२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अर्थ

बिमा क्षेत्रका समस्या समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

नेपाल निर्जीवन बिमा व्यवसायी संघले बिमा क्षेत्रका समस्या समाधानका लागि पहल गर्न बिमा प्राधिकरणलाई आग्रह गरेको छ । संघका पदाधिकारीले बिमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोख्रेलसँग भेटी संघले ध्यानाकर्षण गरेको हो 

नेपाल पुनर्बीमा कम्पनीहरूलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पुनर्बीमा कम्पनीका सम्बन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्बन्धमा हाल उल्लेखित प्रावधानहरूबारे संघले प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।  

संघका अध्यक्ष राजेन्द्र मल्लले बिमा क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्नका लागि नीतिगत सुधारको आवश्यकता रहेको बताए । ‘बिमा क्षेत्रमा कम्पनी स्थापना गर्दा बिमा लगायत पब्लिक प्राइभेट पार्टनरसिप कम्पनीहअरुको प्रमोटर र पब्लिक सेयरमा विद्यमान ७० –३० प्रतिशतको रेसियोलाई ५१ –४९ प्रतिशतमा कायम गर्न आवश्यक छ ,’ मल्लले भने, ‘यसले सर्वसाधारण लगानकर्ताहरूलाई नै फाइदा पु¥याउँछ ।’

नेपाली पुनर्बीमा कम्पनीहरूलाई दिई आएको प्रत्यक्ष हिस्स सम्बन्धमा स्थानीय पुनर्बीमा कम्पनीको क्षमता र कार्यसम्पादनको अवस्थाको विश्लेषण गरी उल्लेखित हालको ६/६ प्रतिशत गरी १२ प्रतिशत( आगामी आर्थिक वर्षमा हुने ४/४ प्रतिशत गरी ८ प्रतिशत) व्यवसाय मध्ये स्थानीय पुनर्बीमा कम्पनीलाई बराबर बाँडफाँड गर्ने वा दुई मध्ये कुनै कम्पनीलाई घाटा वा बढी दिन सकिने गरी व्यवस्था गर्न संघले आग्रह गरेको छ ।  

नेपाल निर्जीवन बिमा व्यवसायीसंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ बिमा ऐन २०७९ को दफा ८१ को उपदफा (१) को खण्ड (ग) मा देशभित्र स्थापित पुनर्बीमकसंग प्राधिकरणले तोकेको प्रतिशत भन्दा कम नहुने गरी अनिवार्य रुपमा पुनर्बीमा गराउनुपर्नेछ भन्ने व्यवस्थालाई आधार मानेर स्वदेशमा स्थापित दुई पुनर्बीमा कम्पनीलाई सुरुदेखिकै जोखिममा ६/६ प्रतिशत प्रत्यक्ष हिस्सा छुटाउनुपर्ने  र हरेक वर्ष २ प्रतिशतको दरले घटाउँदै लैजाने व्यवस्था रहेको छ । उक्त व्यवस्था ऐनको मर्म अनुकूल नभएको हुँदा ऐनको व्यवस्था बमोजिम बिमा कम्पनीहरूले धारणा गर्न मञ्जुर गरेको जोखिम बाहेक बाँकी हुन आउने जोखिमको मात्रै पुनर्बीमा गरिदिनुहुन अनुरोध छ, ।’

नेपाली पुनर्बीमा कम्पनीहरू सञ्चालनमा आएपनि ऐच्छिक सुविधा अन्तर्गत नेपालकै पुनर्बीमा कम्पनीमा पठाउनुपर्ने र उनीहरूले व्यवसाय लिन इन्कार गरे मात्रै विदेशी पुनर्बीमा कम्पनीमा पठाउने व्यवस्था कार्यान्वयन गर्न पनि जटिलता रहेको संघले जनाएको छ । हालको प्रचलन अनुसार नेपाली पुनर्बीमा कम्पनीले जोखिम कम भएको व्यवसाय स्वीकार गर्ने र जोखिम बढी भएको व्यवसाय अस्वीकार गर्ने गरिएको भन्दै संघले समयमै निर्णय हुन नसक्दा कतिपय अवस्थामा बीमितलाई समयमै बिमा लेख दिन नसकिएको बताएको छ ।

पुनर्बीमा शुल्क बढी भएका कारण बीमितलाई थप मर्का परेको र यस्तो अवस्थामा नेपाली कम्पनीहरूलाई मुल्याङकन गर्ने विदेशी पुर्नबीमा कम्पनीको दृष्टिकोण नकारात्मक भई पुनर्बीमा व्यवसायमा धक्का पुग्ने संघले बताएको छ । निर्जीवन बिमा व्यवसायी संघले ५० प्रतिशतको जगेडा कोषको विद्यमान व्यवस्थालाई खारेज गरी २० प्रतिशतमा झार्न पनि प्राधिकरणसमक्ष आग्रह गरेको छ ।  नेपाल बिमा कम्पनीका संचालनकहरुलाई नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्व गराउन समेत संघले अनुरोध गरेको छ ।

प्रकाशित: २२ श्रावण २०८२ १७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App