१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

जुम्लामा स्याउ बोर्ड गठन हुने

जुम्लामा स्याउ बोर्ड गठन हुने भएको छ । उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनोद कुमार शाहले कर्णालीको कृषि भविष्य नयाँ दिशा तर्फ अघि बढ्ने संकेत गरे ।  

मन्त्रीको सम्बोधनले अब जुम्लामा कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने संकेत मिलेको सहभागीको बुझाइ छ । मन्त्री शाहले भने, ‘कर्णालीमा कृषि सम्भावना अपार छ। तर नीति पर्याप्त छैन। सहकार्य, जिम्मेवारी र स्थानीय तहको सक्रियताले मात्र नयाँ कृषि युग सुरू गर्न सक्छ।’  

उनले चाँडै स्याउ विकास बोर्डको मुख्य कार्यालय जुम्लामै स्थापना गर्न सरकारले काम गरिरहेको बताए । बोर्ड गठन भएपछि स्याउ उत्पादनले कर्णालीको अन्तर्राष्ट्रिय बजारमा जोड्ने उनले दावी गरे ।  

कार्यक्रममा प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाहीले कर्णालीको दीर्घकालीन कृषि पहिचान निर्माण गर्न उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम उपयोगी हुने बताए ।  

करिडोर कार्यालयका प्रमुख सन्तोष भारतीले परियोजना प्रारम्भिक चरणमा चन्दननाथ नगरपालिका र पाँच गाउँपालिकामा लागू हुने बताए । स्थानीय किसान गोपाल रोकायाले भने, ‘हामीले अब हाम्रो उत्पादन केवल उपभोगका लागि नभई व्यवसायिक रूपमा अगाडि बढाउने अवसर पाउनेछौं।’

परियोजनाले जैविक तरकारी, उच्च गुणस्तरका स्याउ, अर्गानिक फलफूल, दुग्ध तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, प्रशोधन, भण्डारण र बजार पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ। 

प्रकाशित: ३ मंसिर २०८२ २१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App