५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

पाँच वटा शर्त राखेर प्याराग्लाइडिङ उडानको प्रतिबन्ध खुलाइयो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा दुर्घटना हुँदा एकजना प्याराग्लाईडिङ खेलाडीको मृत्यु भएपछि रोकिएको देशभरको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुर्घटनापछि देशैभरको प्याराग्लाइडिङको सबैखालको उडानमा अनिश्चितकालिन रोक लगाएको थियो।  

प्राधिकरणले उडान सुचारु गर्नका लागि विभिन्न पाँचबुदे सर्त राखेकोमा प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था ती सर्त मान्न तयार भएपछि प्रतिबन्ध खुलेको संस्थाका अध्यक्ष सुनीलबहादुर भट्टराईले जानकारी दिए।  

‘प्राधिकरणले हवाई खेलकुद क्षेत्रको सुधारको लागि केही सर्त राखेको थियो। हामीले ती सबै सर्त पुरा गर्न तयार भयौं। त्यसपछि उडान फुकुवा भयो,’ उनले भने, ‘आजदेखि उड्न पाइने भएको छ।’ पर्यटकीय सिजनका बेला उडान प्रतिबन्ध लगाएकोमा पर्यटन व्यवसायीले असन्तोष जनाईरहेका थिए।  

पोखरामा नवौं राष्ट्रिय खेलकुद चलिरहँदा अघिल्लो आइतबार त्रिभुवन आर्मीमा अनुबन्धित खेलाडी निसिम थापाले प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका। सराङकोटबाट ‘टेकअफ’ गरे लगत्तै थापा भूँइमा बजारिन पुुगेका थिए। उनको उत्ति नै बेला ज्यान गएको थियो। त्यसलगत्तै प्राधिकरणले देशैभरको प्याराग्लाइडिङका सबैखाले उडानमा रोक लगाएको थियो ।  

प्राधिकरणले उडान सुचारु गर्नका लागि विभिन्न पाँचवटा शर्त राखेको छ। ती र्शतमा प्राधिकरणले व्यवसायिक रुपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडान बाहेक अन्यखालका उडान गर्न नपाइने भएको छ।  

त्यस्तै १५ दिनभित्र सबै पाइलटको स्वास्थ्य परीक्षण गरिने र स्वास्थ्य परीक्षणमा सफल भएमा मात्र उड्न दिइनेछ । व्यवसायिक उडानमा संलक्ष्न पाइलटले प्राधिकरणको स्वीकृतिमा सबै किसिमको पोशाक लगाउनुपर्नै र पोशाकमा पाइलट र कम्पनिको नाम लेखिनुपर्ने शर्त छ।  

पाइलटले उडान गर्ने ग्लाइडरको १५ दिनभित्र प्राधिकरणका प्राविधिकबाट परीक्षण गराई योग्य पाइलटलाई मात्र उडान अनुमति दिइने पनि प्राधिकरणको सर्त छ। त्यस्तै पाइलटलाई पुनर्ताजगी तालिक दिनुपर्ने र आपतकालिन अवस्थामा टेण्डम उद्धार उपयोग गर्ने प्रयोगात्मक तालिम वर्षको एकपटक दिने उल्लेख छ।

 

प्रकाशित: ६ कार्तिक २०७९ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App