मध्यपूर्वका मुलुकमा जारी तनावका कारण नेपाली पर्यटन क्षेत्रले मार खेपिरहेको छ। सिजनको समयमा नेपाल आउन चाहेका विदेशी पाहुना आउन सकेका छैनन्। विशेषगरि अमेरिकी र यूरोपियन मुलका पाहुना बढि प्रभावित भएको व्यावसायीले बताईरहेका छन्। नेपाल आउनका लागि विदेशी पाहुनाले अग्रिम रुपमा बुकिङ गरेको हवाई टिकट पनि धमाधम रद्द गरिरहेको भन्दै हवाई कम्पनिले चिन्ता जनाएका छन्।
पछिल्लो समय मध्यपूर्वका मुलुकको तनावको बाछिटाको प्रभावस्वरुप नेपालमा हवाई इन्धनको मुल्य झन्डै दोब्बरले बढेको छ। हवाई इन्धनको मुल्य बढेपछि हवाई यात्रा महंगो भएको एयरलाईन्सले बताएका छन्। हवाई यात्रा महंगो हुँदै जाँदा हवाईजहाजका यात्रु थालेको भन्ने चिन्ता एयरलाइन्सको छ। कतिपय उडान मर्ज हुनसक्ने पनि उनीहरुको भनाई छ।
बुद्ध एयरले विहीबार विज्ञप्ती जारी गर्दै खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको जनाएको छ। विदेशी पर्यटकले बुकिङ गरेका हवाई टिकट समेत धमाधम रद्द गरिरहेको बुद्ध एयरको भनाई छ। तनावकै कारण नेपालको आन्तरिक तथा बाह्य हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको एयरलाइन्सको भनाई छ।
‘हालै हवाई इन्धन शुल्कमा भएको वृद्धि अप्रत्याशित मात्र नभई अहिलेसम्मकै उच्च रहेको छ। स्वचालित रुपमा भएको इन्धन मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव हवाई भाडादरमा परेको छ,’ बुद्ध एयरको विज्ञप्तिमा उल्लेख छ। हवाई इन्धनको भाउ बढेसँगै हवाई कम्पनिले गरेको भाडा समायोजन प्रचलित नियमअनुसारकै भएको कम्पनीले स्पष्ट पारेको छ।
बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले प्रतिकूल परिस्थितिमा पनि अत्यन्त संयमता अपनाउँदै न्यूनतम स्तरमै भाडादर वृद्धि गर्नुबाहेक अन्य विकल्प नरहेको बताएका छन। उनका अनुसार हवाई सेवाको कुल सञ्चालन लागतको करिब ४० प्रतिशत हिस्सा इन्धनमै खर्च हुने गर्दछ, तर हालको मूल्यवृद्धि पछि यो अनुपात झण्डै ५० प्रतिशत हाराहारीमा पुगेको छ।
यससँगै अमेरिकी डलरको मूल्यवृद्धिका कारण जहाजका पार्टपुर्जा, मर्मतसम्भार, प्राविधिक जनशक्तिको तालिम तथा अन्य आवश्यक खर्च समेत उल्लेखनीय रुपमा बढेको बुद्ध एयरको भनाई छ। नेपाल आयल निगमले केहीदिन अघि मात्र हवाई इन्धनको मुल्य करिब ९८ प्रतिशत वृद्धि गरेको थियो। हवाई इन्धनको मुल्य वृद्धि भएपछि हवाई भाडा अन्तर्गत फ्यूल सरचार्ज बढ्दा हवाई भाडा पनि ह्वात्तै वृद्धि भएको छ।
काठमाडौ–पोखरा रुटमा मात्र फ्यूल सरचार्ज करिब दुईहजार रुपैयाँले बढ्दा झन्डै चारहजार पुगेको छ। यात्रुले बढेको फ्यूल सरचार्ज हवाई टिकटमै जोडेर तिर्नुपर्छ। त्यसबाहेक एयर फेयर, विमानस्थल सेवा शुल्क र मुल्य अभिवृद्धि कर समेत यात्रुले नै तिर्नुपर्छ। नेपाल आयल निगमले प्रतिलिटर १ सय २७ मा बिक्री गरिरहेको इन्धनलाई गत मंगलबारदेखि बढाएर प्रतिलिटर २ सय ५१ रुपैयाँ पुर्याएको छ।
