८ वैशाख २०८१ शनिबार
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः मंसिर ५ देखि ११ गतेसम्म ‘क्यालिब्रेसन फ्लाईट’

ल्याण्डफिलसाइटको अवस्था उस्तै

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन। फाइल तस्बिरः उमेश पुन÷नागरिक

आगामि जनवरी १ देखि संचालनमा ल्याउने तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाईट’ (यान्त्रीक परीक्षण) आगामि मंसिर ५ गते (२१ नोभेम्बर) बाट सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले मंसिर ११ (२७ नोभेम्बर)सम्म क्यालिब्रेसन फ्लाईटका लागि उडान तालिका स्वीकृत गरेको छ।  

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार यान्त्रीक परीक्षणका लागि थाइल्याण्डको एरो थाई कम्पनिको जहाज नेपाल आइसकेको छ। जहाज गत आइतबार (१३ नोभेम्बर)का दिन काठमाडौं आईसकेको छ । यो जहाज मंसिर १९ (डिसेम्बर ५) नेपालमै रहने प्रवक्ता भुलले जानकारी दिए। ‘एकसाता लगाएर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रीक परीक्षण हुनेछ,’ भुलले भने, ‘परीक्षण अवधिमा विमानस्थलमा जडान गरिएका सबै उपकरणले काम गरे नगरेको भनेर थाहा हुनेछ।’

क्यालिब्रेसन फ्लाइट गर्दा सबै उपकरणले सही रुपमा काम गरेको भन्ने विवरण पछि बल्ल विमानस्थलबाट परीक्षण उडान हुने उनले बताए। उनका अनुसार क्यालिब्रेसन फ्लाइटको रिपोर्ट एकसाताभित्र आइपुग्छ। त्यसपछि बल्ल परीक्षण उडान हुन्छ अहिले क्यालिब्रेसनका लागि विमानस्थलको धावनमार्गको एप्रोचमा पर्ने रिट्टेपानी डाँडा कटान भईरहेको उनले बताए । यो डाँडा १४ मिटर काटिसकेपछि बल्ल क्यालिब्रेसन फ्लाइट हुन्छ। मंसिर ५ सम्म डाँडा कटान भईसक्ने उनले बताए।

रिट्टेपानीमा दुइवटा डाँडा छन। ती मध्ये होचो तर्फको १२ मिटर र अग्लोतर्फको ४० मिटर उचाई कटान गरेपछि मात्र नियमित उडान हुने प्राधिकरणले यसअघि नै बताईसकेको छ। तर, क्यालिब्रेसन फ्लाइट गर्नका लागि अग्लोतर्फको १४ मिटर मात्र उचाई काटे पुग्छ।  

प्राधिकरणले एरो थाईको यही जहाजबाट अरु विमानस्थलको पनि नियमित यान्त्रीक परीक्षण गर्नेछ। प्रवक्ता भुलका अनुसार आइएफआर (इन्स्ट्रुमेन्ट फ्लाईट रुल्स) उडान हुने अरु विमानस्थलको पनि परीक्षण गरिनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सुर्खेत विमानस्थल, धनगढी, चन्द्रगढी विमानस्थलको पनि नियमित यान्त्रीक परीक्षण हुनेछ।  

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रीक परीक्षण मंसिर ५ गतेदेखि सुरु हुने भएपनि यो जहाज भने मंसिर २ मै पोखरा आउनेछ। पोखरा आएको भोलिपल्ट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारी र प्राविधिकसँग छलफल हुनेछ । दुईदिनसम्म पोखरामा छलफल पछि मंसिर ५ गतेदेखि परीक्षण उडान सुरु हुने उनले बताए। ‘विमानस्थलको कम्युनिकेसन, नेभिगेसन लगायतको परीक्षण हुनेछ। विमानस्थलमा जडान गरिएका सबै उपकरणले काम गरे नगरेको भनेर परीक्षण हुनेछ,’ उनले भने।  

प्राधिकरणले जनवरी १ देखि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारी गरिरहेको छ। ‘प्राधिकरणको तालिका अनुसार संचालनमा कुनै अप्ठेरो नआओस भनेर तयारी भईरहेको हो। अहिलेसम्म तयारी अघि बढिरहेको छ,’ उनले भने।  

