८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

व्याजदर वृद्धिले मर्कामा

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्याजदर बृद्धिले उद्योगी, व्यवसायी मर्कामा परेको बताएका छन्।

बैंक वित्तीय संस्थाले लिने स्पे्रड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको उनले बताए।

उद्योग व्यापार संगठन रूपन्देहीको वार्षिक सभामा अध्यक्ष मल्लले आकासिएको व्याजदर नियन्त्रण नहुँदा सम्पूर्ण उद्योगी व्यवसायी मर्कामा पर्नुका साथै महँगीले जनतामा समेत असर गरेको बताए।

कोभिड १९ महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया युक्रेन युद्धले थप प्रभावित बनाएको अध्यक्ष मल्लले बताए।

‘मुलुकको अर्थतन्त्रमा चौतर्फी दबाब परिरहेका बेला पछिल्लो समय भएको व्याजदर वृद्धिले व्यवसायीलाई निकै आहात बनाएको छ’, उनले भने।

हाल विद्यमान स्प्रेड दरलाई ४ दशमलव ४ प्रतिशतबाट १ प्रतिशत बिन्दुले घटाउने एवं बैंकहरूको आधार दरलाई यथाशक्य न्यूनतम विन्दु कायम गरी कर्जाको आधार दरको अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गर्ने व्यवस्था भए व्याजदर घट्ने अध्यक्ष मल्लको भनाइ छ।

स्थानीय प्रदेश तथा संघीय सरकार अन्तर्गतका निकायको खातामा रहेको पुँजीगत खर्च हुन नसके रकमको ९० देखि ९५ प्रतिशत रकम वाणिज्य बैंकमार्फत कर्जा प्रवाह गर्ने व्यवस्था भए यसले तरलतामा वृद्धि हुने अध्यक्ष मल्लले सुझाव दिए।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भए पनि बढ्दो व्याजदरका कारण अर्थतन्त्र नै धरासायी हुने अवस्था सिर्जना भएको अध्यक्ष मल्ललको भनाइ छ।

अध्यक्ष मल्लले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लगायत तेस्रो मुलुकमा नियमित हवाई उडान गर्नका लागि उचित पहल गरिनुपर्नेमा जोड दिए।

लुम्बिनीको पर्यटन प्रवर्द्धन एवं कृषिको आधुनिकीकरण र यान्त्रीकरण मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुट्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ। नेपाली औद्योगिक हव भैरहवा सेजभित्र उद्योगहरूको सहज तरिकाले स्थापना र सञ्चालन गरिनुपर्ने अध्यक्ष मल्लले बताए।

प्रकाशित: ३१ आश्विन २०७९ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App