११ भाद्र २०८३ बिहीबार
image/svg+xml
अर्थ

काठमाडौंमा मासुको व्यापार आधाले घटेपछि व्यापारी चिन्तित

साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीले गुनासो गरेका छन्। विगत २० वर्षदेखि कलङ्कीमा मासु व्यापार गर्दै आएका सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछामासुको व्यापारमा आधाले कमी आएको छ।

‘अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल छ,’ उनले भने, ‘सोमबार त झन् धेरै कम सङ्ख्यामा बिक्री हुने गरेको छ।’

महर्जनले विगत २० वर्षदेखि खसी र कुखुरा मासुको व्यापार गर्दै आएका छन्। गत वर्षमा पनि साउन महिना लागेपछि माछामासुको व्यापार कमी हुने गरेको थियो। यस वर्ष भने व्यापारमा झन् कमी आएको उनले अनुभव सुनाए।

साउन महिनालाई चोखो र पवित्रको महिना मानिन्छ। यो महिनामा व्रत बस्ने र माछामासु नखाने सर्वसाधारण बढेपछि कारोबार घटेको हो। अहिले बिहे, भोजलगायतका कार्यक्रम नहुँदा पनि त्यसको असर मासु व्यवसायमा परेको छ। उनले भने, ‘अहिले पसल सुनसान छ।’

कलङ्कीका अर्का मासु व्यापारी देव रानाले पनि साउन महिनाले सामुको व्यापारमा कमी आएको गुनासो गरे। असारसम्म दैनिक ३० किलो सामु बेच्ने गरेका रानाले अहिले १५ किलो बिक्री हुन पनि मुस्किल रहेको सुनाए।

हाल राजधानीमा करिब तीन हजार मासु व्यवसायी छन्। करिब एक हजार सानाठूला पशुवधस्थल छन्। सानाठूला गरी राँगाभैँसीका करिब २५० वधस्थल छन्।

पछिल्लो समय काठमाडौं महानगरपालिकामा मापदण्डअनुसार दर्ता नगरी माछामासु व्यवसाय सञ्चालन गर्नेको हाबी रहेको कामपाका वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले जानकारी दिए। यसलाई व्यवस्थापन गर्न कामपाले नियमित अनुगमन गरिरहेको उनको भनाइ छ। माछामासु व्यवसाय गर्ने धेरैलाई यो व्यवसाय कसरी गर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको झाको भनाइ छ।

‘बाह्रदेखि २५ घण्टाको यात्रामा उभ्याएर राख्ने, नाकमा डोरीले बाँधिएको, मुखबाट फिँज निस्केको र शरीरभरि काटिएका, डाम भएका अवस्थामा पशु गन्तव्यमा आइपुग्ने जस्ता विषय सामान्य ज्ञान नहुनुको परिणाम हो,’ झाले भने। रासस

प्रकाशित: १२ श्रावण २०८२ १७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App