१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बैंकले कमाए, अरुले गुमाए: उद्योग बाणिज्य संघ

बैंकले मनोमानी ब्याजदर बढाउने, सेवा शुल्कको नाममा धेरै पैसा असुल्ने गरेको भन्दै उद्योग बाणिज्य संघ गोरखाले अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल मार्फत आइतबार ज्ञापन पत्र बुझाउँदै संघले महिनै पिच्छे ब्याज बढाउने, तारन्तार दबाव दिने गरेको भन्दै तत्काल बैंकको अस्वभाविक ब्याज वृद्धि रोक्न माग गरेको छ। बैंकले निजी क्षेत्रमा गरेको लगानीमा यस्तो समस्या आएको व्यवसायीको गुनासो छ।  

‘बैंक तथा बित्तिय संस्थाले ब्याजदरमा गरेको भारी वृद्धिप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’ उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले भने ‘यसले व्यवसायीलाई निरुत्साहित बनाएको छ।’ नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी मार्गनिर्देशन २०७९  र अहिले भइरहेको आर्थिक मन्दीले व्यवसायी समस्यामा परेको निश्कर्ष उद्योग बाणिज्य संघको छ।

संघले ज्ञापन पत्र मार्फत पाँच बुँदे माग राखेको छ। उच्च दरको ब्याज एकल अंकमा कायम गरी स्थायित्व कायम गर्नुपर्ने, कर्जाप्रवाह नवीकरणमा लाग्ने कुनैपनि सेवा शुल्क लिन नपाउने व्यवस्था हुनुपर्ने संघको माग छ। ऋण रकमको पाँच गुणा सम्म वार्षिक कारोवार देखाउनुपर्ने व्यवस्था खारेज हुनुपर्ने, निक्षेप ब्याजदर घट्दै जाँदा उद्योग व्यवसायमा लगानी भएको ब्याजदर पनि घट्नुपर्ने, कर्जाको ब्याजदर बढाउँदा ऋणि सँग सहमती हुनुपर्ने लगायत माग संघले राखेको महासचिव प्रकाशचन्द्र श्रेष्ठले बताए।  

संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले सहायक प्रजिअ बराललाई ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्र बुझ्दै सहायक प्रजिअ बरालले तत्काल संम्बन्धित मन्त्रालयमा पठाउने आश्वासन दिए। नेपाल राष्ट्र बैंक, नेपाल उद्योग बाणिज्य महासंघ टेकु र उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशलाई उक्त पत्र बोधार्थ पठाइएको छ।

प्रकाशित: ६ कार्तिक २०७९ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App