१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङ उडान अनिश्चितकालीन बन्द:प्रतिबन्ध फुकुवा नगरे आन्दोलन गर्ने चेतावनी

पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ। फाइल तस्वीर: नागरिक

पोखरामा २०७७ मंसिर दोश्रो साता प्याराग्लाइडिङ दुर्घटना हुँदा ३८ वर्षका पाइलट राजु गैरे नेपालीको ज्यान गयो। राजुको भन्दा आगाडि पनि पोखराको आकाशमा बेलाबेला प्याराग्लाइडिङ दुर्घटना हुँदै आएका थिए तर ती सबै दुर्घटना सोलो (एकल) वा प्रशिक्षार्थीका थिए। राजुको भने टेण्डम (यात्रुसहित) उडानका क्रममा दुर्घटना भएको थियो। टेण्डम उडान दुर्घटनामा पाइलटले ज्यान गुमाएको त्यो पहिलो घटना थियो।

राजुको दुर्घटनापछि पोखराको आकाशमा हुने गरेको प्याराग्लाइडिङ उडानमा निकै प्रश्न उब्जिए। पाइलटले आफूसँगै उडेका यात्रुलाई खुसी पार्न, मनोरन्जन दिलाउन र साहसिक अनुभव दिन उड्दाउड्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने गरेको भन्दै आलोचना पनि भएको थियो। त्यत्ति मात्र नभई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अस्वभाविक गतिविधि गर्ने पाइलटलाई त्यत्तिबेला कारबाही समेत गरेको थियो। टेण्डम उडानको दुर्घटनापछि प्याराग्लाइडिङ उडानमा केही कडाइ समेत गर्न थालिएको थियो।

आइतबार पनि प्याराग्लाइडिङ उडानमा थप अर्काे मानवीय क्षति भएको छ। पोखरामा नवौं राष्ट्रिय खेलकुद चलिरहँदा आइतबार त्रिभुवन आर्मीमा अनुबन्धित खेलाडी निसिम थापाले प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाए। सराङकोटबाट ‘टेकअफ’ गरे लगत्तै थापा भुँइमा बजारिन पुुगेका थिए। उनको उत्ति नै बेला ज्यान गएको थियो।

थापाको ज्यान गएपछि नेपालको हवाई क्षेत्रको नियमनकारी निकाय क्यानले तत्कालै अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। साहसिक हवाई खेलकुद प्याराग्लाइडिङ प्राधिकरणकै नियमनभित्र पर्छ। प्राधिकरणले अर्काे व्यवस्था नहुँन्जेलसम्म नेपालभर सबैखाले प्यराग्लाइडिङ उडानमा रोक लगाएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरोलाले आइतबारको दुर्घटनाको कारण, विद्यमान ऐन कानुनबारे अध्ययन गर्न अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि रोक लगाएको बताए। ‘अहिलेका लागि प्याराग्लाइडिङका सबै खाले उडानमा रोक लगाएका हौं। अहिलेको घटनाको अध्ययनपछि बल्ल कसरी उडान सञ्चालन गर्ने भन्ने निर्णय हुनेछ,’ उनले भने।

प्राधिकरणले सबैखाले उडानमा एकाएक प्रतिबन्ध लगाउनुलाई पर्यटन व्यवसायी भने हतारको निर्णय मान्छन्। प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए)का निवर्तमान अध्यक्ष कृष्ण भण्डारी व्यवसाय र खेल फरक पाटो हुँदाहुँदै पर्यटकीय यामको बेला व्यवसायीलाई अप्ठेरो पार्ने गरी प्राधिकरणले प्रतिबन्ध लगाएको बताउँछन्।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङलाई नियमन गर्छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुदको नियमन गर्ने हो। खेलकुदका क्रममा दुर्घटना हुँदा देशभर व्यवसाय बन्द गराउनु कच्चा निर्णय हो,’ उनले भने, ‘दुर्घटना र मानवीय क्षतिप्रति हामी दुखी छौं तर खेलकुदमा भएको घटनाले व्यवसाय नै बन्द गराउनु उपयुक्त होइन।’ भण्डारीका विचारमा प्याराग्लाइडिङभित्र खेल र व्यवसाय दुवै हुने भएकाले खेलमा दुर्घटना हुँदा त्यसलाई सुरक्षित गर्नेतर्फ राखेपले ध्यान दिनुपर्नेमा प्राधिकरणले व्यवसायलाई हस्तक्षेप गर्नु आवश्यक होइन। ‘थप अनुसन्धान गर्न केहीदिन कुनै ठाउँमा रोक्नु फरक कुरा हो तर यहाँ देशैभर उडान रोकिएको छ, यो राम्रो होइन,’उनले भने।