हवाई कम्पनिका पदाधिकारीका अनुसार अहिले आन्तरिक उडानमा मात्र नभई अन्तर्राष्ट्रिय उडानमा पनि हवाई भाडा वृद्धि भएको छ। मध्यपूर्वको तनाव सहित हवाई उडान प्रभावित भएको तथा इन्धनको मुल्यवृद्धिले पनि भाडा वृद्धि भएपछि अहिले अन्तर्राष्ट्रिय उडानका यात्रु पनि प्रभावित भएका छन्। कतिपय यात्रुले उडान बुकिङ गरेको भएपनि अहिले टिकट रद्द गरिरहेका छन।
‘जसोतसो काठमाडौं ओर्लिएका पाहुना पनि अब अन्यत्रका गन्तव्यमा नजान सक्छन। यसै त नेपालसम्मकै अन्तर्राष्ट्रिय हवाई यात्राको मुल्य आकाशिएको छ, त्यसपछि आन्तरिक यात्रा पनि महंगो परेपछि यात्रा प्रभावित हुने पक्का छ,’ हवाई कम्पनिका एकजना अधिकारीले भने।
यती यरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले पछिल्लो समय अन्तर्राष्ट्रिय उडान प्रभावित भएसँगै नेपालको आन्तरिक हवाई यात्रुको संख्या पनि घट्न थालेको बताए। ‘मध्यपूर्वका मुलुकमा रोजगारीका लागि आउजाउ गर्ने नेपाली यात्रुहरु पर्याप्त हुन्थे। तर, अहिले ती यात्रु पनि घटिसकेका छन। विदेशबाट आउने पर्यटक त यसै पनि प्रभावित भएका छन,’ बर्ताैलाले भने, ‘मध्यपुर्वका मुलुकको प्रभाव नेपालको आन्तरिक हवाई यात्रामा समेत परेको छ। यसले व्यवस्थापना सकस थपिएको छ।’
इन्धनको मुल्य बढेसँगै हवाई भाडा बढेपछि हवाई यात्रुहरु स्थलमार्गबाट यात्रा गर्ने उनले बताए। ‘बरु एकदिन छिटो वा ढिलो होस, तर, स्थलमार्गबाटै आउजाउ गर्ने भनेर यात्रुहरुले हवाई यात्रा छाड्नेछन। अहिलेको इन्धनको मुल्य वृद्धिको प्रभाव झनै बढ्दै जाने देखिएको छ,’ उनले भने। त्यसबाहेक डलरको मुल्य वृद्धि हुँदा पनि समस्या भएको उनले बताए।
पर्यटन व्यावसायी पनि मध्यपूर्वको प्रभावले अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा विदेशी पर्यटक भित्रिन नपाएको र आन्तरिक उडान पनि महंगो पर्दा पर्यटन क्षेत्र धराशायी हुने चिन्ता जनाउँछन। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘अन्तर्राष्ट्रिय हवाई उडानले काठमाडौंसम्मको यात्रा प्रभावित भएको छ। विदेशी पर्यटक चाहेर पनि नेपाल आउन सकेका छैनन। आएका पाहुना पनि स्वदेश फर्किदा महंगो हवाई यात्राको मारमा परेका छन। इन्धनको मुल्य बढेसँगै नेपालको आन्तरिक हवाई यात्रा पनि महंगो बनेको छ। यसले यात्रा प्रभावित पारेको छ।’ सिजनको बेलाको पर्यटन क्षेत्र पाहुनाविहीन हुने अवस्था सिर्जना भएको उनले सुनाए।
प्रकाशित: १९ चैत्र २०८२ १७:३१ बिहीबार





