना, कच्चा पदार्थ आपूर्ति शृंखला विकास तथा प्रशोधन क्षमतासहितको विस्तृत प्रस्ताव सरकारसमक्ष दर्ता गरिएको छ।
प्रस्ताव कार्यान्वयनमा आएमा करिब दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाउने र करिब २० लाख मानिस इथानोल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उत्पादनमा संलग्न हुने अनुमान गरिएको छ। विशेषगरी सिमल तरुल (कासबा) उत्पादनमार्फत किसानलाई आयआर्जनको नयाँ अवसर सिर्जना हुने बताइएको छ।
नेपाल आयल निगमको अध्ययनअनुसार पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न सके दैनिक करिब चार लाख लिटर पेट्रोलको खपत घट्न सक्छ। नेपालमा हाल दैनिक औसत २० लाख लिटर पेट्रोल खपत हुने गरेको छ। वार्षिक करिब ७३ करोड लिटर पेट्रोल खपत हुने भएकाले १० प्रतिशत मिश्रण लागु गर्दा वर्षमा करिब ७ करोड ३० लाख लिटर पेट्रोल आयात घटाउन सकिने अनुमान गरिएको छ।
निगमले भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर करिब ८५ रुपैयाँको दरमा पेट्रोल खरिद गर्दै आएको छ। यस आधारमा पेट्रोल आयात घट्दा वार्षिक करिब ६ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बचत हुने सरकारी अनुमान छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको पेट्रोल आयात घट्ने प्रक्षेपण सार्वजनिक गरिसकेको छ।
नेपालमा उपलब्ध मोलासिस, नेपियर घाँस, पराल, मकैको ढोड, गहुँको छ्वाली, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ तथा खाद्यान्नका रूपमा प्रयोग गर्न नमिल्ने सडेगलेको अन्न प्रयोग गरेर इथानोल उत्पादन गर्न सकिन्छ। यसले कृषि उत्पादनको उपयोग बढाउने र किसानलाई थप आम्दानीको स्रोत प्रदान गर्ने विश्वास गरिएको छ।
इथानोल उत्पादन कृषि तथा जैविक स्रोतमा आधारित हुने भएकाले सरकारले यसलाई प्रोत्साहन गर्नुपर्ने उद्योगीहरू बताउँछन्। किसानले उत्पादन गर्ने विभिन्न कृषि अवशेष र जैविक पदार्थलाई औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने भएकाले ग्रामीण अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी आदेश, २०८२ ले भने खाद्यान्नका रूपमा प्रत्यक्ष प्रयोग हुने अन्नलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ। उत्पादन गरिएको इथानोल नेपाल आयल निगमलाई मात्रै बिक्री गर्नुपर्नेछ र निगमबाहेक अन्यत्र बिक्री गर्न पाइने छैन।
इथानोलको गुणस्तर नेपाल गुणस्तर तथा नापतौल विभागले निर्धारण गरेअनुसार हुनुपर्ने र उत्पादन प्रक्रिया वातावरणमैत्री हुनुपर्ने व्यवस्था छ। इथानोलको मूल्य भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संयोजक रहने समितिको सिफारिसमा मन्त्रिपरिषद्ले निर्धारण गर्नेछ।
सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत पनि प्रदूषण नियन्त्रण र पेट्रोलको आयात न्यूनीकरण गर्न पेट्रोलियम पदार्थमा बायोइथानोल मिश्रण गर्ने योजना अघि सारेको थियो।
नेपालमा दुई दशकअघि अर्थात् २०६० सालतिरै पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने योजना बनाइएको भए पनि आवश्यक कार्यविधि र उत्पादन संरचना नहुँदा अहिलेसम्म कार्यान्वयन हुन सकेको थिएन।
हाल सरकारले स्पष्ट नीति र कानुनी आधार तयार गरेपछि ऊर्जा क्षेत्रमा वैकल्पिक स्रोतको विकास र कृषिमा आधारित उद्योग विस्तारको सम्भावना बढेको विश्लेषण गरिएको छ। विशेषज्ञहरूका अनुसार इथानोल उत्पादन विस्तार हुन सके पेट्रोल आयात घटाउने, विदेशी मुद्रा बचत गर्ने र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने तीनवटै लक्ष्य एकैसाथ हासिल गर्न सकिनेछ।
प्रकाशित: २४ फाल्गुन २०८२ १०:२७ आइतबार