खेलकुदको क्षेत्रमा राज्यले धेरै लगानी गरे पनि प्याराग्लाइडिङलाई खेल मान्दा यो क्षेत्रमा राज्यको लगानी शून्य रहेको उनले बताए। व्यवसायीले पैसा तिरेर व्यवसायका लागि बनाएको टेकअफ र ल्याण्डिङ स्पट खेलकुद क्षेत्रको प्रयोगका लागि दिएर सघाएको उनले बताए। ‘अन्य खेलका लागि राज्यले ठूलो लगानी गरेको छ तर प्याराग्लाइडिङलाई खेल मान्ने राज्यले पूर्वाधार बनाउन सघाएको छैन तर अहिले व्यवसाय नै बन्द गराइएको छ,’ उनले भने, ‘खेल क्षेत्रमा दुर्घटना हुनासाथ व्यवसाय बन्द गराउने हतारको निर्णय भएको हो।’

उनले कसैको लहडमा व्यवसायलाई मार पार्ने गरी घात गर्न नहुने बताए। अहिले पर्यटकीय याम पनि हो। यो बेला पोखराको आकाशमा दिनमा झन्डै ४ सय उडान भइरहेका थिए। अढाइ वर्ष कोभिडको मारमा परेको पर्यटन व्यवसाय यो बेला आफ्नै बलबुताले अघि बढ्न खोजिरहेका बेला मारमा परेको उनले बताए। ‘कारण नै नखुलाई र औचित्य बिना बन्द गराइएको छ। जब कि नियमन गर्ने, पाईलटका गतिविधि अनुमगन गर्ने, दण्ड, जरिवाना, उपकरण परीक्षण गर्ने अधिकार नेपाल हवाई खेलकुद संस्थालाई प्राधिकरणले नै दिएको छ,’ उनले भने, ‘आवश्यक परेको भए हामीले नै कदम चाल्थ्यौं तर खेल खेल्ने क्रममा दुर्घटना हुँदा त्यसको मार हामीमाथि थोपरियो।’

उनका अनुसार व्यावसायिक उडानमा प्रयोग गरिने र खेलकुदका उपकरण फरक हुन्छन्। खेलकुदमा फरक विधि र उपकरण उपयोग गरिन्छ तर यहाँ खेलकुदको अप्ठेरोलाई व्यवसायसँग जोडेर प्रतिबन्ध लगाउने निर्णय गरिएको उनले बताए। ‘व्यवसायमाथि अघात परेको छ। पोखराको प्याराग्लाइडिङप्रति प्राधिकरण उदार हुन नसकेको हो कि भन्ने हाम्रो बुझाइ छ,’उनले भने।

आइतबारको दुर्घटनापछि पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडानलाई अन्यत्र सार्न बल पुुग्ने गरी प्राधिकरणले अनिश्चितकालीन प्रतिबन्ध लगाउने निर्णय गरेको व्यसायीको भनाइ छ। व्यवसायीले अहिलेको प्रतिबन्ध केही दिनभित्र फुकुवा नगरे व्यवसायी प्राधिकरण विरुद्ध आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन्।

नेपाल ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएनका महासचिव शैलेन्द्र रावतले यो प्रतिबन्धलाई जतिसक्दो छिटो फुकुवा नगरे प्राधिकरण विरुद्ध आन्दोलन गर्ने बताए। ‘क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई देखाएर प्याराग्लाइडिङलाई सधैंका लागि विस्थापित गर्ने प्रयास भइरहेकोमा आइतबारको घटनाले थप बल पुर्‍याएको छ,’ रावतले भने, ‘प्याराग्लाइडिङलाई व्यवसाय र खेल फरक विधा हुन् भनेर नबुझ्दा यो समस्या भएको हो।’

पर्यटकीय याममा दिनमा झन्डै चारसय उडान भइरहँदा र धेरै पाहुना उड्ने प्रतीक्षा गरिरहेका बेला व्यवसाय नै अनिश्चितकालका लागि बन्द गराउनु सुखद नभएको उनले बताए। ‘अहिले दिनमा झन्डै चार सय जना यात्रु प्याराग्लाइडिङ उडान भरिरहेका छन्।

कोभिडले थलिएको पर्यटन क्षेत्रमा अहिले पाहुनाको चापले केही राहत दिएको बेला जर्बजस्ती बन्द गराउने निहुँ दुर्घटनालाई बनाइएको हो,’ उनले भने, ‘कात्तिक ३ गतेभन्दा अगावै प्रतिबन्ध फुकुवा नभए व्यवसायी आन्दोलन गर्न बाध्य हुनेछन्।’  

प्रकाशित: ३ कार्तिक २०७९ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App