१ चैत्र २०८२ आइतबार
image/svg+xml
अर्थ

सडकमा सवा १२ अर्ब क्षति

वर्षाले बन्द भएका सबै राजमार्ग तीन दिनभित्र खुल्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोज १८ र १९ गते आएको अबिरल वर्षाको कारण बन्द भएका सबै राजमार्ग तथा सहायक मार्गहरू तीन दिनभित्र पूर्ण रूपमा खुल्ने  जनाएको छ।

मन्त्रालयका सचिव केशव शर्माले वर्षाका कारण बन्द भएका राजमार्ग तीन दिनभित्र पूर्ण रूपमा खुलाउने गरी मन्त्रालयले मातहातका  सबै सडक डिभिजन तथा विभिन्न सडक आयोजना कार्यालयहरूलाई निर्देशन  दिएको र उक्त निर्देशन अनुसार डिभिजन तथा आयोजना कार्यालयहरूले काम गरिरहेको बताए।

उनले भने, ‘तीन दिनभित्र वर्षाको कारण बन्द भएका सबै राजमार्ग खुल्ने छन्।’ उनका अनुसार हाल विपी, मेची र खाँदबारी किमाथांका राजमार्ग मात्र अबरुद्ध भएका छन्। अन्य राजमार्गहरू खुलिसकेका छन्।

शर्माका अनुसार असोज १८ र १९ गते आएको वर्षाको कारण देशभरि १३ वटा राजमार्गहरू बन्द भएका थिए। क्षति भएका राजमार्गहरूमा  कोसी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट-मुग्लिन, विपी, बेनी–जोमसोम, तमोर कोरिडोर, संखुवासभा खाँदबारी किमाथांका, त्रिभुवन राजपथ, पृथ्वी राजपथ, हेटौडा कुलेखानी खण्ड  लगायतका राजमार्ग रहेका छन्।

विपी राजमार्गको व्यवस्थापनको जिम्मेवारी लिएको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले आगामी शुक्रबारसम्म विपी राजमार्ग पूर्ण रूपमा खुलाउने प्रयास भइरहेको बताए। ‘कथमकदाचित शुक्रबारसम्म विपी राजमार्ग खुलाउन सकेनौं भने बढीमा शनिबारसम्म विपी राजमार्ग खुलाउने छौं’, उनले भने।

योगेशका अनुसार गत असोज १८ गते राती आएको वर्षाका कारण विपी राजमार्गको १४ ठाउँमा डाइभर्सन बिग्रिएको छ। ‘हामीले ७/८ मिटरसम्म ड्राइभर्सन बनाएका थियौं। वर्षाले २/३ मिटरसम्म भत्काएको छ’, योगेशले भने, ‘वर्षाले पक्की संरचना बिगारेको छैन। ड्राइभर्सन मात्र ध्वस्त बनाएको हो।’

वर्षाले डाइभर्सन ध्वस्त बनाउँदा त्यसबाट करिब पाँच करोड रुपैयाँ बराबरको क्षति पुगेको उनको अनुमान छ। पोहर साल असोज ११ र १२ गते आएको वर्षाले विपी राजमार्गमा सबैभन्दा बढी क्षति पुर्‍याएको थियो। त्यसबेला भत्केको सडक स्थायी रूपमा पक्की बनाउन सडक डिभिजन भक्तपुरले तीन चरणमा काम अघि बढाइसकेको छ।

पोहर साल भत्केको  करिब २८ किलोमिटर बाटोलाई दुई लेनमा बनाउन सडक डिभिजन भक्तपुरले विभिन्न चरणमा  ठेक्कासमेत लगाइसकेको छ। पक्की संरचना बनाउन ठेक्का लगाउनु अघि भक्तपुर डिभिजनले त्यतिबेला  तत्काल बाटो खुलाउन ठाउँ–ठाउँमा डाइभर्सन बनाएको थियो। त्यही डाइभर्सनमा अहिले क्षति पुगेको छ।

यसैगरी सडक डिभिजन दोलाखाका प्रमुख नारायण दत्त भण्डारीले वर्षाले क्षति पुगेको अरनिको राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आइसकेको बताए।

१२ अर्ब क्षति पुगेको अनुमान

मन्त्रालयले गत असोज १८ र १९ गते आएको वर्षा र बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ।

मन्त्रालयका अनुसार यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि एक अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडकलाई सञ्चालन गर्न मातहतका निकायले उच्च प्राथमिकताको साथ काम गरिरहेको बताए। अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र आफू तथा  मन्त्रालयका तर्फबाट कामको नियमित अनुगमन भइरहेको उनको भनाइ थियो।

मन्त्रालयका सचिव शर्माका अनुसार यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ। मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। क्षति भएका कोसी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट- मुग्लिन लगायतका राजमार्गको पुनर्निर्माणका लागि झन्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान मन्त्रालयले गरेको छ।

त्यस्तै क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान मन्त्रालयले गरेको छ। मन्त्रालयका अनुसार  क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नुपर्ने नयाँ बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

यसैगरी वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

प्रकाशित: २३ आश्विन २०८२ ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App