१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु

भैरहवा–सरकारले निर्यातमा अनुदान दिने भएपछि अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात सुरू भएको छ। सोमबार ७० टन सिमेन्ट भारततर्फ निर्यात भएको कम्पनीले जनाएको छ। सिमेन्ट भारतको आनन्दनगर र नौतनवामा पठाइएको छ।

सरकारी नीतिले भारततर्फ निर्यात गर्न सजिलो भएको अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले बताए। ‘अब निरन्तर निर्यात गर्छौं,’ मुरारकाले भने, ‘निर्यातमा अनुदान दिने सरकारी सहयोग स्वागतयोग्य छ।’

भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट इण्डष्ट्रिजको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क दिएपछि सिमेन्ट निर्यात गर्न शुरू भएको हो। कम्पनीले ओपीसी, पीपीसी र क्लिङ्कर निर्यातका लागि आईएसआई मार्क पाएको अर्घाखाँची सिमेन्टले जनाएको छ।

नौतनवामा रहेको शिभान्सी एसोसियटलाई डिलर नियुक्त गरेर निर्यात शुरू गरेको जनाएको छ। भारतमा आईएसआई मार्क नलागेका सिमेन्ट निर्यात गर्न नपाइने कानुनी व्यवस्था छ। आईएसआई मार्क पाएपछि सिमेन्ट निर्यात गर्न सुरूवात गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए। ‘सरकारले ८ प्रतिशत अनुदान दिने कार्यक्रमले यो सम्भव भएको हो,’ उनले भने, ‘व्यापार घाटा कम गर्न सहयोग पुग्छ।’ अर्घाखाँची सिमेन्ट गुणस्तरीय भएकाले भारतमा बजार लिने उद्योगीको विश्वास छ। अर्घाखाँचीको दैनिक ४ हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ।

प्रकाशित: १ कार्तिक २०७९ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App