एकमहिना अघिको जेनजी आन्दोलनले पर्यटन क्षेत्र अस्तव्यस्त बन्यो। मुख्य पर्यटकीय सिजन सुरु हुनै लाग्दा भएको आन्दोलनले विदेशी पर्यटकको यात्रा प्रभावित बन्यो। घुमघामका लागि नेपाल आउन थालेका विदेशी पर्यटकले धमाधम यात्रा रद्द गरे। यतिबेलाको सिजनका लागि आएको उत्साहजनक अग्रिम बुकिङ आन्दोलनपछि एकाएक ओरालो लागेको व्यावसायीले बताउँदै आएका छन्।
आन्दोलनका क्रममा पर्यटकीय पूर्वाधारमा तोडफोड र आगजनी भएको थियो। पोखरामा मात्र पर्यटन क्षेत्रमा आवद्ध झन्डै दर्जन पूर्वाधारमा क्षति भएको थियो। पर्यटन व्यावसायीका अनुसार पर्यटन क्षेत्रमा भएको क्षति तथा आन्दोलनको प्रभावले विदेशी पाहुना नआएपछि पर्यटनमा आश्रित मजदुर बेरोजगार बनेका छन।
त्यसबाहेक पूर्वाधार भएको तोडफोड र आगजनीपछि ती पर्यटकीय पूर्वाधारमा कार्यरत सयौं पर्यटन मजदुर पनि बेरोजगार बनेको उनीहरुको भनाई छ। पर्यटकलाई सेवा दिएर आम्दानी गर्दै आएका धेरै मजदुर बेरोजगार बनेको उनीहरुको भनाई छ। पर्यटन बोर्डका अनुसार जेनजी आन्दोलनका कारण देशभरका करिब २५ सय जना मजदुर बेराजगार बनेका छन्। विदेशी पाहुना नभित्रिएसम्म ती मजदुरले पर्याप्त काम पाउने सम्भावना नरहेको बोर्डको भनाई छ। क्षति भोगेका कतिपय पूर्वाधार पहिलेकै अवस्थामा फर्किन समय लाग्ने हुँदा त्यहाँ कार्यरत मजदुर झनै लामो समय प्रभावित हुनसक्ने पनि बोर्डको भनाई छ।
पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेका अनुसार जेनजी आन्दोलनका कारण कम्तिमा २५ सय पर्यटन मजदुर बेरोजगार बनेका छन। तीमध्ये करिब एकहजार मजदुर पोखरा क्षेत्रबाट मात्र प्रभावित भएको लामिछानेको भनाई छ।
‘पर्यटकीय पूर्वधारमा तोडफोड र आगजनी भएपछि त्यहाँ कार्यरत मजदुर बेरोजगार बनेका छन। त्यसबाहेक पर्यटकलाई सेवा दिएर आम्दानी गर्दै आएका मजदुर पनि बेरोजगार बनेका छन,’ लामिछाने भन्छन, ‘नेपाल आउने तयारीमा रहेका पाहुना एकाएक रोकिए। यो सिजनका लागि बुकिङ गरेका धेरै पाहुनाले यात्रा रद्द गरेपछि ती पाहुनालाई सेवा दिएर आम्दानी गर्ने तयारीका मजदुर बेरोजगार बन्न पुगे।’
यो बेला पर्यटनको सिजन हो । जेनजी आन्दोलन नहुँदो हो त यो बेला पर्यटन क्षेत्रमा विदेशी पाहुनाको भीडभाड हुन्थ्यो। यो सिजनका लागि आएको आग्रिम बुकिङले व्यावसायी उत्साही पनि थिए। तर, आन्दोलनले गर्दा पाहुना रोकिएपछि त्यसमा निर्भर कामदार बेरोजगार बनेको उनले बताए। लामिछानेका अनुसार पदयात्रा, ट्राभल, जलयात्रा, विभिन्न ट्रेकिङ सपमा कार्यरत मजदुर बढी प्रभावित भएका छन।
‘पाहुनालाई पदयात्रा गराएर आएको आम्दानीले घर चलाउने अवस्था मजदुरको थियो। तर, आन्दोलनका कारण पाहुना आउनै पाएनन। पाहुना नआएपछि मजदुरले काम पाएनन,’ उनले भने, ‘कामविहीन अवस्थामा उनीहरुले ज्याला पाउने अवस्था रहन्न। यो सिजनमा २÷४ पैसा कमाउने आशमा बसेका पर्यटन मजदुर बेरोजगार बनेका छन। विदेशी पाहुना भित्रिन नथालेसम्म ती मजदुरले काम पाउन सक्दैनन।’
