१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चितवनमा भारतीय माछा बिक्री वितरणमा प्रतिबन्ध

भारतीय माछा आयातमा रोक लगाएका किसानले चितवनमा बिक्री वितरणमा पनि प्रतिबन्ध लगाएका छन्। मत्स्य व्यवसायी संघ चितवनको आह्वानमा जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख-उपप्रमुख, व्यवसायी, सुरक्षाकर्मी सहितको बैठकले भारतबाट बरफमा प्याकेजिङ गरेर हुने माछाको आयातलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो। चितवनमा माछा आयात नगर्नेमा जनप्रतिनिधि र व्यवसायीहरू तयार भएका छन्।

‘हामीले चितवनलाई पुग्ने माछा उत्पादन गरेका छौं, भारतबाट आयात गर्नु पर्दैन,’ सुवेदीले भने, ‘भारतीय माछा बिक्री वितरणलाई रोक लगाउन यहाँका सरोकारवाला पक्षहरूपनि सकारात्मक हुनुहुन्छ।’ उनका अनुसार, चितवनमा वार्षिक सात हजार मेट्रिक टन माछा उत्पादन हुन्छ। जिल्लामा आवश्यक पर्ने ४ हजार मेट्रिक टन खपन हुने सुवेदीको भनाइ छ। विषाक्त माछा र माहुर जातको माछालाई पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको उनले बताए। चितवन दुई वर्षदेखि माछामा आत्मनिर्भर रहेको उनले जिकिर गरे। ‘नेपाल माछामा आत्मनिर्भर छैन। लगभग बाग्मती प्रदेश माछामा आत्मनिर्भर छ,’ उनले भने, ‘चितवन दुई वर्ष अगाडिबाटै आत्मनिर्भर बनेको हो।’ यहाँबाट काठमाडौं, पोखरा, गोरखा, लम्जुङका सहरमा माछा जाने गरेको छ।

केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले चितवन माछामा आत्मनिर्भर भएकाले स्वदेशी माछाको प्रवद्र्धन गर्न भारतीय माछा रोकिएको बताउँछन्। ‘विषादीयुक्त रसायन राखिएका माछा होइन, स्वदेशी माछा खपत गर्ने वातावरण सिर्जना गर्ने पहल हो’, उनले भने, ‘हामीसँग पर्याप्त उत्पादन छ, आयात गरिरहनुपर्दैन।’ मत्स्य व्यवसायी संघको केन्द्रीय र जिल्ला तहका नेतृत्वसहित जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, कल्पना काफ्ले सापकोटा, भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारी, माडीका मेयर ताराकुमारी काजी महतो, कालिकाको उपमेयर विमला तामाङ, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जीवि सुवेदी लगायतको बैठकले माछाको आयात नगर्ने निर्णय गरेको हो।

चितवनका माछा किसान भदौ १ गतेदेखि आन्दोलित छन्। उनीहरूले देशभर भारतबाट भन्सार छलेर ल्याइएका माछालाई रोक लगाउने अभियान नै चलाएका थिए। सिन्धुलीको भिमात नाका, हेटौडाको रातमाटे र भैंसे, चितवनको रामनगरमा १३ दिनसम्म अनुमगन गर्दा विषादीयुक्त र अखाद्य करिब १ सय क्विन्टल माछाहरू नष्ट गरिएको थियो।

विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा सो अभियान प्रभावकारी नभएको किसान नेत्र आले बताउँछन्। ‘फर्मालिङको ल्याव त छ तर नाइटराईड परीक्षण गर्ने प्रयोगशाला छैन,’ उनले भने, ‘माछामा अखाद्य विषादीयुक्त रसायन भए नभए पत्ता लगाउन रामनगरमा रहेको पशु क्वारेन्टाइनलाई आधुनिक, प्रविधि र प्राविधिक जनशक्तियुक्त बनाउन समेत अपिल गर्ने निर्णय गरेको छ।’

मत्स्य व्यवसायीहरू अर्थमन्त्री, गृहमन्त्री, मुख्य मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाएर माछा आयात रोक्न माग गर्दै आएका थिए। चितवनमा एक हजार पाँच सयको हाराहारीमा माछा पालन किसान छन्। ७ हजार हेक्टर जलाशयमा माछापालन हुँदै आएका छन्।

चितवनमा २०६८ सालदेखि व्यावसायीक रूपमा माछापालन व्यवसाय सुरु भएको हो। चितवनमा १० प्रतिशत माछापालन गर्ने किसान बढिरहेका छन्। चितवनमा कार्प जातका कमन, रघु, नैनी, विगहेड, सिल्भर र पंगासियस जातको माछा पालन गरिन्छ। चितवनमा विशेष गरे पूर्वी चितवनका राप्ती, खैरहनी, रत्ननगर र माडी क्षेत्रमा बढी माछा पालन हुने गरेको छ।

नेपालमा एक लाख हेक्टर क्षेत्रफलको जलाशयमा माछापालन हुन्छ। यहाँ दैनिक ५० देखि ६० मेट्रिक टनको हाराहारीमा माछा उत्पादन हुँदै आएको छ। यसले नेपाली बजारलाई पुग्ने नेपाल मत्स्य व्यवसायी संघको दाबी छ। यतिखेर भन्सार छलेर भारतीय माछा आउँदा भारतीय माछासँग प्रतिस्पर्धा गर्न नसकिएको संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारी बताउँछन्।

प्रकाशित: ७ कार्तिक २०७९ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App