ल्याण्डफिलसाइटको अवस्था उस्तै

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाईटका लागि एरो थाइ कम्पनिको जहाज नेपाल आईसकेको छ। नेपालको हवाई क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले जहाजको उडान तालिका स्वीकृत पनि गरिसकेको छ। त्यही अनुसार विमानस्थल संचालनमा अवरोध मानिएको धावनमार्गको एप्रोचमा पर्ने लेखनाथको रिट्टेपानी डाँडा कटान पनि सुरु भईसकेको छ। तर, विमानस्थल संचालनमा अर्काे मुख्य चुनौती मानिएको नजिकैको ल्याण्डफिल साइट स्थानान्तरणको काम भने अझै सुरु भएको छैन।

बाच्छेबुडुवास्थित ल्याण्डफिल साइटमा अहिले पोखरा महानगरले सहरको फोहर व्यवस्थापन गरिरहेको छ। विमानस्थल र ल्याण्डफिलसाइटको दुरी करिब दुइकिलोमिटर भित्र पर्छन। ल्याण्डफिलसाइटको फोहरका कारण चरा आकर्षित हुने र त्यसको जोखिम विमानस्थललाई पर्ने विज्ञहरुले बताईरहेका छन। ल्याण्डफिल साइट हटाउने जिम्मा महानगरको हो। तर, अहिलेसम्म महानगरले ल्याण्डफिलसाइटबारे वैकल्पिक व्यवस्था गरिसकेको छैन।  

महानगरका सूचना अधिकारी जितेन्द्रजंग केसीले भने हाल प्रयोगमा रहेको ल्याण्डफिलसाइटमा मंसिर १८ गतेदेखि फोहर फ्याक्न रोक्ने भन्दै प्राधिकरणलाई पत्राचार गरेको जानकारी दिए।  ‘हाल फोहर व्यवस्थापन भईरहेको बाच्छेवुडुवाको ल्याण्डफिलसाइटमा मंसिर १८ गतेदेखि फोहर फ्याक्न रोकिनेछ। ल्याण्डफिलसाइट कारणले विमानस्थल संचालनमा अवरोध नआउने भनेर हामीले प्राधिकरणलाई पत्राचार गरिसकेका छौ,’ उनले भने।  

ल्याण्डफिलसाइटमा फोहर फ्याक्न रोकिएपनि त्यसपछि सहरको फोहर कहाँ लैजाने वा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिलेसम्म जानकारी नआएको केसीले बताए। ‘मंसिर १८ पछि सहरको फोहर कहाँ लैजाने भन्ने बारेमा अहिलेसम्म मेरो जानकारीमा छैन । कतै न कतै विकल्प निस्केला भन्ने हो,’ उनले भने, ‘यसबारेमा महानगरले केही सोचिरहेको पक्कै छ।’  

महानगरका सूचना अधिकारी केसीले फोहर व्यस्थापनका लागि कुनै नयाँ टेण्डर आव्हान समेत नभएको बताए। यसअघि महानगरका मेयर धनराज आचार्यले स्थायी रुपमा फोहर व्यवस्थापन गर्नेगरि प्लान्ट जडान गर्नका लागि टेण्डर आव्हान गर्ने तयारी भईरहेको जानकारी दिएका थिए।

बुद्धको तयारी

बुद्ध एयरले पोखरादेखि भारतको वनारससम्म सिधा उडान गर्ने घोषणा सोमबार गरेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने प्रथम अन्तर्राष्ट्रिय उडानको रुपमा बुद्धले पोखरा–वनारस–पोखरा उडान गर्न थालेको बताएको छ। सातामा तीनदिन (आइतबार, मंगलबार र विहीबार) उडान गर्ने बुद्धको योजना छ।  

त्यसबाहेक एयर ट्राफिक सर्भिस (एटिएस) रुटका लागि नेपाल सरकारले भारत सरकारसँग पहल गररहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा उडान गर्ने पनि बुद्धले बताएको छ। पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुइ र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडान गर्ने तयारी पनि बुद्धले गरेको छ।

प्रकाशित: २९ कार्तिक २०७९ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App