आन्दोलनले समग्र पर्यटन क्षेत्रलाई मार पारेको भएपनि पर्यटकलाई प्रत्यक्ष सघाएर आम्दानी गर्ने मजदुर बढी समस्यामा परेको उनले बताए। ‘पाहुना नै नआएपछि समग्र पर्यटन क्षेत्रलाई असर परेको छ। तर, प्रत्यक्ष रुपमा दैनिक ज्याला लिएर पर्यटकलाई सेवादिने ज्यालादारी मजदुर बढी प्रभावित बनेका छन,’ उनले भने, ‘दैनिक ज्यालाको भरमा गुजारा चलाउनेलाई बढी सकस परेको छ।’
यसअघि कोरोना भाइरस संक्रमण सुरु भएपछि पनि यसैगरि मजदुरहरु बेरोजगार बनेका थिए। कोरोना संक्रमणले धेरै व्यावसायी र मजदुरलाई पेशाबाट बिस्थापित समेत बनाएको थियो। ‘कोरोनाले लामो समय प्रभावित पारेको थियो। जसले गर्दा मजदुर र व्यावसायी नै बिस्थापित बनेका थिए। तर, अहिले भने त्यत्ति लामो समय त होईन। विदेशी पाहुना आउन थालेपछि त काम पाइहाल्छन। तर, यो सिजनबाट भने कमाउने अवस्था रहन्न,’ उनले भने।
उनका अनुसार यो बेला पदयात्राको उपयुक्त समय हो। पदयात्राका लागि भनेर मात्र ठूलो संख्यामा विदेशी पर्यटक यतिबेला नेपाल आउन चाहेका थिए। तीमध्ये अधिकांश विदेशी पाहुना रोकिएको उनले बताए।
‘पोखरा हुँदै अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्कने पाहुना पर्याप्त हुन्थे। तर, अहिले पाहुना आएनन। पाहुना नआएपछि ट्रेकिङ गाइड र सहयोगी सहित पदमार्गका ठाउँठाउँका होटलमा कार्यरत मजदुरले पनि काम पाएनन्,’ उनले भने, ‘पाहुना नभएपछि होटल नै चलेनन। होटल नचलेपछि कतिपय मजदुर कामविहीन बने।’
व्यावसायीका अनुसार सिजनका लागि भनेर पदमार्गका होटलले अतिरिक्त मजदुर थप्ने गर्छन। पाहुनाको आकार बढ्ने भएकोले उनीहरुलाई आतिथ्यता प्रदान गर्नका लागि यो सिजनका लागि मात्र भनेर कामदार थपेकोमा पाहुना नआएपछि ती कामदारलाई काम नपुगेको उनीहरुको भनाई छ।
पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका पर्यटनका जानकार टिकाराम सापकोटा पनि जेनजी आन्दोलनले सयौं पर्यटन मजदुर बेरोजगार बनेको बताउँछन। ‘कम्तिमा २५ सय मजदुर प्रभावित भएका छन। तीमध्ये बढीमा ५ सय मजदुर काममा फर्केको अनुमान छ। तर, अहिलेसम्म पनि दुईहजार जति बेरोजगारै अवस्थामा रहेको अनुमान गर्न सकिन्छ,’ सापकोटा भन्छन, ‘तोडफोड र आगजनी भएका होटलमा कार्यरत सयौं मजदुर प्रभावित भएका छन। ती मजदुरले तत्कालै काम पाउने अवस्था रहन्न। त्यस्तै पर्यटक नै नभएपछि पदयात्रामा निर्भर कामदार, गाइड, पोर्टरदेखि स्वरोजगार व्यावसायीलाई पनि असर गर्छ।’
ट्राभल, ट्रेकिङ देखि ट्रेकिङका सामान बेच्ने व्यावसायी पनि प्रभावित भएको उनले बताए। ‘विदेशी पाहुना नआएसम्म पर्यटन मजदुरको रोजीरोटी चल्दैन। तत्कालको अवस्थामा पदयात्रामा जाने यूरोपियन पर्यटक रोकिएका छन,’ उनले भने, ‘यो सिजनका लागि पर्यटक आउने सम्भावना छैन। पाहुना नआएपछि मजदुरले काम पाउने अवस्था रहन्न।’
प्रकाशित: २६ आश्विन २०८२ १६:४६ आइतबार




